गण्डकी प्रदेशमा एक वर्षमा भयो २४५ किलोमिटर सडक कालोपत्रे र ढलान

हिमाल प्रेस २१ भदौ २०८२ ८:४२
10
SHARES
गण्डकी प्रदेशमा एक वर्षमा भयो २४५ किलोमिटर सडक कालोपत्रे र ढलान

म्याग्दी- गण्डकी प्रदेशमा आर्थिक वर्ष २०८१/८२ मा २४५ किलोमिटर सडक कालोपत्रे र ढलान भएको छ ।

आर्थिक वर्ष २०८१/८२ को सहित विसं २०७४ मा प्रदेश सरकार स्थापना भएयता एक हजार १४६ दशमलव ८८ किलोमिटर सडक कालोपत्रे र ढलान भएको भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालयले जनाएको छ।

मन्त्रालयका सिनियर डिभिजनल इञ्जिनियर डा महेन्द्र बानियाले प्रदेश सरकारले गत वर्ष सम्पन्न भएका ११ वटा सहित ११२ वटा सडक पुल निर्माण गरेको जानकारी दिए । उनका अनुसार गत वर्षको ६६ दशमलव ७३ किलोमिटर सहित हालसम्म ७६२ दशमलव ७३ किलोमिटर सडक ग्राभेल भएको छ ।

गत वर्षको पाँच वटासहित ८७ वटा झोलुंगे पुल र ३९ वटासहित ६७ वटा भवन निर्माण तथा मर्मत भएको बानियाले बताए। गत आर्थिक वर्षमा १२ अर्ब ७१ करोड आठ लाख ६९ हजार बजेट विनियोजन गरेको मन्त्रालयले ७६ दशमलव ५२ प्रतिशत अथवा नौ अर्ब ७२ करोड ६७ लाख ३७ हजार खर्च गरेको छ।

भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्री प्रकाशबहादुर केसीले मन्त्रालयले पछिल्लो पाँच वर्षयताकै धेरै बजेट खर्च गरेको बताए। यस वर्ष पुराना योजनालाई पूर्णता दिन बहु वर्षीय योजनालाई प्राथमिकता दिएर बजेट विनियोजन गरेको उनले बताए।

मन्त्रालयले गत वर्ष चार अर्ब २७ करोड ६५ लाख ५६ हजार लागत अनुमान गरिएको ४७ सडक, १३ सडक पुल, १३ झोलुंगे पुल र एक वटा भवन निर्माणका लागि गत वर्ष बहु वर्षीय ठेक्का लगाएको छ । आर्थिक वर्ष २०८१/०८२ मा ६३ वटा बहु वर्षीय योजना सम्पन्न भएका छन्।

हाल २७१ बहु वर्षीय योजना निर्माणाधीन छन् । निर्माणाधीन मध्य १८६ प्रदेश सडक, चार सङ्घीय सडक, डिजाइन एण्ड बिल्ड माध्यमबाट निर्माण गर्ने गरी ठेक्का लागेका सात र तीन वटा सङ्घीयसहित ६६ वटा सडक पुल, १२ वटा झोलुंगे पुल र तीन वटा भवन छन्।

मन्त्रालयले सञ्चालन गरेका २० योजना समस्याग्रस्त छन्। बहु वर्षीय योजनामा १० अर्ब १५ करोड ८१ लख ७४ हजार दायित्व रहेकोमा आर्थिक वर्ष २०८२/०८३ मा चार अर्ब ७७ करोड ८३ लाख ३४ हजार विनियोजन भएको छ ।

सालबसाली योजनाको ठेक्का लगाउँदा बचत भएको रकम बहु वर्षीय योजनामा आन्तरिक रकमान्तर गरेर आर्थिक स्रोतको व्यवस्थापन गरिएको मन्त्रालयका सचिव कमलबहादुर अधिकारीले बताए।

गत वर्ष सालबसाली योजनाको ठेक्काबाट बचेको एक अर्ब ९४ करोड एक लाख ३१ हजार बहु वर्षीय योजनामा रकमान्तर गरिएको थियो।

प्रकाशित: २१ भदौ २०८२ ८:४२

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × four =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast