
काठमाडौँ- पक्षलाई पितृपक्ष मानिए पनि यहाँ देव ऋषिलाई तर्पण गरी पितृपक्ष सुरु गर्न लागिएको हो।
‘मैथिल परम्परामा भाद्र शुक्ल चतुर्दशीकै दिन हातगोडाका नङ र कपाल काट्ने विधि (नौकेश) देवर्षिलाई पहिलो आमन्त्रणा गरी भाद्र पूर्णिमाकै दिन तर्पण दिइन्छ’, महोत्तरीको बर्दिबास २ का पण्डित महेशकुमार झा भन्छन्, यससँगै पितृपक्ष सुरु भएको मानिन्छ।’ उनका अनुसार यसपछि असोज कृष्णपक्ष पक्षभर पितृलाई तर्पण गरिनेछ।
पितृपक्षमा दुई प्रकारका श्राद्ध विधान छ। पितृपक्षबाहेकका तिथिमा दिवंगत भई पहिलो वार्षिकी गरिएका पितृको सम्झनामा यो पक्षमा ‘पार्वण’ श्राद्ध गरिन्छ । यस्तो श्राद्धमा आफ्ना घरका तीन पुस्ता, मावली तीन पुस्ता, अन्य परिवारभित्रका आफन्त र गायत्री गुरुलाई समेत पिण्ड दिइने परम्परा छ। यसलाई महालय श्राद्ध पनि भनिन्छ।
त्यसैगरी पितृपक्षभित्रै दिवंगत भएका पितृको भने सोही तिथिमा गरिने श्राद्धलाई ‘एकपार्वण’ भनिन्छ। एकपार्वणमा एकोदिष्ट (दिवंगत तिथिमा सम्बन्धित पितृलाई पिण्ड दिइने) श्राद्ध र पार्वण विधिसमेत गाभिने हुँदा यसलाई ‘एकपार्वण’ भनिएको पण्डित झाको भनाइ छ।
मिथिलामा सामान्यतया पितृपक्षको तर्पण र श्राद्ध तीर्थमा गरिने चलन छ। टाढा तीर्थस्थल जान नसक्नेहरू बस्ती नजिकको पवित्र जलाशयमा गई पितृ तर्पण गर्छन्। मिथिलामा पितृपक्षका सबै दिन तर्पण दिने चलन छ।
यो परम्पराका कारण आइतबार महोत्तरीका धार्मिक महत्त्वका नदी र तलाउ तटमा पहिलो दिनको देवर्षि तर्पण दिनेहरू भरिभराउ छन्। जलेश्वरस्थित भृगु ऋषिको आश्रम नजिकको भार्गवसर, जलेश्वरनाथ महादेव मन्दिर परिसरका वरुण र पुरन्दर सर, मटिहानीस्थित लक्ष्मीसागरसहितका पवित्र तलाउ, रातु, मरहा, बाँके र कुटमेश्वरीसहितका नदी तटमा सामूहिक तर्पण दिनेको घुइँचो लागेको हो। यी धार्मिकस्थलमा एक पुरोहितले नै सामूहिक संकल्प पढेर तर्पण गराउँछन्।
यो पक्षमा पितृस्वर्गबाट पृथ्वीमा ओर्लिने विश्वास गरिन्छ। पृथ्वीमा ओर्लेका पितृले सन्तानले दिएको तर्पण र पिण्ड सोझै ग्रहण गर्ने विश्वासले यस अवधिमा तर्पण र श्राद्ध गरी पिण्ड दिने परम्परा चलेको राजकीय संस्कृत माध्यमिक विद्यालय मटिहानीका कर्मकाण्ड विषयका शिक्षक शोभाकान्त झा बताउँछन्।