
काठमाडौँ- नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले सामाजिक सञ्जाल बन्द गर्ने सरकारको निर्णयप्रति आपत्ति जनाएका छन्। आलोचना खेप्न बाध्य भएको सरकार सामाजिक सञ्जाल बन्द गर्ने निर्णयमा पुगेको भन्दै उनले आपत्ति जनाएका हुन्।
‘जनचाहना र आफ्नै प्रतिबद्धताअनरूप काम गर्न नसकेपछि आलोचना खेप्न बाध्य भएको सरकारले अदालतको आदेशको बहानामा सामाजिक सञ्जाल बन्द गर्नु घोर आपत्तिजनक छ,’ कोइरालाले सामाजिक सञ्जालमा लेखेका छन्।
उनले सरकारको यो निर्णयका कारण कतिपय नेपालीको रोजीरोटी खोसिनेतर्फ ध्यानाकर्षण गराएका छन्। कोइरालाले भनेका छन्,‘यस निर्णयका कारण कति नेपालीको रोजीरोटी समेत खोसिन्छ, यो सरकारले अन्दाज लगाउन सक्छ?’
उनले सामाजिक सञ्जाल बन्द गर्ने निर्णय तत्काल सच्चाउन सरकारलाई आग्रह गरेका छन्।
‘यस्तो कदम तुरुन्त सच्चाउन र सामाजिक सञ्जाललाई मर्यादित गर्ने गरी नियमन गर्न म आग्रह गर्न चाहन्छु,’ कोइरालाले भनेका छन्। सञ्चार मन्त्रालयमा सूचीकृत नभएका झन्डै २६ वटा सामाजिक सञ्जाल प्लेटफर्मलाई बिहीबार रातिदेखि निष्क्रिय पार्ने सरकारको तयारी छ।