
काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टी -रास्वपाले बुधबार बेलुका काठमाडौँको कपनमा अज्ञात व्यक्तिको हमलामा परेका पार्टी नेता बदन भण्डारीमाथि राजनीतिक कारण हमला भएको बताएको छ।
कार्यालयबाट घर जाँदै गर्दा भण्डारीमाथि ज्यानै लिने उद्देश्यले आक्रामण गरिएको पार्टीको ठहर छ। रास्वपाले घाइतेको स्वास्थ्यलाभको कामना गर्दै दोषीमाथि कारबाही गर्न माग गरेको छ। रास्वपाका अनुसार केही दिनअघि नारी टीभीमा अन्तर्वार्ता आएपछि धम्कीपूर्ण फोन आइरहेका थिए। विज्ञप्तिमा जानकारी दिएअनुसार केही दिनअघि एक समूहले भण्डारीको अफिस रहेकै भवनमा आएर सोधखोज समेत गरेका थिए।
अहिले उनका विषयमा प्रहरीलाई जानकारी गराइएको छ। रास्वपाले दोषीलाई कारबाहीको माग गर्दै भविष्यमा यस्ता घटना दोहोरिन नदिन सुरक्षा व्यवस्था कडा बनाउन पनि ध्यानाकर्षण गराएको छ। बदन रास्वपाका सार्वजनिक मामिला विभाग सचिव हुन्।