
काठमाडौँ- नेकपा एमालेका स्थायी कमिटी सदस्य कर्ण थापाले पार्टीको विधान महाधिवेशनमा छलफलका लागि फरक दस्तावेज दर्ता गरेका छन्।
बिहीबार पार्टी कार्यालय च्यासल पुगेर पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको सदस्यता नवीकरण नगर्ने, ७० वर्षे उमेर हद र दुई कार्यकालको व्यवस्था हटाउने लगायतको विषयमा फरक मतसहितको दस्तावेज दर्ता गरेको थापाले जानकारी दिए।
पार्टीको नवौँ केन्द्रीय कमिटीमा आफूले राखेको फरक मतलाई नै विधान महाविधेशनमा छलफल गर्ने गरी फरक दस्तावेजका रुपमा पार्टी कार्यालयमा दर्ता गराइएको उनले बताए।
उनले पूर्वराष्ट्रपति भण्डारीको सदस्यता नवीकरण नगर्ने निर्णय पार्टीको विधान र संविधानविपरित रहेको उल्लेख गरे। थापाले प्रथम विधान महाधिवेशनदेखि अहिलेको विधान महाधिवेशनसम्म आइपुग्दा गरेका निर्णयहरु, भएका कामहरु, विधि, मूल्य मान्यता अनुसार पार्टी सञ्चालन नभएको उल्लेख गरे।
उनले पार्टीलाई लोकतान्त्रिक विधिअनुसार चलाउनका लागि नै फरक दस्तावेज दर्ज गरेको भन्दै विधान महाधिवेशनमा आफ्नो दस्तावेजमाथि छलफल हुने बताए। एमालेको विधान महाधिवेशन शुक्रबारबाट सुरु हुँदैछ।