
काठमाडौँ- थाइल्यान्डका चर्चित व्यापारी अनुतीन चारनवीराकुल मुलुकका नयाँ प्रधानमन्त्री बनेका छन्। शुक्रबार संसदीय मतदान जितेर उनी प्रधानमन्त्री नियुक्त भएका हुन्। समाचार संस्था एएफपीका अनुसार उनले नेसनल एसेम्बली (तल्लो सदन) मा ४९२ मध्ये २४७ भन्दा बढी मत प्राप्त गरेका छन्। यो बहुमतभन्दा बढी हो।
सन् २०२३ को चुनावपछि शक्तिशाली शिनवात्रा परिवारको पार्टीले थाइल्यान्डको शीर्ष पदमा एकाधिकार जमाइरहेको थियो। तर, गत साताको अदालती फैसलापछि वंशको उत्तराधिकारी पायेतोङतर्न शिनावात्रालाई पदबाट हताइएको थियो।
प्रधानमन्त्रीको पद रिक्त भएपछि अनुतीनले विपक्षी दलहरूको गुटलाई मिलाएर गठबन्धन बनाउने तयारी सुरू गरेका थिए र अन्ततः जित हासिल गरेका हुन्।
अनुतीन भूमजैथाई पार्टीका नेता हुन्। उनले यसअघि उपप्रधानमन्त्री, आन्तरिकमन्त्री र स्वास्थ्यमन्त्रीका रूपमा काम गरिसकेका छन्। उनी विशेषगरी सन् २०२२ मा गाँजालाई वैधानिक बनाउने वाचा पूरा गरेको कारण चर्चित छन्।
उनलाई संसदमा सबैभन्दा ठूलो गुट पिपल्स पार्टीको महत्वपूर्ण समर्थन प्राप्त भएको हो। तर, यो समर्थन चार महिनाभित्र संसद विघटन गरी नयाँ चुनाव गराउने सर्तमा प्राप्त भएको बताइएको छ।