
काठमाडौँ- गत आर्थिक वर्षमा हनुमान ढोका दरबार संरक्षण कार्यक्रमको राजस्वमा वृद्धि भएको छ। अघिल्लो आर्थिक वर्षभन्दा गत आर्थिक वर्षमा करिब रु दुई करोडले राजस्वमा वृद्धि भएको हनुमानढोका दरबार क्षेत्र कार्यक्रमका प्रमुख चन्द्रगोपाल प्रधानले जानकारी दिए।
प्रमुख प्रधानका अनुसार अघिल्लो आव २०८०/८१ मा रु १७ करोड ६९ लाख आम्दानी गरेकामा गत आव २०८१/८२ मा रु १९ करोड ४६ लाख राजस्व संकलन गरेको छ। अघिल्लो आवमा उक्त क्षेत्र अवलोकन गर्न आउने पर्यटकको संख्या रार्क राष्ट्रबाट ४७ हजार ३९९ जना रहेकामा अन्य देशबाट आउने संख्या एक लाख ५३ हजार २६२ जना रहेका थिए।
त्यसैगरी गत आवमा सार्क राष्ट्रबाट ५० हजार ५३३ जनाले अवलोकन गरेकामा अन्य देशका एक लाख ६९ हजार ३९५ जानले उक्त क्षेत्रको अवलोकन गरेका छन्। अघिल्लो आवभन्दा गत आवमा पर्यटकको संख्यामा वृद्धि भएकाले आम्दानी बढेको प्रधानको भनाइ छ।
सो कार्यालयको विशेषगरी हनुमानढोका घुम्न आउने पर्यटकबाट प्रवेश शुल्कबाट लिइने रकम नै आम्दानी हो। हाल यहाँ उक्त ऐतिहासिक स्थान घुम्न आउने पर्यटक सार्क राष्ट्रका लागि रु ५०० निर्धारण गरिएको छ भने अन्य मुलुकबाट आउने पर्यटकका लागि रु एक हजार निर्धारण गरिएको छ। नेपालीलाई प्रवेशका लागि शुल्क नलागे पनि सङ्ग्रहालय अवलोकनमा भने शुल्क लाग्ने गरेको छ।
उक्त स्थान अवोकनका लागि जुनसुकै समयमा गर्न सकिने भए पनि जीवित देवी कुमारी हेर्नका लागि भने बिहानका लागि ११ : ०० देखि १२ : ३० सम्म र साँझ ५ : ०० देखि ८ : ०० बजेको समय तोकिएको छ।
हनुमानढोका घुम्नका लागि पर्यटकीय मौसममा दैनिक सात सयसम्म पर्यटक आउने गरेका छन्। विशेषगरी भदौ, असोज र कात्तिकमा पर्यटक बढी आउने गरेको प्रधानको भनाइ छ।