सिंगापुरको ‘सुपर ट्री’मा संगीतको तालमा बिजुलीको उधुम

ईश्वर पोखरेल २१ भदौ २०८२ ११:२२
6
SHARES
सिंगापुरको ‘सुपर ट्री’मा संगीतको तालमा बिजुलीको उधुम

अब साँझ पर्न लागेको छ र हामी सिंगापुरकै ‘गार्डेन बाई द वे’मै रहेको ‘सुपर ट्री’तर्फ अभिमुख हुँदै छौँ। म २८ असोज, २०८० तदनुसार १५ अक्टोबर, २०२३ को कुरा गर्दै छु। हामी (परिवारका चारैजना) हिजो आइपुगेका हौँ- सिंगापुर। हामीले नेपालमै सुनेका थियौँ- सिंगापुरमा चुइगम खान निषेध छ- शौचालय र अन्यत्र पनि सरसफाइमा उदासीन व्यक्ति सिंगापुरमा दण्डित हुन्छ भन्ने जस्ता कुरा। यहाँ टेकेपछि थाहा भयो- सिंगापुर साँच्चै उदेकलाग्दो स्तरमा सफा रहेछ। सडकमा हिलो धुलो छैन। सडकका कुनामा कसैले केही मिल्काएको छैन। सडकमा पत्कर र कागजका टुक्राधरि देखिँदैन। शौचालयको पर्याप्त व्यवस्था छ र सरसफाइको खास स्तर छ। शौचालय प्रयोग गरेबापत पैसा तिर्नु पर्दैन।

आफू नाक कोट्याउँदै, अर्काले नाक कोट्ट्यएको देख्दा छिछि दूरदूर गर्दै खकारेर बीच सडकमा थुक्दै, सडकका रेलिङमा सिँगान पुछ्दै हिँड्नुलाई सामान्य मान्ने हाम्रो समाज (हाम्रो आचरण) अनि हामीलाई सिंगापुरको सरसफाइको स्तर उदेकलाग्दो नहोस् त! सिंगापुरमा नेपालमा/काठमाडौँमा देखाएजस्तै आचरण÷व्यवहार देखाए के पो हुने होला! सिंगापुरमा भुसुना, झिँगा र लामुखुट्टे पनि छैन। खुला नाली, नालीको कालो लेदो र त्यसको दुर्गन्ध सिंगापुरमा देखिँदैन-पाइँदैन।

२०४६ सालको जनआन्दोलनको सफलतापछि सिंगापुरलाई काठमाडौँको सपनाको रूपमा खुबै चर्चा गरियो। काठमाडौँ नेपालको राजधानी एवम् मध्यकालीन कला, मौलिक संस्कृति र मठमन्दिरले भरिपूर्ण एक सहर हो भने सिंगापुर आफैँमा एउटा देश हो। क्षेत्रफलका आधारमा हेर्दा सिंगापुर र काठमाडौँ उपत्यकाका बीचमा ठूलो अन्तर देखिँदैन। तर नेपालको समग्र क्षेत्रफलमा एक सानो हिस्सा ओगट्ने काठमाडौँ उपत्यकालाई झन्डै त्यत्रै आकारको सिंगो देश सिंगापुरसँग दाँज्न मिल्ने होइन।

काठमाडौँ उपत्यका निर्माणको इतिहास र सिंगापुर निर्माणको इतिहासका बीचमा कुनै कुरा पनि मिल्दैन। भौगोलिक अवस्थितिका आधारमा हेर्दा सिंगापुर टापु हो भने नेपाल भूपरिवेष्टित देश हो। नेपाल बहुजातीय, बहुभाषिक र बहुसांस्कृतिक मुलुक हो भने नेपालको दाँजोमा सिंगापुरका नागरिकमा त्यस्तो विविधता कम देखिन्छ। यसरी काठमाडौँ र सिंगापुरका बीचमा जातिगत-जनजातिगत विविधता समान स्तरको छैन। विकासका धेरै सूचकहरूमा उच्च स्तरको उपलब्धि टेकेको विकसित देश सिंगापुर र अर्कातिर विकासका धेरै सूचकहरूमा विश्वका देशको लेखाजोखामा मध्यभागतिर पर्ने अल्पविकसित देश नेपाल। हाम्रो सवालमा काठमाडौँ उपत्यका मात्र विकासको खास स्तरमा पुगेर हामी सन्तुष्ट हुँदैनौँ।

मेचीदेखि महाकालीसम्म, दसगजादेखि हिमालसम्म हामी उत्तिक्कै विकासको चाहना राख्छौँ तर सिंगापुरमा यसप्रकारको भौगोलिक विविधता र विस्तार पनि छैन। जमिनको सतहबाट एस्केलेटरमार्फत तल झरेर सुपरमार्केट र मलमा खचाखच भीडको हिस्सा बनेर किनमेल गर्नुपर्ने र चारपाँच तला तल झरेपछि मेट्रोको लाइन भेटिने सिंगापुरमा जमिनको सतहमाथि गगनचुम्बी महल देखिन्छन्। भौतिक विकासको यो ढाँचा हेर्दा सिंगापुर ऊर्ध्वतलीय फैलावटमा अग्रसर देखिन्छ। काठमाडौँमा एकादुई सुपरमार्केट र सानो संख्यामा सामूहिक बसोबासका मल र हाउजिङहरू देखिन्छन्। तर यतिकै भरमा काठमाडौँ अझै सिंगापुर जसरी ऊर्ध्वतलीय फैलावटतर्फ अभिमुख भएको मान्न सकिँदैन।

हामी नेपालमा यत्रतत्र फाइभ स्टार होटल निर्माण गरेर र यसैलाई पर्यटन व्यवसायको आधारशिला मानेर पर्यटन उद्योगको सपना देख्छौँ। ती होटलसम्म पुग्ने सडक, यातायात व्यवस्था, सुरक्षा, पर्यावरणीय स्वच्छता, स्वच्छ पानी, विद्युत् आपूर्तिको सुनिश्चितता जस्ता पर्यटकीय विकासका पूर्वाधारका बारेमा हाम्रो ध्यान गएकै छैन। सिंगापुरमा पर्यटकहरू कसरी आफ्नो सिंगापुर बसाइको अवधिलाई उत्सवमय बनाउन सक्दछन् भन्ने बारेमा र महँगो शुल्क तिरेर पनि सिंगापुर छाड्दा ‘थ्याङ्क्यु सिंगापुर’ भन्ने अनुभूति सहित गदगद् हुँदै बाहिरिन्छन् भन्ने पक्षमा केन्द्रित भएको देखिन्छ। त्यसैले सिंगापुरलाई हरेक वर्ष यहाँको समग्र जनसंख्याको तीन गुणासम्म पर्यटक भित्र्याउन सफलता मिल्ने गरेको होला।

सिंगापुरले पर्यटकको सिंगापुर बसाइ साँच्चै सुखद र रोमाञ्चकारी बन्न सकोस् भन्ठानेर धेरै भौतिक संरचनाहरूको निर्माण गरेको देखिन्छ। तीमध्ये ‘सुपर ट्री’ पनि हो।

साँझ घनीभूत हुँदै आएपछि पर्यटकहरू विविध दिशाबाट ‘गार्डेन्स बाइ द वे’स्थित ‘सुपर ट्री’तर्फ केन्द्रित हुन थाले। हामी आफैँ पनि ‘फ्लोरल गार्डेन’बाट यता आउँदै छौँ। ‘फ्लोरल गार्डेन’मा अति आकर्षक फूलहरूको रङविन्यास र फूलबारीकै बीचमा बुख्याचा आकृति, ऊँटजस्तो संरचना, पत्करै पत्करले निर्माण गरिएको घोडा जस्तो आकृति, फूलबारीका बीचमा मग्नमस्त किसिमले दौडिएझैँ देखिने जरायोहरू, रूखमा सिँगौरी खेल्न पुगेझैँ देखिने जनावर र एउटा हातमा स्याउ लिएर अनि अर्को हात हाफपैन्टको गोजीमा घुसारेर स्याउकै बारेमा समग्र ध्यान खर्चिएझैँ सोचमग्न देखिने सर आइज्याक न्युटनलाई सम्झाउने मानव आकृति यतिखेर पनि हाम्रो मनमस्तिष्कमा घुमिरहेका छन्। बीबीचमा देखिने ढुंगेधारा र हाम्रा बाइसे धाराकै झझल्को मेट्ने धारैधारा पनि हाम्रो स्मृतिमा अल्झेका छन्।

‘सुपर ट्री’ चाहिँ मानव निर्मित संरचना रहेछन्। दिउँसो घाम लागेको समयमा यी संरचनाले खासै ध्यान खिच्दैनन्। साँझ पर्न लागेपछि भने पर्यटकहरू ‘सुपर ट्री’ तर्फ तानिने रहेछन्। ‘सुपर ट्री’ हरू सोली वा माझीले माछा पार्न प्रयोग गर्ने खुँगाको आकारका छन् अथवा माथि पुगेर मात्र हाँगा छाड्ने टाँटरीको सुरिलो रूख जस्तो। यिनीहरूको उचाइ १५०-२०० फिट होला। पर्यटकहरूले यसको उच्च भागमा पुग्न लिफ्टको प्रयोग गर्नुपर्ने रहेछ। प्रत्येक सुपर ट्रीको उच्च भागमा झन्डै दुई सय जति पर्यटक सुबिस्ताका साथ रहन-बस्न पुग्ने स्पेस पनि रहेछ।

हामी एउटा सुपर ट्रीको उँचो भागमा लिफ्टबाट आएका छौँ। यी संरचनाका बीच यो उचाइमा आएको क्षण पर्यटकहरू उसैकहाँ गुमाउन चाहन्छन् र! अनेक पोजमा सिंगल फोटो र अनुकूल मिलाएर ग्रुप फोटो खिच्न तल्लीन देखिन्छन्। हामी भने थाकेजस्तै भएका छौँ- आज। त्यसैले हामी सुस्ताउने क्रममा छौँ। हामी नजिकै अर्को एउटा ग्रुप पनि छ। त्यस ग्रुपमा केटाकेटी पनि रहेछन् भन्ने कुरा हामी तिनले नेपाली बोलेको सुनेपछि थाहा पाउँछौँ। ए, हो त! यो नेपाली पर्यटककै ग्रुप रहेछ।

हिजो चांगी एयरपोर्टमा जेवेल नामको मानव निर्मित झरना हेर्दै रमाउने क्रममा हामीले केही नेपाली युवालाई भेटेका थियौँ। तिनीहरूको पहिचान पनि हामीले तिनले नेपाली बोलेको सुनेर गरेका थियौँ। त्यहाँ चारजना युवा मात्र थिए। त्यसपछि नेपालीभाषी मानिस हामीले यहीँ फेला पार्‍यौँ।

परदेशका नेपालीभाषी भेट्नु र तीसँग सामान्य वार्तालाभ पनि नहुनु हाम्रो हकमा असामान्य कुरा हो। केटाकेटी, युवायुवती र प्रौढप्रौढा गरेर १०-१२ जनाको सानो ग्रुपमा थिए- तिनीहरू। ट्राभल एजेन्टमार्फत समूहमा आएका रहेछन्। तिनीहरू थाइल्यान्डबाट आजै आइपुगेका रहेछन्- सिंगापुर। ‘हामीलाई नौ बजेसम्म आइपुग्नु भनेर स्वतन्त्र घुमफिरका लागि समय दिएको छ’ भन्दै थिए। तिनीहरूसँग केही गुनासा/पछुतोहरू पनि थिए। तर अब ती गुनासा/पछुतोहरूको कुनै उपचार हुन सक्दैनथ्यो।

‘सुपर ट्री’हरूमा संगीतको ताल पक्रेर बिजुली नाँच्दोरहेछ। र, पर्यटकहरू ‘सुपर ट्री’ वरपरको स्पेसमा उभिएर र ‘सुपर ट्री’माथि चढेर त्यस रोमाञ्चकारी दृश्यमा रमाउन पाउने रहेछन्। ‘मेरिना बे’मा संगीतको तालमा पानीको फोहोराले अनेक रूप लिए जस्तै ‘सुपर ट्री’मा रङबिरङमा बिजुलीले उत्पात मच्चाउने रहेछ। ताल पक्रेर झुन्डझुन्डमा नाँच्ने युवायुवतीले वातावरणलाई अझ रमाइलो बनाउने! रातको घनीभूत अँध्याराले संगीत र बिजुलीका बीचको यो चर्तिकलालाई उत्कर्षमा पुर्‍याइदिने रहेछ।

साँझको बेला यो संगीतमय रमझम बीच हामीले झन्डै दुई घन्टाजति उत्सवमय समय बितायौँ। अब हामी डिनरका लागि जान्छौँ। हामी हिजोको दाँजोमा आज बढी थाकेका पनि छौँ। हामीलाई हाम्रो बसोबास रहेको एएम होटलमा पुग्न पनि हतार छ।

प्रकाशित: २१ भदौ २०८२ ११:२२

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eleven − two =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast