
काठमाडौँ- सूचीकरणका लागि मेटाबाट आएको भनिएको इमेल सही नहुन पनि सक्ने सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले जनाएको छ। मेटाको ‘लेटरहेड’ मा नपठाइएकाले मेल आधिकारिक नहुन पनि सक्ने मन्त्रालयले जनाएको हो।
मन्त्रालयका प्रवक्ता गजेन्द्र ठाकुरले फेसबुक, व्हाट्सएप, इन्स्टाग्राम र म्यासेन्जरको माउ कम्पनी मेटाले औपचारिक रूपमा सम्पर्क नगरेको बताए। उनले सिंगापुरबाट एक जनाले आफूलाई मेटाको कर्मचारी भन्दै मन्त्री पृथ्वीसुब्बा गुरुङको स्वकीय शालिग्राम पराजुलीलाई सम्पर्क गरेको जानकारी दिए।
‘सिंगापुरबाट एक जनाले मेटाबाट भन्दै शालिग्राम पराजुलीलाई सम्पर्क गर्नु भएको बुझिएको छ। सम्पर्क गर्ने माध्यम के हो मलाई त्यो पनि थाहा भएन। त्यो व्यक्ति मेटाकै हो वा होइन यकिन भन्न सकिने अवस्था छैन,’ ठाकुरले भने,‘सूचीकृत हुन चाहिने आवश्यक कागजातको विवरण मागेको भन्ने कुरा आयो।’
मन्त्री गुरुङका स्वकीय पराजुलीले आफूलाई पठाएको ईमेलमा सूचीकृत हुन चाहिने आवश्यक कागजातको विवरण पठाइदिएको ठाकुरले बतायो।
‘सम्पर्क गर्ने व्यक्ति मेटाकै हो औपचारिक रूपमा भन्न सक्ने अवस्था छैन,’ ठाकुरले भने,‘आधिकारिक पत्र पनि छैन, मन्त्रालयको सम्पर्कमा पनि आएको छैन। मन्त्रीको सचिवालयमार्फ आएको हो। कसैले मजाक गरेको पनि हुन सक्छ।’
औपचारिक रूपमा मन्त्रालयको सम्पर्कमा आएको अवस्थामा आधिकारिक हो होइन भनेर छुट्याउन सकिने उनको भनाइ छ।
प्रवक्ता ठाकुरले हाम्रो पात्रोले सूचीकृत हुन दर्ताको प्रक्रिया थालेकोले त्यसलाई आधिकारिक रूपमा लिन सकिने जिकिर गरे। उनका अनुसार हाम्रो पात्रोको प्रतिनिधि बिहीबार सूचीकृत हुन मन्त्रालयको सम्पर्कमा आएको छ।
सरकारले नेपालमा सूचीकृत नभएका २६ वटा सामाजिक सञ्जाल प्लेटफर्मलाई बिहीबार रातिबाट निष्क्रिय बनाउने निर्णय गरेको छ।