पाताले छाँगो ठेक्का विवाद उत्कर्षमा, सार्वजनिक सुनवाइमै खुकुरी प्रहार

विजय नेपाल १९ भदौ २०८२ १३:५७
12
SHARES
पाताले छाँगो ठेक्का विवाद उत्कर्षमा, सार्वजनिक सुनवाइमै खुकुरी प्रहार

पोखरा- पोखराको प्रमुख पर्यटकीय स्थल डेभिज फल अर्थात् पाताले छाँगो निजी कम्पनीलाई ४० वर्षसम्मका लागि ठेक्का दिने विवादित छ। गत साता स्थानीयको विरोधसँगै स्थगित सार्वजनिक सुनवाइ बिहीबार फेरि विवाद भएको छ। सार्वजनिक सुनुवाइ भइरहँदा स्थानीयले चर्को विरोध गरेका छन् भने नेपाली कांग्रेस निकट नेविसंघका विद्यार्थी नेतामाथि खुकुरी प्रहार भएको छ।

विद्यार्थी नेताहरू निर्दोष पौडेल, प्रकाश बास्तोला, शिविर श्रेष्ठ, शिवश् शाहीलगायतलाई ज्यान मार्ने उद्देश्यले खुकुरी, रडसहित हातहतियारसहित आएका युवाले आक्रमण गरेको स्रोतले जनाएको छ।

स्थानीय युवाले आक्रमणकारीमध्ये एकजनालाई समातेर प्रहरीको जिम्मा लगाएका छन्। कार्यक्रममा पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले सम्बोधन गर्ने  समेत पाएनन्। उनलाई जोगाएर कार्यक्रमस्थलबाट सुरक्षित स्थानतर्फ लगिएको थियो। कार्यक्रममा सार्वजनिक सुनुवाइ आयोजक सेती क्यानोनका अध्यक्ष कर्केनकुमार गुरुङसहित पोखरा महानगरपालिकाका प्रवक्ता मोतीलाल तिम्सिना, पोखरा वडा १७, वडा २२ लगायतका वडाध्यक्षहरु तथा स्थानीय सरोकारवालाको उपस्थिति थियो।

सार्वजनिक सुनुवाइका क्रममा सुरुआतमा सेती क्यानोनका अध्यक्ष कर्केनकुमार गुरुङले वातावरण प्रभाव मूल्यांकनको प्रतिवेदन प्रस्तुत गर्दै यसको उद्देश्यबारे बताएका थिए। त्यसैबीचमा स्थानीयले विरोध गरेका थिए। कार्यक्रम नसकिँदै खुकुरी प्रहारको घटनाले तितरबितर भएको हो।

२०३४ सालदेखि डेभिज फलको व्यवस्थापन पोखरा-१७ स्थित छोरेपाटन माध्यमिक विद्यालयले गर्दै आएकोमा १४ साउन, २०७८ मा पोखरा महानगरपालिकाले सीसाको पुल निर्माण गर्ने सम्झौता गर्दै ४० वर्षसम्म लागि सेती क्यानोन नामक निजी कम्पनीलाई ठेक्कामा दिएको थियो। ठेक्का सम्झौताको ४ वर्ष बितिसक्दा उक्त कम्पनीले स्थानीयको अवरोधले निर्माण कार्यको थालिसकेको थिएन।

गत साता बुधबार वातावरण प्रभाव मूल्यांकनबारे छलफलका लागि सार्वजनिक सुनुवाइ भएको थियो। स्थानीयले अवरोधसँगै महानगरका कर्मचारी र जनप्रतिनिधिलाई लखेटेर कार्यक्रमको ब्यानरसमेत च्यातिदिएका थिए। फेरि बिहीबार आयोजित सार्वजनिक सुनुवाइमा पनि विवाद उत्पन्न भएको हो। नेपाली काँग्रेसका स्थानीय नेता देवराज आचार्यले डेभिजफल पोखरा महानगरपालिकाकै मातहतमा रहनुपर्ने र कुनै पनि कम्पनीलाई ४० वर्षसम्मका लागि भाडामा दिन नपाइने तर्क गर्छन्।

उनले यहाँ कुनै पनि संरचना बन्न नदिने अडान राख्छन्। डेभिजफलबाट वार्षिक २४ करोड रुपैयाँ आम्दानी हुने गरेकोमा पोखरा महानगरले सार्वजनिक सम्पत्तिलाई निजी कम्पनीबाट वार्षिक २ करोड मात्र लिने गरी सम्झौता गर्नु नहुने तर्क गर्छन्। उनले पर्यटकको जनसंख्या र अहिले प्रस्तावित प्रवेश शुल्क हिसाब गर्दा वार्षिक २४ करोड आम्दानी हुने भएकोले ठेक्का खारेज गर्नुपर्नेमा जोड दिए।

पोखरा महानगरपालिकाले गत वर्ष माघदेखि डेभिज फलको स्वामित्व लिएको थियो। आफैँले सञ्चालन गर्दा करिब ६ महिनायता झण्डै ३ करोड कमाइसकेको छ। सेती क्यानोनले सिसाको पुल निर्माणसहित विभिन्न पर्यटकीय पूर्वाधार निर्माण गर्ने पोखरा महानगरपालिकासँग सम्झौता गरेको छ।

सेती क्यानोन अध्यक्ष कर्केनकुमार गुरुङले सुरुमा ४४ करोडको योजना अहिले सरकारको ढिलासुस्तीले ६६ करोड लागत पुग्ने बताए। उनले विभिन्न झमेलाका कारण निर्माण कार्य सुरु हुन नसकेको गुनासो गरे। उनले अबको एक महिनामै जसरी पनि परियोजना सुरुआत गर्ने बताए।

पोखरा वडा २५ का वडाध्यक्षसमेत रहेका पोखरा महानगरपालिका प्रवक्ता मोतीलाल तिम्सिनाले उक्त कम्पनीले ६६ करोड खर्च गर्ने हुँदा डेभिज फलको थप आकर्षण बढ्ने बताउँछन्। यहाँ करिब एक सय जनाको संख्यामा रोजगारीको सिर्जना हुने उनको भनाइ छ। उनी भन्छन्, ‘स्थानीय पनि अधिकांश समर्थनमा हुनुहुन्छ। किनभने त्यसको लाभ स्थानीले नै पाउने हुन्। केही मात्र विरोधमा उत्रिएका हुन्।’ विद्यालयलाई पनि वार्षिक अनुदान दिने सम्झौता भएको भएको तर्क गर्दै उनले निर्माण आयोजना अघि बढाउन पोखरा महानगर प्रतिबद्ध रहेको बताए।

प्रकाशित: १९ भदौ २०८२ १३:५७

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

thirteen + ten =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast