
इटहरी- कोशी प्रदेशकै ठूलो कारागारका रूपमा चिनिने झुम्का कारागार पछिल्ला दिनमा असुरक्षित बन्दै गएको छ। पछिल्ला १५ दिनमै चारजना कैदीको मृत्यु भएको छ भने दर्जनौँ कैदी बिरामी परेका छन्। लगातार बढ्दो मृत्यु र स्वास्थ्य समस्या कैदीहरूको जीवन सुरक्षाप्रति गम्भीर प्रश्न उठिरहेको छ।
भदौ ४ यतामात्रै झुम्का कारागारमा चारजना कैदीले ज्यान गुमाएका छन्। बुधधार साँझ सप्तरीको राजविराज नगरपालिका वडा नं. ८ घर भएका ४६ वर्षीय जलेश्वर यादवको मृत्यु भएको छ। ज्वरो आएपछि श्वासप्रश्वासमा समस्या भएको थियो। त्यसपछि उपचारका क्रममा उनको मृत्यु भएको प्रहरीको भनाइ छ। जबरजस्ती करणी मुद्दामा पुर्पक्षका लागि थुनामा रहेका उनको निधनपछि कारागारमा रहेका कैदीहरूको स्वास्थ्य परीक्षण गरिएको छ।
‘झुम्का कारागारमा मात्रै होइन, ज्वरोको प्रकोप जताततै बढेको छ,’ जिल्ला प्रहरी कार्यालय सुनसरीका एसपी सुमनकुमार तिम्सिनाले भने, ‘हाम्रै प्रहरीमा पनि चार जनालाई ज्वरो आएको छ। हिजो रातिसम्म डाक्टरको टिमले स्वास्थ्य परीक्षण गरेको छ।’
धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको आकस्मिक कक्षबाट ११ जना, जिल्ला अस्पताल इनरुवाबाट ६ जना, प्रहरी अस्पतालबाट तीनजना र वेदान्त हस्पिटलबाट दुईजना चिकित्सकसहितको टोलीले बिहीबार बिहानको राति १ बजेसम्म कैदीको स्वास्थ्य परीक्षण गरिएको एसपी तिम्सिनाले जानकारी दिए। ‘मध्यराति १ बजेसम्म स्वास्थ्य जाँच गरी औषधि पनि दिइएको छ,’ उनले भने, ‘पछिल्लो समय ज्वरोकै कारण धेरै बिरामी परेका छन्।’
जसमा तीन सय ५३ जनाको स्वास्थ्य परीक्षण गरिएको छ। ‘सुरु-सुरुमा स्वास्थ्य बिग्रिएजस्तो अनुभूति हुने र श्वासप्रश्वास बिग्रिने लक्षण देखिएको छ,’ उनले हिमालप्रेससँग भने, ‘रातिसम्म स्वास्थ्य चेकजाँच गरी रगतको नमुना संकलन गरिएको छ। अब रिपोर्ट आएपछि के भएको भन्नेबारे खुल्छ।’
झुम्का कारागारका कैदीमा हैजा भएको हुनसक्ने वा भाइरल पनि हुनसक्ने चिकित्सकले बताएका छन्। तिम्सिनाका अनुसार नेपाल प्रहरी अस्पतालको एम्बुलेन्स र चिकित्सकसहित तयारी अवस्थामा खटिएका छन्।
झुम्का कारागारका कैदीबन्दीमध्ये सिकिस्त १३ जना उच्च ज्वरोका बिरामीको उपचारका लागि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचार भइरहेको जेलर राम निरौलाले बताए। ‘बिरामीको संख्या बढिरहे भने थप स्वास्थ्य जाँच र उपचार हुन्छ,’ उनले भने, ‘चिकित्सको टोली उच्च सतर्कतामा राखेर स्वास्थ्य परीक्षण गर्ने काम भइरहेको छ।’
यसअघि भदौ १५ र १६ गते सुनसरी गढी गाउँपालिका वडा नं. ६ का ४८ वर्षीय रामदेव उराँव र धरान उपमहानगरपालिका वडा नं. १० का २४ वर्षीय सागर राईको मृत्यु भएको थियो। भदौ ४ गते भोजपुरका २८ वर्षीय विकास राईको मृत्यु भएको थियो। झुम्का कारागारकै कैदी रहँदा अचानक बेहोस भई ढलेका उनको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।
‘यसअघि मृत्यु भएका तीनजनामध्ये विभिन्न जिल्लाको कारागारमा बसेका थिए। सिकिस्त बिरामी भएपछि झुम्का कारागारमा ल्याइएको थियो,’ एसपी तिम्सिनाले भने, ‘सुविधा सम्पन्न अस्पताल नजिकै भएको र उपचार गर्न सहज हुने भन्दै यहाँ ल्याइए पनि उपचारका क्रममा निधन भएको छ। बुधवार मृत्यु भएका यादव भने यहीँ बसिरहेका कैदी हुन्।’
उनले अन्यत्र कारागारमा बसेर आएका कैदीको उपचारका क्रममा मृत्यु भएको बताए। १५ दिनको अवधिमै चारजना कैदीको मृत्यु भएपछि थप निगरानी बढाइएको र स्वास्थ्य टोली खटिएको हो।
पछिल्लो समय कारागारमै अस्वाभाविक रूपमा ज्यान जान थालेपछि जिल्ला सुरक्षा समिति सुनसरीले कारागारको अनुगमन गरी तत्काल स्वास्थ्य शिविर सञ्चालन गर्न कारागार प्रशासनलाई निर्देशन दिएको थियो। यसअघि सुनसरीका प्रमुख जिल्ला अधिकारी धमेन्द्र मिश्रले कैदीको स्वास्थ्य परीक्षण गर्न निर्देशन दिएका थिए।
क्षेत्रीय कारागार रहेको झुम्कामा ब्लक ‘ए’ र ‘बी’ गरी एक हजार सात सय ९४ जना कैदी छन्। कैदी संख्याको अनुपातमा स्वास्थ्य पूर्वाधार र जनशक्ति पर्याप्त नरहेको कैदीका आफन्तले आरोप लगाउँदै आएका छन्।