
काठमाडौँ- नेकपा एमालेको दोस्रो विधान महाधिवेशन आजदेखि ललितपुरको गोदावरीस्थित सनराइज सम्मेलन केन्द्रमा सुरु हुँदैछ। महाधिवेशनको औपचारिक उद्घाटन प्रधानमन्त्री एवम् एमाले अध्यक्ष केपी शर्मा ओलीले गर्ने कार्यक्रम छ।
यो महाधिवेशन भदौ २२ गतेसम्म चल्नेछ। एमालेका अनुसार देशभरका प्रतिनिधि र आयोजकसहित करिब २ हजार ३ सयभन्दा बढी सहभागी हुनेछन्। प्रतिनिधिहरुलाई बिहान ९ बजेदेखि नै स्थलमा उपस्थित हुन भनिएको छ भने उद्घाटन सत्र ११ बजे सुरु हुनेछ।
उद्घाटनपछि अध्यक्ष ओलीले राजनीतिक प्रतिवेदन, उपाध्यक्ष विष्णु पौडेलले विधान संशोधन प्रस्ताव र महासचिव शंकर पोखरेलले संगठनात्मक प्रतिवेदन प्रस्तुत गर्नेछन्। यस्तै, स्थायी कमिटी सदस्य कर्ण थापाको फरक मत पनि प्रस्तुत गरिने उपमहासचिव प्रदीप ज्ञवालीले जनाएका छन्। थापाले बिहीबारै पार्टी कार्यालयमा फरक मत दर्ता गराएका थिए।
महाधिवेशनमा अनुशासन, लेखा, निर्वाचन आयोग र सल्लाहकार परिषद्का प्रतिवेदन पनि पेस गरिनेछन्। यी प्रतिवेदनमाथि भदौ २१ गते समूहगत छलफल हुनेछ भने त्यसका निष्कर्ष २२ गतेदेखि प्रस्तुत गरिने एमालेले जनाएको छ। छलफलपछि प्रतिनिधिहरूको सुझाव जिज्ञासामा नेताहरूले जवाफ दिने, त्यसपछिको चरणमा निर्वाचन र प्रतिवेदन अनुमोदन गर्दै महाधिवेशन समापन गर्ने कार्यक्रम तय गरिएको छ।
एमालेले यसपटक पनि महाधिवेशनलाई अध्यक्ष ओलीकै उपस्थितिमा केन्द्रित बनाएको देखिन्छ। काठमाडौँ उपत्यकाका नाका, भक्तपुर, थानकोट, कलंकीदेखि आकाशे पुलसम्म झण्डा, पोस्टर टाँस्दै महाधिवेशनलाई भव्य बनाइएको छ।
गोदावरी बसपार्कमा मुल प्रवेशद्वार निर्माण गरिएको छ। त्यहाँबाट करिब ५०० मिटर दूरीमा तीनवटा गेट राखेर प्रतिनिधिलाई महाधिवेशन स्थलको अनुभूति दिलाउने व्यवस्था गरिएको छ। २ हजार ८४० सिट क्षमता भएको सनराइज सम्मेलन केन्द्रमा ४ वटा प्रवेशद्वार छन्।
महाधिवेशनलाई प्रविधिमैत्री बनाउन एमालेले विशेष तयारी गरेको छ। अनधिकृत प्रवेश रोक्न र व्यवस्थापन सहज बनाउन क्यूआर स्क्यान प्रणाली प्रयोग गरिएको छ।