
काठमाडौँ- नेकपा एकीकृत समाजवादीमा एकता र विभाजनको विषयमा फाटो बढ्दैछ। पार्टी संस्थापन मानिने माधवकुमार नेपालको खेमा नेकपा माओवादी केन्द्रसँग एकता गर्ने पक्षमा उभिदा इतर मानिने सम्मानित नेता झलनाथ खनाल र महासचिव घनश्याम भुसालको प्यानल भने एकता गर्न नहुने पक्षमा उभिएको छ।
यही विषयले नेताहरू गुटगत भेलामा लागेका छन्। माओवादीसँग एकता गर्ने–नगर्ने भन्ने अन्योलताका बीच माधव नेपालपक्षधर नेताहरू भने एकता प्रक्रिया सघन हिसावबाट अघि बढेको दाबी गरिरहेका छन्।
उनीहरूले एकता नै अन्तिम बिन्दुमा पुगेको बताएका छन्। यता इतर पक्षधर मानिने खनाल–भुसाल पक्ष भने माओवादीसँग एकता भए बिद्रोह गर्नेमा पुगेका छन्। यही विषयमा निर्णयमा पुग्न उनीहरू फरकफरक ठाउँमा बैठक बसिरहेका छन्। यसअघि बानेश्वरमा पार्टी नेता जीवनराम श्रेष्ठको नेतृत्वमा बसेको बैठकले एकता सम्भव नभएको निष्कर्ष निकालेको थियो।
बैठकले पार्टीको केन्द्रीय कमिटी बैठकमा अध्यक्ष नेपालको राजीनामा माग्ने निर्णय गरेको थियो। नेपाल पतञ्जलि मुद्दामा परेपछि इतरपक्षले राजीनामा दिनुपर्ने अडान अघि सारेको छ। समग्रमा समाजवादीभित्र अहिले यिनै दुई विषय (एकता र अध्यक्षको राजीनामा)मा छलफल भइरहेका छन्। आज मात्रै पनि इतरपक्षका नेताहरू संवादमा जुटेका थिए। पार्टी पोलिट्ब्युरो सदस्य नरेशकुमार शाहीको अगुवाइमा बसेको बैठकमा एकताकै विषयमा छलफल भएको थियो। उनीहरूले तत्काल एकताको सम्भवन भएको निष्कर्ष निकालेका थिए।
‘हामी एकताकै पक्षधर हौँ। तर तत्काल माओवादीसँग एकता हुँदैन भन्ने अडान यथावत छ।’ एकीकृत समाजवादी निकट युवा नेतृ रेखा लोप्चनले जानकारी दिइन्। छलफलमा पार्टी अध्यक्ष नेपालको राजीनामाको विषय समेत उठेको थियो।
‘आजको छलफलमा पनि अध्यक्षले राजीनामा दिँदा पार्टीलाई सहज हुन्छ भन्ने आम धारणा रह्यो।’ भेलामा सहभागी एक नेताले जानकारी दिए। छलफल बबरमहलस्थित एक नेताको सम्पर्क कार्यालयमा डाएिको थियो।
छलफलमा पार्टीका केन्द्रीय सदस्य सुशिल भट्टराई, बागमती प्रदेशका सचिवालय सदस्य कृष्ण बलामी, पार्टीको दोलखा अध्यक्ष अशोक दाहाल, प्रदेश कमिटी सदस्य दीपक दुवाडी, लुम्बिनी प्रदेश सचिवालय सदस्य कुमाल हमाल र युवा संघमा समानान्तर गतिविधि चलाइरहेका नेता सञ्जीव राईको उपस्थिति थियो। बैठकमा युवा संघका पदाधिकारी र केन्द्रीय कमिटीका नेताहरू समेत उपस्थित थिए।
पार्टीलाई तत्काल एकता प्रक्रियामा लैजादा क्षति हुने भनाइ नेताहरूको थियो।