सूचीकरणका लागि एक्स (ट्विटर) ले देखायो चासो

हिमाल प्रेस २० भदौ २०८२ १५:३५
16
SHARES
सूचीकरणका लागि एक्स (ट्विटर) ले देखायो चासो

काठमाडौँ- सामाजिक सञ्जाल एक्स (ट्विटर) ले मात्र सूचीकरणका लागि इच्छा देखाएको छ। सूचीकरणका लागि एलन मक्स संस्थापक रहेको एक्स सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको सम्पर्कमा आएको हो।

मन्त्रालयका प्रवक्ता गजेन्द्र ठाकुरले एक्सले सूचीकृत हुन आवश्यक कागजातबारे जिज्ञासा राखेको जानकारी दिए। चासो देखाए पनि सूचीकरणका लागि एक्सले प्रक्रिया भने सुरू नगरेको उनको भनाइ छ।

‘एक्सले सूचीकरणका लागि चासो देखाएको छ। उसले मेल पठाएर सूचीकरणका लागि चाहिने आवश्यक कागजातको विवरण माग गरेको छ,’ प्रवक्ता ठाकुरले भने, ‘सूचीकृत हुन आवश्यक पर्ने सबै कागजातको विवरण हामीले पठाइदिएका छौँ।’

ठाकुरले हालसम्म एक्सबाहेक अन्य कुनै पनि सामाजिक सञ्जाल प्लेटफर्म सूचीकरणका लागि चासो व्यक्त नगरेको बताए।  ‘एक्सबाहेक अहिलेसम्म अरू सामाजिक प्लेटफर्मले सूचीकरणका लागि चासो देखाएको छैन,’ उनले भने।

ठाकुरले निष्क्रिय पार्ने भनिएको हाम्रो पात्रोले भने बिहीबार नै सूचीकरणका लागि निवेदन दिइसकेको जानकारी दिए। सूचीकृत नभएका सामाजिक सञ्जाल प्लेटफर्म निष्क्रिय पार्ने निर्णय भएसँगै हाम्रो पात्रोले दर्ताका लागि निवेदन दिएको उनले बताए।

प्रवक्ता ठाकुरका अनुसार हाम्रो पात्रोलाई सूचीकृत गर्ने सन्दर्भमा टिप्पणीसमेत उठिसकेको छ।

यसअघि फेसबुक, म्यासेन्जर, व्हाट्सएप र इन्स्टाग्रामको माउ कम्पनी मेटाले सूचीकरणका लागि मेलमार्फत आवश्यक विवरण मागे पनि त्यो वास्तविक रहेको भन्न नसकिने मन्त्रालयको भनाइ छ।

मेटाले औपचारिक रूपमा सम्पर्क नगरेकोले उसको मेललाई सही मान्न सक्ने अवस्था नरहेको मन्त्रालयको भनाइ छ। सिंगापुरबाट एक जनाले आफूलाई मेटाको कर्मचारी भन्दै सञ्चारमन्त्री पृथ्वीसुब्बा गुरुङका स्वकीय सचिव शालिग्राम पराजुलीलाई सम्पर्क गरेका थिए।

सरकारले नेपालमा दर्ता नभएका २६ वटा सामाजिक सञ्जाललाई निष्क्रिय गर्ने निर्णय गरेसँग नेपाल दूरसञ्चार प्राधिकरणले बिहीबार नै सबै इन्टरनेट सेवा प्रदायकहरूलाई निर्देशन दिएको थियो।

प्रकाशित: २० भदौ २०८२ १५:३५

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × two =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast