एभरेस्ट लिगमा जब राजेश हमाल र पोखराका मेयरको टिम भिडे

हिमाल प्रेस १९ भदौ २०८२ २०:२१
16
SHARES
एभरेस्ट लिगमा जब राजेश हमाल र पोखराका मेयरको टिम भिडे

पोखरा- पोखरामा शुक्रबारदेखि दोस्रो वात्सल्य एभरेस्ट महिला भलिबल लिग (इडब्लुभी) सुरु हुँदैछ। पोखरा रंगशालास्थित बहुउद्देश्यीय कभर्ड हलमा २० देखि २८ भदौसम्म सञ्चालन हुने प्रतियोगिताको पूर्व सन्ध्यामा बिहीबार फेवाताल किनारमा मैत्रीपूर्ण भलिबल प्रतियोगिता भयो। एउटा टिममा थिए- नेपाली फिल्मका महानायक राजेश हमाल। अर्कोमा थिए- पोखरा महानगरपालिकाका मेयर धनराज आचार्य।

हमाल र आचार्य नेतृत्वको टिमको मैत्रीपूर्ण भलिबल प्रतियोगितामा आचार्य टिमले २-१ सेटले खेल जितेको छ। खेल अवलोकनका लागि क्याम्पिङ चोकमा दर्शकको उल्लेख्य उपस्थिति थियो। कलाकारको टिमलाई साथ दिन अभित्रेनी नीति शाह, सनिशा भट्टराई, शुभेच्छा खड्कासमेत आएका थिए।

महानायक हमालको खेल हेर्न तथा कलाकारसँग सेल्फी खिच्ने दर्शकको ठेलमठेल गरेका थिए। यस्तै लिगमा भाग लिने ६ वटै फ्रेन्चाइज टिमका कप्तानहरू उषा भण्डारी, सलिना श्रेष्ठ, अरुणा शाही, प्रगति नाथ, सुमित्रा रेग्मी र निरुता ठगुन्ना पनि केही समय भलिबल कोर्ट उत्रिएका थिए।

साविक विजेता कर्णाली यशविससहित ललितपुर क्विन्स, मधेश युनाइटेड, काठमाडौं स्पाइकर्स, लुम्बिनी लाभाज र पोखरा निन्जाजले भाग लिन लागेका हुन्। पहिलो संस्करणमा भाग लिएको गण्डकी थण्डर्सको स्थानमा अहिले पोखरा निन्जाज छ। चितवन शक्तिको स्थानमा लुम्बिनी लाभाज नयाँ टिम हो।

लिगमा उषा भण्डारीले काठमाडौं स्पाइकर्स, सलिनाले ललितपुर क्विन्स, अरुणाले लुम्बिनी लाभाज, ललिताले पोखरा निन्जाज, सुमित्राले कर्णाली यशविस र निरुताले मधेश युनाइटेडको प्रतिनिधित्व गरेका छन्।

इन्फिनिटी ड्रिम्सको आयोजनामा नेपाली महिला भलिबलको पहिलो फ्रेन्चाइज लिग वात्सल्य एभरेस्ट महिला भलिबल लिग (इडब्लुभी) को पहिलो संस्करण गत वर्ष काठमाडौंमा भएको थियो।

लिगका लागि सहभागी ६ फ्रेन्चाइज टिमहरु पोखरा आइसकेका छन्। यस्तै, थाइल्याण्ड, नेदरल्याण्ड्स, रुसदेखि ब्राजिलसम्मका खेलाडीहरु पनि आइसकेका छन्।

शुक्रबार पहिलो खेल कर्णाली यशविस र पोखरा निन्जाजबीच हुनेछ। दोस्रो खेल ललितपुर क्वीन्स र मधेश युनाइटेडबीच प्रतिस्पर्धा हुने आयोजकका अपरेसन हेड मनोज वैद्यले जानकारी दिए।

नेपाली भलिबल इतिहासमै पहिलोपटक लिगका लागि प्लेअर अक्सनसमेत गरिएको थियो।

प्रकाशित: १९ भदौ २०८२ २०:२१

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

six + seventeen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast