
काठमाडौँ- सुरेन्द्र पौडेलको निर्देशित फिल्म ‘वरिष्ठ बलराम’ को दुई पोस्टर सार्वजनिक भएको छ।
पोस्टरमा फिल्मका मुख्य कलाकार दयाहाङ राई र विजय बराल अग्र स्थानमा छन्। पहिलोमा दयाहाङ र विजय दुबै सोचमग्न देखिन्छन्। अन्य कलाकार समृद्धि अर्याल, माओत्से गुरुङ, भोलाराज सापकोटा, पशुपति राई र प्रदीप कुमार चौधरीलाई चारित्रिक लुक्समा देख्न सकिन्छ।
अर्कोमा दयाहाङ र विजय मात्रै छन्। रातो सुट र सर्ट-पाइन्टमा उभिएका छन्, दयाहाङ। हातमा मोबाइल बोकेका उनी क्रूर देखिएका छन्। विजय भने निराश।
तस्बिरसँगै सार्वजनिक गरिएको टिजरमा दयाहाङ र विजय आमनेसामनेमा छन्। टिजरले उनीहरूबीच टकरावकाे संकेत गरेकाे छ।
फिल्म आगामी कात्तिक ६ मा प्रदर्शन हुँदैछ। निर्देशक पौडेलकै कथा र सम्पादन रहेको फिल्मको पटकथा महेश दवाडीले लेखेका हुन्। फिल्म सामाजिक कथावस्तुमा आधारित छ।
वृषभ सिद्धि इन्टरटेनमेन्टको प्रस्तुति रहेको फिल्म आन्भी फिल्मसको सहकार्य बनेको छ। फिल्मका निर्माता आशिष एच तामाङ र श्रीराज कार्की हुन्।
फिल्म मानकृष्ण महर्जनको छायांकन, तारानाथ न्यौपाने मुख्य सहायक निर्देशन, प्रशान्त शिवाकोटी र विशेष पाण्डेयको संगीत, सम्राट शाक्यको एक्सन निर्देशन, प्रदीप लामाको नृत्य निर्देशनमा बनेको छ।
सुरेन्द्र पौडेलको यो चौथो निर्देशकीय फिल्म हो। पौडेलले यसअघि ‘आभाष’, ‘क्रृ’ र ‘बाबरी’ निर्देशन गरेका छन्।