
काठमाडौँ- नेकपा एमालेको जारी विधान महाधिवेशनको दोस्रो दिनको कार्यक्रम सुरु भएको छ। केहीबेरअघि ललितपुरको गोदावरीमा कार्यक्रम सुरु भएको हो। महाधिवेशनमा आज थप तीन प्रतिवेदन पेस हुने भएका छन् । निर्वाचन आयोग, लेखा र अनुशासनको आयोगका प्रतिवेदन आज पेस हुने बताइएको छ।
स्थायी कमिटी सदस्य कर्णबहादुर थापाको फरक मत भने पहिलो दिन नै पेस हुने कार्यसूची भए पनि पेस हुन सकेन । पहिलो दिन उद्घाटनसँगै चार वटा प्रतिवेदन मात्र पेस भएका थिए।
जसमा अध्यक्ष केपी शर्मा ओलीको राजनीतिक, उपाध्यक्ष विष्णु पौडेलको विधान संशोधन, महासचिव शंकर पोखरेलको सांगठानिक र सल्लाहकार परिषद्का अध्यक्ष अमृतकुमार बोहराको प्रतिवदन पेस भएका हुन्। आज समूहगत छलफल पनि चल्नेछ।
प्रकाशित: २१ भदौ २०८२ ९:३३
प्रतिक्रिया