
पोखरा- पोखरामा शुक्रबारदेखि सुरु वात्सल्या एभरेष्ट महिला भलिबल लिगको दोस्रो संस्करणमा साबिक विजेता कर्णाली यशविसले विजयी सुरुआत गरेको छ। इन्फिनिटी ड्रिम्स आयोजनामा पोखरा रंगशालास्थित बहुउद्देश्यीय कभर्ड हलमा उद्घाटन खेलमा कर्णालीले पोखरा निन्जाजलाई सोझो सेटमा पराजित गर्न सफल भएको हो। यस्तै, दोस्रो खेलमा ललितपुर क्विन्स विजयी भयो।
मार्की प्लेयर सुमित्रा रेग्मीको कप्तानीमा कोर्ट उत्रिएको कर्णालीले प्रगति नाथ कप्तानीको पोखरा निन्जानलाई २५–२१, २५–२० र २५–१४ को सोझो सेटमै हराउन सफल भएको हो।
जितपछि प्रशिक्षक कुमार राईले आफूहरू यसपालि पनि उपाधि जित्ने लक्ष्यसहित पोखरा आएको सुनाए। रोचक के रह्यो भने न्यू डायमण्ड स्पोर्टस् एकेडेमीबाट खेलिरहेका सुमित्रा र प्रगति यसपालि पक्ष-विपक्षी बनी आमनेसामने भएका हुन्। डायमण्डकै प्लेयर लुम्बिनी लाभासबाट पनि खेल्दैछन्। लुम्बिनीको कप्तानमा नेपाली राष्ट्रिय भलिबल टिम कप्तानसमेत रहेकी अरुणा शाही छन्। उनी गण्डकी प्रदेशअन्तर्गत म्याग्दी जिल्लाकी हुन्।
शुक्रबारकै दोस्रो खेलमा ललितपुर क्विन्सले मधेश युनाइटेडलाई ३–० को सोझो सेटमै पराजित गर्न सफल भएको हो। सलिना श्रेष्ठ कप्तानीको ललितपुरले २५–१७, २५–१३ र २५–१९ सेटमा जित हात पारेको हो।
शनिबार ३ खेल हुने आयोजकले जनाएको छ। पहिलो खेलमा ललितपुर क्विन्स र काठमाडौं स्पाइकर्स, दोस्रो खेलमा कर्णाली यशविस र लुम्बिनी लाभास तथा तेस्रो खेलमा पोखरा निन्जाज र मधेश युनाइेटेडबीच प्रतिस्पर्धा हुनेछ।
यही २८ भदौसम्म सञ्चालन लिगमा ६ टिमले भाग लिएका छन्। नेपाली महिला भलिबलको पहिलो फ्रेन्चाइज लिगको पहिलो संस्करण गत वर्ष काठमाडौंमा भएको थियो।
प्रतियोगिताको प्रचारस्वरुप बिहीबार पोखरामा पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्य र महानायक राजेश हमाल टिमबीच मैत्रीपूर्ण भलिबल प्रतियोगिता भएको थियो। प्रतियोगिता मेयरको टिमले २–१ सेटले खेल जितेको थियो।
साविक विजेता कर्णाली यशविससहित ललितपुर क्विन्स, मधेश युनाइटेड, काठमाडौं स्पाइकर्स, लुम्बिनी लाभाज र पोखरा निन्जाजले लिगमा भाग लिएका हुन्। पहिलो संस्करणमा भाग लिएको गण्डकी थण्डर्सको स्थानमा अहिले पोखरा निन्जाज छ। चितवन शक्तिको स्थानमा लुम्बिनी लाभाज नयाँ टिम रहेको छ।
मार्की उषा भण्डारीले काठमाडौं स्पाइकर्स, सलिना श्रेष्ठले ललितपुर क्विन्स, अरुणा शाहीले लुम्बिनी लाभाज, ललिता नाथले पोखरा निन्जाज, सुमित्रा रेग्मीले कर्णाली यशविस र निरुता ठगुन्नाले मधेश युनाइटेडको प्रतिनिधित्व गरेका छन्। ३ जनासम्म विदेशी खेलाडी राख्न पाइने भएपछि प्रत्येक टिमले अमेरिका, ब्राजिल, ग्रिस, थाइल्याण्ड, रोमानिया, नेदरल्याण्ड, बुल्गेरिया, कीर्गिस्तान, कोस्टारिकाका खेलाडी भित्राएका छन्।