
मनाङ- प्रमुख जिल्ला अधिकारी (सिडिओ) नवराज पौडेलले आसन्न निर्वाचनको सुरक्षा तयारी एवं शान्ति सुरक्षामा विशेष ध्यान दिन निर्देशन दिएका छन्। उनले मातहतका कार्यालय निरीक्षणका क्रममा त्यस्तो निर्देशन दिएका हुन्।
जिल्ला प्रहरी कार्यालय र चामेस्थित सशस्त्र प्रहरी बल नेपाल नं ३२ गुल्म हेडक्वार्टरको निरीक्षणका क्रममा सिडिओ अधिकारीले आसन्न निर्वाचन सफलतापूर्वक सम्पन्न गर्न सबै निकाय दत्तचित्त भएर लाग्नुपर्ने बताए।
निरीक्षणमा नवनिर्मित भवनमा रहेका प्रशासन, अपराध अनुसन्धान, प्रबन्ध, सञ्चार, महिला तथा बालबालिका, अन्वेषण तथा योजना शाखा, नागरिक सहायता कक्ष, हिरासत कक्ष, प्रहरी ब्यारेक र कर्मचारीको अवस्थाबारे जानकारी लिए।
प्रहरी नायब उपरीक्षक हरिप्रसाद पौडेलले जिल्लाको शान्ति सुरक्षा, अपराध अनुसन्धान, अभिलेख व्यवस्थापन, विपद् व्यवस्थापन, ट्राफिक व्यवस्था र निर्वाचन सुरक्षाबारे विस्तृत प्रस्तुति दिनुका साथै निर्वाचनको तयारीका बारेमा जानकारी गराएका छन्।
सशस्त्र प्रहरी नायब उपरीक्षक ध्रुव रेग्मीले जिल्लाको समग्र सुरक्षा अवस्था, प्रशासनिक तथा अपरेसनल गतिविधि, विपद् व्यवस्थापन रणनीति, सीमा सुरक्षासम्बन्धी चुनौती, भावी योजना तथा निर्वाचन विशेष सुरक्षा योजनाबारे विस्तृत जानकारी प्रस्तुत गरे।
आगामी कात्तिक १७ गते मनाङ जिल्ला प्रतिनिधिसभा क्षेत्र नं १ को प्रदेशसभा निर्वाचन क्षेत्र (२) उपनिर्वाचन हुँदैछ।