
काठमाडौँ- संसदीय सुनुवाइ समितिको सभापतिमा रामहरि खतिवडा निर्विरोध निर्वाचित भएका छन्।
सिंहदरबारमा शुक्रबार बसेको समिति बैठकले खतिवडालाई सभापति पदमा निर्विरोध निर्वाचित गरेको हो। यसअघिका सभापति ईश्वरीदेवी न्यौपानेले राजीनामा दिएपछि रिक्त सभापति पदमा खतिवडाको मात्र उम्मेदवारी परेको थियो।
बैठकमा समिति सदस्य कांग्रेस प्रमुख सचेतक श्यामकुमार घिमिरेले राखेको खतिवडालाई सभापति निर्वाचित गरियोस् भन्ने प्रस्तावलाई एमाले प्रमुख सचेतक महेशकुमार बर्तौलाले समर्थन जनाएका थिए।
समितिका ज्येष्ठ सदस्य पशुपति शम्शेर जबराले समितिको सभापति पदमा खतिवडाको मात्रै उम्मेद्वारी परेकाले निर्विरोध निर्वाचित भएको घोषणा गरे।
यसअघि राज्यव्यवस्था तथा सुशासन समिति सभापति बन्नकालागि ईश्वरीदेवी न्यौपानेले सुनुवाई समितिको सभापतिबाट राजीनामा दिएकी थिइन्।
त्यस्तै निजामती विधेयकमा भएको कुलिङ पिरियड छेडखानीमा नैतिक जिम्मेवार ठहराएपछि खतिवडाले राज्य व्यवस्था समितिबाट राजीनामा दिएका थिए।