
काठमाडौँ- काठमाडौँमा आइतबार (आज) बिहानै वर्षा सुरु भएको छ। आज (आइतबार) दिउँसो र राति देशका विभिन्न स्थानमा पानी पर्ने तथा केही ठाउँमा ठूलो वर्षाको पनि सम्भावना देखिएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
महाशाखाले आज बिहान ६ बजे जारी गरेको २४ घण्टे बुलेटिनअनुसार आज दिउँसो देशका पहाड भेगमा साधारणतया बदली (आकाशमा बाक्लो बादल) र बाँकी स्थानमा आंशिक बदली आकाशमा (पातलो बादल) रहनेछ।
देशका पहाड भूभागका केही स्थान र बाँकी भूभागका थोरै स्थानमा मध्यम वर्षाको सम्भावना छ। कोशी प्रदेश र कर्णाली प्रदेशको पहाड भूभागका एकदुई स्थानमा भारी वर्षाको पनि सम्भावना छ।
आज राति कोशी प्रदेश र मधेश प्रदेशलगायत देशका पहाड क्षेत्रमा साधारणतया बदली र बाँकी ठाउँमा आंशिक बदली रहनेछ।
कोशी प्रदेशलगायत बागमती प्रदेश र गण्डकी प्रदेशका पहाड भूभागका केही स्थान र बाँकी पहाड र तराई भूभागका थोरै स्थानमा मध्यम वर्षाको सम्भावना छ। कोशी प्रदेशको तराईका एकदुई स्थानमा भारी वर्षाको पनि सम्भावना छ।