
इटहरी- सुनसरीको झुम्का कारागारमा १५ दिनको अवधिमै चारजना कैदीको मृत्युको कारण ‘भाइरल इन्फेक्सन’ रहेको पुष्टि भएको छ। भाइरल संक्रमणसँगै अधिकांशमा एन्जाइटी देखिएको छ। एकैपटक सो संख्यामा कैदीको मृत्यु हुनु र ठूलो संख्यामा कैदी बिरामी परेपछि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले आकस्मिक स्वास्थ्य टोली परिचालन गरी स्वास्थ्य परीक्षण गरेको थियो। परीक्षण रिपोर्टअनुसार कैदीहरूको मृत्युको कारण भाइरल इन्फेक्सन रहेको पुष्टि भएको हो।
सुनसरीका प्रमुख जिल्ला अधिकारी धमेन्द्र मिश्र र एसपी सुमनकुमार तिम्सिनासहितले बुधबार साँझ कैदी बिरामी भएको र स्वास्थ्य परीक्षणका लागि बीपी प्रतिष्ठानलाई जानकारी गराएका थिए। कारागारमा करिब एक सय जना कैदीलाई ज्वरो, जिउ दुख्ने, नाक बन्द हुने र श्वास फेर्न समस्या देखिएको जानकारी प्रतिष्ठानलाई गराएपछि चिकित्सक तथा स्वास्थ्यकर्मीको टोली कारागार पुगेर परीक्षण तथा उपचार सुरु गरेको थियो।
प्रतिष्ठानका सहप्रवक्ता डा.अभिजित कुमारका अनुसार स्थलगत रूपमा कारागारमा रहेका एक हजार सात सय ९३ जना कैदीमध्ये तीन सय ५३ जनाको परीक्षण गरिएको थियो। तत्काल परीक्षणमा करिब एक सय जनामा उच्च ज्वरो देखिएको र ३५ जनाको मलेरिया परीक्षण गर्दा दुईजनामा पोजिटिभ देखिएको उनले बताए ।
‘स्वास्थ्य टोलीले गम्भीर अवस्थामा रहेका १२ कैदीलाई सोही राति नै प्रतिष्ठानको आकस्मिक कक्षमा ल्याएर उपचार गरेको छ,’ सहप्रवक्ता डा. कुमारले भने, ‘बिहीबार पनि थप पाँच जना बिरामी ल्याइएको छ। हालसम्म सबैको अवस्था सामान्य छ।’
अहिले सरुवा रोगको महामारीको सम्भावनालाई ध्यानमा राखी आवश्यक सावधानी अपनाउँदै आरआरटीले उपचार भइरहेको उनले बताए। उनका अनुसार कैदीहरूमध्ये ३५ जनामा डेंगु परीक्षण गरिएको छ। जसमा एक जनालाई डेंगुको संक्रमण देखिएको छ। १० जनाको कोरोना भाइरस परीक्षण गर्दा सबैजनाको नेगेटिभ रिपोर्ट आएको कुमारले बताए।
प्रतिष्ठानका उपकुलपति प्रा.डा. विकमप्रसाद श्रेष्ठ र अस्पताल निर्देशक डा.जगतनारायण प्रसादले झुम्का कारागारमा रहेका कैदीहरूको स्वास्थ्य परीक्षणका लागि मेडिसिन विभागबाट दुईजना, इमर्जेन्सी मेडिसिन तथा जेनेरल प्राक्टिस विभागबाट दुई जना, एनेस्थसियोलोजी विभागबाट एक जना चिकित्सकका साथै दुई जना स्टाफ नर्स तथा दुई जना ल्याब प्राविधिक गरी नौ जनाको टोली खटाउन निर्देशन दिएका थिए।
‘पूर्वव्यापी तथ्यांक नियाल्दा यस्ता समस्याले सो कारागारका अहिलेसम्ममा तीनजना बिरामीको निधन भएको पाइएको छ,’ डा.कुमारले भने। उनका अनुसार कारागारमा मृत्यु भएकामध्ये एक जनाको कारागारमै, एक जनाको जिल्ला अस्पताल इनरुवामा र अर्का एक व्यक्तिको भने बीपी प्रतिष्ठानमा मृत्यु भएको हो।
प्रतिष्ठानले ‘सेप्टिक शक मल्टिपल अर्गन डिसफङ्सन सिन्ड्रोम’ मा राखेर डायलाइसिस गर्दा पनि ज्यान बचाउन नसकिएको जनाएको छ। खासगरी गम्भीर रोगका कारण शरीरका धेरै अंगहरू (मुटु, फोक्सो, मिर्गौला, कलेजो) ले राम्ररी काम गर्न छोड्ने अवस्थामा यो प्रविधिको प्रयोग गरिन्छ।
प्रतिष्ठानको मेडिसिन विभागका विभागीय प्रमुख प्रा.डा. रविन मास्केले विगत एक महिनायता भाइरल इन्फेक्सनमा वृद्धि भएको बताए। ‘कारागारमा पनि यही समस्या भएको र भाइरलकै कारण अहिले धेरै कैदी बिरामी भएको देखियो,’ उनले भने, ‘भाइरलबाट बच्न सर्वसाधारणले आवश्यक सावधानी अपनाउनुपर्छ।’
साथै उक्त समस्या वृद्धि भएको अपस्थामा प्रतिष्ठानले पूर्व तयारीसमेत गरिरहेको उनको भनाइ छ। विश्व स्वास्थ्य संगठनको विपद् उद्धार टोलीले पनि प्रतिष्ठानमा भर्ना भएका ती बिरामी जाँचको लागि नमुना संकलन गर्ने र झुम्का कारागारबाट पनि नमुना संकलन गर्ने योजना रहेको प्रतिष्ठानले जनाएको छ।
यसअघि पनि यस्तै स्वास्थ्य समस्या देखिँदा १५ दिनमै तीन कैदीको ज्यान गइसकेको छ। एक कैदीको कारागारमै, अर्काको इनरुवा अस्पतालमा र अर्कोको प्रतिष्ठानमा मृत्यु भएको थियो।
प्रतिष्ठानका चिकित्सकहरूका अनुसार यो समस्या भाइरल संक्रमणसँग सम्बन्धित हुने सम्भावना बढी छ। विश्व स्वास्थ्य संगठनको टोलीले समेत घटनास्थल र अस्पतालमा नमुना संकलन गरेर थप परीक्षण गर्ने तयारी गरेको छ।
झुम्का कारागारमा पछिल्ला १५ दिनमा चार कैदीको मृत्यु भएपछि स्वास्थ्य जाँच गरिएको थियो। यसअघि भदौ ४ गते भोजपुरका २८ वर्षीय विकास राई, भदौ १५ गते सुनसरीको गढी-६ का ४८ वर्षीय रामदेव उराँव र भदौ १६ गते धरान-१० का २४ वर्षीय सागर राईको मृत्यु भएको थियो।
गएको बुधबार साँझ सप्तरीको राजविराज-८ का ४६ वर्षीय जलेश्वर यादवको उपचारका क्रममा मृत्यु भएको थियो। लगातार बढ्दो मृत्यु र स्वास्थ्य समस्या बढ्दै गएपछि कैदीहरूको स्वास्थ्य परीक्षण गरिएको हो।
यो पनि