ट्रम्प र मोदीले गरे एक अर्काको प्रशंसा : के अमेरिका नरम हुन लागेको हो?

हिमाल प्रेस २१ भदौ २०८२ १५:००
12
SHARES
ट्रम्प र मोदीले गरे एक अर्काको प्रशंसा : के अमेरिका नरम हुन लागेको हो? फाइल तस्बिर

काठमाडौँ- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई ‘राम्रो मित्र’ भन्दै प्रशंसा गरेका छन्। भारत चीनको हातमा गुमेको बताएको केही घन्टा नबित्दै ट्रम्पले भारतीय प्रधानमन्त्री मोदीको प्रशंसा गरेका हुन्।

जवाफमा मोदीले पनि अमेरिकी राष्ट्रपति ट्रम्पको प्रशंसा गरेका छन्। उनले ट्रम्पको भावनाको हृदयदेखि प्रशंसा गर्दै पूर्ण समर्थन रहेको बताएका हुन्। यी दुवै नेताका अभिव्यक्तिबारे परराष्ट्रमन्त्री एस जयशंकरले प्रधानमन्त्री मोदीले अमेरिकासँगको साझेदारीलाई अत्यन्तै महत्व दिने गरेको बताएका छन्।

एकातिर ट्रम्प प्रधानमन्त्री मोदीलाई साथी भन्दै व्यक्तिगत सम्बन्धको हवाला दिइरहेका छन् भने अर्कोतर्फ उनका सहयोगीहरू लगातार भारतमाथि आक्रामक भइरहेका छन्। यसैबी प्रश्न उठेको छ– के अमेरिका नरम हुँदैछ?
अमेरिकी राष्ट्रपति टम्पको मित्रतासम्बन्धी अभिव्यक्ति त्यस्तो बेला आएको हो जब भारतले ५० प्रतिशत ट्यारिफको सामना गरिरहेको छ।

उनले मोदीलाई ‘ग्रेट प्राइम मिनिस्टर’ भनेका छन्, तर रुसबाट कच्चा तेल खरिद गरेकोमा निराशा पनि व्यक्त गरेका छन्।

ट्रम्पले भनेका छन्,‘म सधैँ मोदीको साथी रहनेछु। उहाँ एक महान प्रधानमन्त्री हुनुहुन्छ। तर भारतले रुसी तेल खरिद गरिरहेकोमा मलाई निराशा लागेको छ। मैले यसबारे ५० प्रतिशत ट्यारिफ लगाएर बुझाइदिएको छ।’
सामरिक मामिलाका विश्लेषक ब्रह्मा चेलानी एउटै समयमा दुई विरोधाभासी अभिव्यक्ति दिनु ट्रम्पको विदेश नीतिको शैली रहेको बताउँछन्।

चेलानीले एक्समा लेखेका छन्,‘ट्रम्पको अचानक बदलिने स्वाभाव–पहिले भारत ‘अँध्यारो चीन’ तर्फ गइसकेको भन्ने र फेरि अमेरिका–भारतबीच विशेष सम्बन्ध रहेको बताउने–यसले उनको लेनदेनमुखी विदेश नीति झल्काउँछ।’
यी विरोधाभासी कुरा कुनै गल्ती नभएर ट्रम्पको राजनैतिक शैली रहेको उनको भनाइ छ।

यस मामिलामा पहिले दबाब सिर्जना गर्ने उद्देश्यले डराउने खालको अभिव्यक्ति दिइएको थियो भने पछिल्लो विश्वास दिलाउने खालको अभिव्यक्ति सम्बन्ध नरम राख्ने प्रयोजनका लागि, ताकि उनी कमजोर नदेखिउन्।

भारतीय प्रधानमन्त्री मोदीले एक्समा लेखेका छन्,‘म राष्ट्रपति ट्रम्पका भावनाहरू र हाम्रो सम्बन्धबारे उहाँको सकारात्मक विचारहरूको प्रशंसा गर्दछु। भारत र अमेरिकाबीच अत्यन्तै सकारात्मक, दूरदर्शी, व्यापक र वैश्विक रणनीतिक साझेदारी छ।’

मोदीको अभिव्यक्तिपछि विदेशमन्त्री जयशंकरले पनि प्रतिक्रिया जनाएका छन्। समाचार एजेन्सीलाई दिएको प्रतिक्रियामा उनले भने,‘प्रधानमन्त्री मोदीले अमेरिकासँगको साझेदारीलाई धेरै महत्व दिनुहुन्छ। राष्ट्रपति ट्रम्पसँग उहाँको व्यक्तिगत सम्बन्ध सधैँ राम्रो रहँदै आएको छ। अमेरिकासँग हाम्रो वार्ता अहिले पनि जारी छ। यसबाहेक अहिले म अरु केही भन्न सक्दिनँ।’

ट्रम्पलाई सकारात्मक जवाफ दिने मोदीको निर्णयलाई कूटनीति मामिलका जानकारहरूले सही कदम भनेका छन्। (बीबीसीको सहयोगमा)


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × five =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast