
काठमाडौँ- अमेरिकी सरकारले नेपाली सेनालाई दुई वटा एम-२८ स्काइ ट्रक हस्तान्तरण गरेको छ। काठमाडौँमा बिहीबारआयोजित एक समारोहमा नेपालका लागि अमेरिकी राजदूत डिन थम्पसनले प्रधानसेनापति अशोकराज सिग्देललाई उक्त विमान हस्तान्तरण गरेका हुन्। उक्त सहयोग हस्तान्तरण कार्यक्रममा परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाको पनि उपस्थिति थियो।
छोटो समयमा उडान र अवतरण गर्नसक्ने क्षमतासहितको उक्त विमान नेपालको भूगोलका लागि उपयुुक्त रहने भन्दै अमेरिकाले सहयोगस्वरुप उपलब्ध गराएको हो। पोल्यान्डमा बनेको उक्त जहाजले नेपालको मानवीय सहायता र विपद् व्यवस्थापन प्रतिकार्य सञ्चालनमा महत्त्वपूर्ण योगदान पुग्ने विश्वास छ। अमेरिकी सरकारबाट प्रदान गरिएको ठूलो सुरक्षा अनुदानमध्येको एक हो।
एम २८ स्काई ट्रक विमान निर्माण गर्ने लखहिड मार्टिनको पोल्स्की जाक्वादी लोट्निचे (पीजेटएल) ले अमेरिकी सरकारको आदेशमा छोटो धावन दूरीमा अवतरण र उडान गर्न सक्ने विमान नेपालका लागि तयार गरेको हो। ३०.३ मिलियन डलर (करिब चार अर्ब १८ करोड) को अनुदान सम्झौताअन्तर्गत अमेरिकी सहयोगका यी दई जहाज पोल्यान्डको पीजेटएल मिलेचले चार महिना ढिलो गरी उपलब्न्ध गराएको हो। यो जहाज अप्रिलमा नेपाल ल्याइउनुपर्ने थियो।
दुुर्गम क्षेत्रमा अत्यावश्यक सामान ढुवानीका लागि पनि विमान प्रयोग गरिने बताइएको छ। यी दुई विमानको मूल्य एक करोड ५० लाख अमेरिकी डलर अर्थात् दुई अर्ब रुपैयाँभन्दा माथि रहेको जानकारी दिइएको छ।
दुईमध्ये एकलाई एयर एम्बुलेन्सका रूपमा उपयोग गर्ने गरी तयार गरिएको छ। यस्तो एयर एम्बलेन्स नेपाली सेनाले पहिलोपटक उपयोगमा ल्याउन लागेको सैनिक अधिकारीहरू बताउँछन्।
नेपाली सेनाले अमेरिकी सहयोगको यी स्काई ट्रक आफ्नो क्षमता वृद्धिका लागि निकै उपयोगी हुने पनि बताएको छ। दुई हजार ३ सय केजी भारवहन क्षमताका यी विमानले २५ हजार फिटसम्मको उचाइमा उडान भर्नेछ।
विमानमा हनिवेल एभियोनिक्स सुट जडान गरिएको छ, जसले दिनरात र सबै मौसममा भिएफआर/आईएफआर उडान सम्भव बनाउँछ। एम-२८ लाई प्राट एन्ड ह्विट्नी क्यानाडा पीटी-६ए-६५बी टर्बोप्रप इन्जिन (२ वटा) ले चलाउँछ, जसले ८२० केडब्लु शक्ति उत्पादन गर्छ।
पाँच पांग्रे (फाइभ-ब्लेडेड) प्रोपेलरद्वारा चलाइने इन्जिनले विमानलाई अधिकतम ३५० किमि प्रतिघण्टा गति दिन्छन्। निकै शक्तिशाली इन्ज जडान भएका यी विमानले नेपालको हिमाली क्षेत्रमा पनि सहजै उडान भर्न सक्नेछन्।
तीन चालक दलसहित १८ जना यात्रु क्षमताका यी विमान विपद्मा चिकित्सक टोली र राहत सामग्री ओसारपसार, प्याराजम्प, ठूला खाले दुर्घटनामा घाइते उद्धार र कहिलेकाहीँ विशिष्ट व्यक्तिको सवारीका लागि प्रयोग गरिने नेपाली सेनाले जानकारी दिएको छ।
विमानहरू आदेशअनुसार फरकफरक स्वरूपमा रहेको छ—एक मालवाहक (कार्गो) स्वरूपमा र अर्को घाइतेको उद्धार (क्याजुअल्टी इभ्याकुएसन) स्वरूपमा रहेको छ। अर्थात एकलाई एअर एम्बुलेन्सको रुपमा नै उपयोग गरिने भनिएको छ।
दुवै विमानसँगै सम्झौतामा उडान तालिम प्याकेज, स्पेयर पार्ट्स प्याकेज, स्वास्थ्य सामग्री, प्राविधिक सहयोग सेवा, र पोल्याण्डको मिलेच कारखानाबाट काठमाडौंसम्म विमान ल्याउने व्यवस्था समेतको जिम्मा अमेरिकाकै थियो। अमेरिकी आदेशमा कम्पनीले यहाँ सम्म ल्याएको हो।
सेनाकै विमान चढेर प्रधानमन्त्री केपी शर्मा ओली भारत भ्रमण जाने तयारी गरिरहँदा नयाँ विमान नै आइपुगेको हो। हुन त यसअघि पनि अमेरिकाले यस्तै दुईवटा विमान सहयोग स्वरुप उपलब्ध गराएको थियो। विमानका लागि आवश्यक अतिरिक्त पाटपुुर्जा, विमान चालक तथा मर्मतसम्भार तालीम र आधुनिक मर्मतसम्भार व्यवस्थापन अभ्यासमा सहजीकरणलगायतको सहयोग पनि अनुदानमा समावेश रहेको पनि बताइएको छ। यी दुई विमान प्राप्त गरेसँगै अब नेपाली सेनासँग साना र मध्यमखाले गरी ९ वटा विमान र १५ हेलिकप्टर भएका छन् ।
समारोहमा प्रधानसेनापति सिग्देलले अमेरिकी सरकारका तर्फबाट नेपाली सेनालाई उपलब्ध हुँदै आएको तालीम र यस प्रकारका सहायताले दुुई मुलुकबीचको सम्बन्ध विस्तारमा योगदान पुुगेको बताए । राजदूत थम्प्सनले नेपालको आवश्यकताअनुुसार मानवीय सहायताअन्तर्गत विपद् व्यवस्थापनका लागि सहयोग पुर्याउने हेतुले उपलब्ध गराइएको विमान दुई देशबीच सम्बन्ध सेतुका रुपमा रहने विश्वास व्यक्त गरे।
अमेरिकी सरकारले नेपाली सेनालाई आगामी दिनमा थप एक विमान उपलब्ध गराउने छ। यस्ता पहलहरुबाट नेपालको दीर्घकालीन दिगोपन, सुरक्षा र उत्थानशीलतालाई सशक्त बनाउनका लागि दुई देशबीचको सहकार्य र निकट साझेदारी प्रदर्शन भएको पनि नेपाली सेना र दूतावासले जनाएको छ।
यसअघि पनि अमेरिकी सरकारले २०१९ मार्चमा १९ मिलियन डलरको सम्झौता गर्दै नेपालका लागि दुईवटा एम २८ खरिद गरेको थियो। पहिलो ब्याच अन्तर्गत आएका ती विमान २०१९ डिसेम्बर ८ मा काठमाडौं अवतरण गरेका थिए।
कम्पनीका अनुसार यो विमान कठोर मौसम, उच्च भूभाग, छोटा तथा अपरिष्कृत धावनपट्टीहरूमा पनि सजिलै सञ्चालन गर्न सकिन्छ। हाल यो विमान पोलिश नेभी, अमेरिकी वायुसेना, भियतनामी वायुसेना, भेनेजुएलन आर्मी र इन्डोनेसिया एयर पुलिस ले प्रयोग गरिरहेको पनि उल्लेख छ।
यसको डिजाइन अन्तोनोभ एएन-२८ ट्विन-लाइट प्रोप ट्रान्सपोर्ट विमानमा आधारित छ, जसमा हाई-विङ लेआउट, दुईवटा ठाडो फिन र रडर, ठूलो धड ९फ्युजलाज० र टर्बोप्रप इन्जिन प्रयोग गरिएको छ। सम्पूर्ण ढाँचा धातु (अल-मेटल) संरचनाबाट बनेको हो।
यसअघि पनि अमेरिकाले दुई स्काई ट्रक र एक हेलिकोप्टर दिइसकेको छ।