
काठमाडौँ- नेपाली कांग्रेसका महामन्त्री गगन थापाले सरकारले सामाजिक सञ्जाल बन्द गर्ने निर्णयप्रति असन्तुष्टि व्यक्त गरेका छन्। बिहीबार फेसबुकमा लेख्दै उनले सरकारले गरेको निर्णय गलत भएको बताएका हुन्। उनले सरकार उल्टो बाटो हिँडेको र निर्णयमाथि पुनर्विचार गर्नुपर्ने उल्लेख गरेका छन्।
‘सर्वोच्च अदालतले सामाजिक सञ्जालमा प्रकाशन प्रसारण हुने अनिच्छित सामग्रीको मूल्यांकन, अनुगमन, जिम्मेवार बनाउन, दुरुपयोगलाई निरुत्साहित समेत बनाउनलाई कानुनी प्रबन्ध गर्न भनेको छ,’ उनले लेखेका छन्, ‘यसको हवाला दिँदै निर्देशिकाका आधारमा सामाजिक सञ्जाल बन्द गर्ने होइन बरु आवश्यक कानुन छिटो बनाउने हो। सामाजिक सञ्जाल सम्बन्धित कानुन राष्ट्रिय सभामा विचाराधीन छ, त्यसमा छिटो काम गरेर उपयुक्त कानुन निर्माण गरौँ। ’
उनले सामाजिक सञ्जालमा लगाउने कुनै पनि प्रतिबन्धले अभिव्यक्ति स्वतन्त्रता र सूचनाको अधिकारलाई संकुचित पार्ने पनि बताएका छन्। ‘सामाजिक सञ्जाल बन्द गर्ने विषय साइबर जोखिमसँग समेत जोडिएको छ। हामीले यस विषयमा सन्तुलित र विवेकपूर्ण भएर सोच्नुपर्छ,’ उनले भनेका छन्।
उनले सामाजिक सञ्जाल नागरिकहरूलाई आफ्ना अभिव्यक्ति स्वतन्त्रताको उपभोग गर्दै, सार्वजनिक बहसहरूमा भाग लिने र सरकारलाई जबाफदेही बनाउन महत्त्वपूर्ण मञ्च प्रदान गर्ने माध्यम बनेको पनि बताएका छन्। साथै सामाजिक सम्बन्ध, उद्यमशीलता, डिजिटल अर्थतन्त्र जस्ता विविध विषय र आम मानिसको दैनिकीसँग जोडिएको उनको भनाइ छ।
‘सरकार सँग पुनः आग्रह छ-यो निर्णय पुनर्विचार गरियोस्। सामाजिक सञ्जाल सुरक्षित बनाउन, दुरुपयोग रोक्न र नियमन गर्नको लागि सम्बन्धित कानुनलाई छिटो निर्माणमा तदारुकता देखाओस्,’ उनले भनेका छन्।