
काठमाडौँ- नेपाली कांग्रेसकी नेतृ डिला संग्रौलाले सामाजिक सञ्जाल बन्द गर्ने सरकारको निर्णय अपरिपक्व र गलत भएको बताएकी छन्।
उनले सामाजिक सञ्जाल बन्द गर्ने कदमले संविधानले प्रत्याभूत गरेको अभिव्यक्ति स्वतन्त्रता र सूचना पाउने हक कुण्ठित गर्ने भन्दै आपत्ति जनाएकी छन्।
‘सामाजिक सञ्जाल आजको २१ औँ शताब्दीमा जनजीवनको अभिन्न अंग बनेका छन्, यसल आम नागरिकलाई सशक्त बनाएको छ,’ संग्रौलाले फेसबुकमार्फत लेखेकी छन्।
उनले अनगुमनका लागि कानुनी प्रावधान र संयन्त्र भएको अवस्था हठात् बन्द गर्ने निर्णय गर्नुको सट्टा राष्ट्रियसभामा विचाराधीन विधेयकमाथि छिटो छलफल गरी उपयुक्त कानुन बनाउनुपर्नेमा जोड दिइन्।
संग्रौलाले गठबन्धन सरकार चलाउँदा सबै दलसँग पर्याप्त छलफल गरेर मात्रै निर्णयमा पुग्नुपर्ने बताउँदै भनेकी छन्,‘यस्ता अपरिपक्व निर्णयले सरकारको छविमाथि नै धक्का पुर्याउँछ, त्यसैले तत्काल पुनःविचार गर्न आवश्यक छ।’