
काठमाडौँ- नेकपा एमालेको दोस्रो विधान महाधिवेशनमा प्रस्तुत दस्तावेजमाथिको समूहगत छलफलको प्रतिवेदन आज आइतबार पेस गरिँदैछ।
शनिबार अध्यक्ष ओलीको निर्देशन अनुसार विभिन्न १० वटा समूह बनाएर समूहगत छलफल भएको थियो। ती समूहले शनिबार नै आआफ्नो छलफल सकेपनि त्यसको प्रतिवेदन समूह नेताले आज प्रस्तुत गर्न लागेका हुन्।
समूह छलफलका लागि पार्टीले प्रदेश, उपत्यका विशेष संरचना र केन्द्रीय निकायलाई आधार मान्दै १० वटा समूह तोकेको थियो।
समूहगत छलफलको प्रतिवेदन आइतबार बिहान ८ बजे महाधिवेशन हलमा प्रस्तुत गरिने एमाले स्थायी कमिटी सदस्य शेरबहादुर तामाङले जानकारी दिए। त्यसपछि प्रतिवेदन प्रस्तोताहरूले स्पष्टीकरण दिने र महाधिवेशनले अन्तिम निर्णय गर्ने कार्यसूची तय गरिएको छ। विधान महाधिवेशन आजै समापन गर्ने तयारी छ।
शनिबार अध्यक्ष केपी शर्मा ओलीले पेस गरेको राजनीतिक प्रतिवेदन, उपाध्यक्ष विष्णुप्रसाद पौडेलको विधान संशोधन प्रस्ताव र महासचिव शंकर पोखरेलको संगठनात्मक प्रतिवेदनमाथि छलफल भएको थियो।
निर्वाचन आयोग संयोजक डा विजय सुब्बा, लेखा आयोग संयोजक डा पुष्प कँडेल, अनुशासन आयोग संयोजक केशव बडाल र सल्लाहकार परिषद्का संयोजक अमृत बोहोराले आआफ्ना प्रतिवेदन महाधिवेशनमा पेस गरेका थिए।
छलफलका क्रममा अधिकांश प्रतिनिधिहरूले पार्टी नेतृत्वबाट आएका प्रतिवेदनहरू समयानुकूल रहेको चर्चा गरेका थिए। पार्टी नेतृत्वले राजनीतिक, सांगठनिक र विधान संशोधनका साथै विभिन्न आयोगका प्रतिवेदनलाई गहिरो बहसको विषय बनाउँदै त्यसलाई महाधिवेशनको औपचारिक निर्णयमा परिणत गर्ने प्रक्रिया अन्तर्गत समूहगत छलफल गराएको हो ।