स्वच्छ सफा नेपालको वार्षिक साधारणसभा र सामाजिक लेखाजोखा कार्यक्रम सम्पन्न

हिमाल प्रेस २० भदौ २०८२ १३:०४
स्वच्छ सफा नेपालको वार्षिक साधारणसभा र सामाजिक लेखाजोखा कार्यक्रम सम्पन्न

काठमाडौँ- वातावरण संरक्षण र दिगो फोहोर व्यवस्थापनमा सक्रिय गैरनाफामुखी संस्था क्लिन अप नेपाल (स्वच्छ सफा नेपाल) ले शुक्रबार काठमाडौँमा आफ्नो १२औँ वार्षिक साधारणसभा तथा सामाजिक लेखाजोखा कार्यक्रम सम्पन्न गरेको छ।

२०७१ जेठ ८ मा स्थापना भएको संस्थाले ‘स्वच्छ र स्वस्थ नेपाल’ को दृष्टिकोणसहित स्वच्छ हावा, पानी र जिम्मेवार जीवनशैलीमार्फत सशक्त समुदाय निर्माणमा योगदान दिँदै आएको छ।

सभामा संस्थाका अध्यक्ष आमोद कर्माचार्यले आर्थिक वर्ष २०८१/८२ मा सम्पन्न गतिविधिहरूको भिडियो प्रस्तुत गरे। कोषाध्यक्ष नवराज पौडेलले रु. ४ करोड ८० लाख ५२ हजार आम्दानी र रु. ३ करोड ९६ लाख ३८ हजार खर्च भएको आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए भने लेखा परीक्षक सुजन सुवेदीले संस्थाको लेखा प्रणाली प्रविधिमैत्री र त्रुटिरहित रहेको निष्कर्ष सुनाए।

कार्यकारी निर्देशक रविन्द्र लामिछानेले वार्षिक प्रगति प्रतिवेदन सार्वजनिक गर्दै वातावरणीय स्वच्छता, फोहोर व्यवस्थापन, चक्रीय अर्थतन्त्र, हरित कार्यका लागि नीतिगत वकालत, नदी सरसफाइ, अनौपचारिक सरसफाइकर्मीको हित संरक्षण, युवा र महिलाको क्षमता विकासजस्ता उपलब्धि प्रस्तुत गरे।

गत आर्थिक वर्षमा मात्र ३६ सय अभियानकर्मीको सहभागितामा १५० टन फोहर संकलन, ५०० अनौपचारिक संकलनकर्तालाई तालिम, ५३० जनालाई सुरक्षा सामग्री, ४६८ जनालाई सामाजिक सुरक्षा योजना, २२०० बिरुवा रोपण, ५७ विद्यालयका ४ हजारभन्दा बढी विद्यार्थीलाई दिगो फोहोर व्यवस्थापन तालिम प्रदान गरिएको प्रतिवेदनमा उल्लेख छ।

कार्यक्रममा ललितपुर महानगर सरसफाइ शाखा इन्जिनियर प्रदीप अमात्य, काठमाडौँ महानगर वातावरण विभाग प्रमुख सानुमैया महर्जन, समाज कल्याण परिषद् सदस्य नारायण गिरीलगायतले शुभकामना मन्तव्य राख्दै क्लिन अप नेपालले देखाएको पारदर्शिता र उपलब्धिले हाल गैरसरकारी संस्थाप्रति देखिएको अविश्वासलाई विश्वासमा बदल्ने कार्य गरेको बताए।

सामाजिक लेखा परीक्षण प्रतिवेदन प्रस्तुत गर्दै आईडिइका कार्यकारी निर्देशक हंशराज जोशीले संस्थाले स्रोतको प्रभावकारी उपयोग, सरोकारवालासँग समन्वय र कार्यक्रमको दिगोपनामा उत्कृष्ट काम गरेको बताए।

कार्यक्रममा आईएम स्वीडिस, पिपल इन निड, इसिमोडलगायत साझेदार संस्था, निजी क्षेत्रका प्रतिनिधि, सरोकारवाला र पत्रकारहरूको उपस्थिति रहेको थियो। साधारण सभाले आमोद कर्माचार्यको अध्यक्षतामा सात सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ।

प्रकाशित: २० भदौ २०८२ १३:०४

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ten − 4 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast