
काठमाडौँ- नवनियुक्त प्रहरी महानिरीक्षक चन्द्रकुवेर खापुङले सामूहिक भावना र भातृत्वभावका साथ आआफ्नो जिम्मेवारी वहन गर्न मातहतका कर्मचारीलाई निर्देशन दिएका छन्।
प्रहरी महानिरीक्षकको जिम्मेवारी सम्हालेपछि प्रहरी प्रधान कार्यालयमा आज आयोजित समारोहमा उनले संगठनको दीर्घकालीन श्रीवृद्धि, व्यावसायिकता र प्रतिष्ठाको प्रवर्द्धनका लागि सकारात्मक सोच, सक्रियता र उत्तरदायित्व बोध गरी खटिन निर्देशन दिए।
प्रहरी महानिरीक्षक खापुङले फौजदारी न्याय प्रणालीको प्रमुख अंगका रूपमा प्रहरीले देशव्यापी सञ्जालमार्फत अपराधको रोकथाम, नियन्त्रण र अनुसन्धानका साथै शान्ति सुरक्षा, ट्राफिक व्यवस्थापन, विपद् व्यवस्थापनलगायत कार्यमा राज्यको पहिलो प्रतिनिधिको रूपमा आफ्नो उपस्थिति देखाउनुपर्ने बताए।
उनले आमनागरिकको अपेक्षालाई शिष्ट आचरण एवम् व्यवहारका साथ सम्बोधन गर्दै आम नागरिकको हृदयमा आस्था, विश्वास र भरोसा कायम राख्ने गरी कार्यसम्पादन गर्नुपर्नेमा जोड दिए।
प्रहरी महानिरीक्षक खापुङले राष्ट्र र नागरिक सेवामा आफ्नो निजी स्वार्थ तथा व्यक्तिगत लाभभन्दा माथि उठेर जिम्मेवारी निर्वाह गर्न निर्देशन दिँदै संगठनले निर्दिष्ट गरेको अनुशासन पालना र व्यावसायिक प्रहरी कर्मचारीको मर्यादाको सीमाभित्र रहेर आफ्नो जिम्मेवारी निर्वाह गर्न सचेत गराए।
समारोहमा प्रहरी अतिरिक्त महानिरीक्षक, प्रहरी नायव महानिरीक्षक, प्रहरी प्रधान कार्यालय तथा उपत्यकास्थित वरिष्ठ प्रहरी अधिकृत तथा जवानको उपस्थितिको साथै प्रदेश प्रहरी कार्यालयका प्रमुख, नेपाल प्रहरी प्रदेश कार्यालयका प्रमुख, शिक्षालयका प्राचार्यलगायत उपस्थिति थिए।
यही भदौ १३ गतेको मन्त्रिपरिषद् बैठकले खापुङलाई प्रहरी संगठनको ३२ औँ महानिरीक्षक पदमा पदोन्नति गर्ने निर्णय गरेको थियो।