 
                             
                                            काठमाडौँ- भदौ २० देखि फिल्म ‘रिमै’ सँगै प्रदर्शन हुने भनिएको ‘चिठी’ को प्रदर्शन स्थगित गरिएको छ। प्रदर्शनको पूर्वसन्ध्यामा एक सूचना जारी गर्दै निर्माण टिमले प्रदर्शन स्थगित गरेको जानकारी दिएको हो।
टिमले केही समयपछि प्रदर्शनको नयाँ मिति सार्वजनिक गर्ने पनि सूचना मार्फत बताएको छ। निर्धारित शोहरू समयमा प्राप्त गर्न नसकेको, कतिपय हलहरूले शो नै नदिएको र दिएकाे पनि अफटाइम मात्रै भएकाेले प्रदर्शन स्थगित गर्नुपरेको जारी सूचनामा उल्लेख छ।
‘हामी सबै कलाकार, प्राविधिक र निर्माता-निर्देशकको टिमले दिनरात खटेर फिल्मलाई दर्शकहरूसम्म ल्याउने सपना बोकेका थियौं। तर, यथार्थपरक परिस्थितिले त्यो सपना केही समयका लागि रोकिएको मात्र हो’,सूचनामा भनिएको छ, ‘धेरै दर्शकले चिठी हेर्ने उत्साह देखाउनुभएको थियो। तपाईंहरूको त्यही माया र साथले हामीलाई अझ बलियो बनाएको छ। आगामी दिनमा नयाँ मितिसहित अझ प्रभावकारी रूपमा प्रदर्शनमा ल्याउनेछौं भन्ने दृढ विश्वास दिलाउन चाहन्छौं।’
फिल्म माधवराज खरेलको लेखन तथा निर्देशनमा बनेको हो। फिल्ममा खड्ग बहादुर पुन ‘खबपु’, संजीत भण्डारी, गोपाल ढकाल ‘छन्दे’, नवराज थापा, मुस्कान तामाङ, कञ्चन चालिसेलगायत कलाकारको अभिनय छ। एरा प्रोडक्सनको ब्यानरमा बनेको फिल्म कमला जोशीले निर्माण गरेकी हुन्।


 हिमाल प्रेस
                     हिमाल प्रेस                     
                                              
                                              
                                             


 
  
  
  
  
  
  
  
  
  
 