![नारी अस्तित्वका पक्षमा नाटक ‘सिरुमारानी’ [तस्बिरहरू]](https://himalpress.com/wp-content/uploads/2025/09/sirumarani1.jpg)
काठमाडौँ- थापागाउँस्थित मण्डला थिएटरमा अहिले नाटक ‘सिरुमारानी’ मञ्चन भइरहेको छ। एक विद्रोही नारीको कथामा बनेको नाटकका लेखक सरुभक्त हुन्। ६० को दशकमा प्रकाशन भएको नाटकले नारी अस्तित्वको आवाज उठाएको छ। नाटकमा मण्डलाकै ल्याब-१७ का २३ जना विद्यार्थीले अभिनय गरेका छन्। नाटक अनुप न्यौपाने र सुमित्रा पेहिमले निर्देशन गरेका हुन्।
नाटकमा राजा प्रेमआदित्य चक्रवर्तीले आफ्नो जवान यौवनमा दम्पतीको सुख प्राप्त गर्न कसरी नारीको अतित्वमाथि खेलवाड गर्छन् भन्ने यथार्थ प्रस्तुत गरिएको छ। ब्रह्मर्षिको सहयोगमा चक्रवर्ती राजाले छोराको यौवन आफू र आफ्नो उमेर छोरालाई समर्पित गर्छन्। अनि सिकार खेल्न जंगल पुगेका राजा प्रेमआदित्य चक्रवतीको भेट सिरुसँग हुन्छ। सिरु माछेकी छोरी हुन्। माछा मार्ने क्रममा जालमा परेकी एक सुनौलो माछाको नागिनी अवतारसँग माछेले विवाह गरेका हुन्छन्। छोरी जन्मनेबित्तिकै नागिनीले छोडेर गएपछि सिरुको विवाह चक्रवती राजासँग हुने भविष्यवाणी गरिन्छ।
ज्योतिषिको भविष्यवाणीअनुसार सिरुको विवाह चक्रवर्ती राजासँगै हुन्छ तर विवाहपछि छोरा युवराजलाई बुढो देखेपछि सिरुमारानीले त्यसबारे जिज्ञासा राख्छिन् र दम्पत्ती सुखभोगका लागि राजाले छोराको अनुहार आफ्नो रहेको खुलाउँछन्। रहस्य सुनेपछि सिरुमारानी बुढो देखिने युवराजलाई छोरा मान्न सक्दिनन्। न त जवान स्वरुप धारण गरेका राजालाई पति। यही दोधारमा उनले ती दुई पुरुषले आफ्ना स्वार्थको लागि यौवन साटेको थाहा पाउनेबित्तिकै आफ्नाे अस्तित्त्व बचाउन कसरी आवाज उठाउँछिन् भन्ने नै नाटकको मुख्य भाव हो।
तीनै सिरुमारानीको संवादबाट नाटकमा नारी अस्तित्व, आफ्नो अधिकार पाउनको लागि उनको संघर्षलाई प्रस्तुत गरिएको छ। पितृसत्तात्मक समाजमा महिलालाई समाजले कस्तो नजरले हेर्थे भन्ने कुरा पनि उठाइएको छ। एकातिर सिरुमारानीको रानी हुने लोभ, अर्कोतिर राजालाई योवनको सुखभोगले निम्तिएको विपत्ति पनि छ।
यसैबाट नारी अस्तित्वको रक्षा गरेकी सिरुमारानीकाे कथा आजको समय र समाजसँग पनि सान्दर्भिक लागेर मञ्चन गरेको नाटकका निर्देशक अनुप न्यौपाने बताउँछन्। ‘आज पनि समाजमा महिलाहरू खुल्न सकेका छैनन्। अहिलेको सामाजिक संरचनाले पनि उनीहरु कहि कतै दबिरहेकै छन् जस्तो लाग्छ। कुनै विषयमा प्रश्न गर्दा समाज उनीहरूमाथि नै प्रश्न तर्स्याउँछन,’ उनले भने।
नेपालीमा लेखिएको, नाटकमा हुनुपर्ने तत्व र कथाको परिवेशले आफूलाई तानिरहेको र कथा पनि सान्दर्भिक लागेकोले त्यही कथालाई पुनर्ताजगी गर्ने प्रयास गरेको उनले बताए।
पहिले आफैँले अभिनय गरेको नाटक उनीसहित सुमित्रा पेहिमको निर्देशनमा मञ्चन भइरहेको छ। आफूले गरेको नाटकसँगको सामीप्य र सरुभक्तको कथा नै बलियो रहेकोले पुनः त्यही कथा रंगमञ्चमा ल्याएको निर्देशक न्यौपानेको भनाइ छ।
नाटकमा उनले कही पुरानै संगीत प्रयोग गरेका छन्। सामान्य मञ्च निर्माणको सेटमा प्रयोग गरिएको सिडी, राजाले लगाउने श्रीपेच, रानीको पहिरनले तत्कालीन समयलाई कल्पनामा पुर्याउँछ। साथै नाटक मञ्चनसँगै बीचबीचमा कोरशसहित बज्ने ‘एकादेशमा’, ‘राजाको सवारी’ जस्ता गीतले पनि नाटकलाई सशक्त बनाउने प्रयास गरेको छ।
मण्डलाका ड्रामा स्कुलका सत्रौं ब्याचको अभिनयले पनि दर्शकलाई बाँधेर राख्छ। नाटकमा आँखा नदेख्ने दुई दम्पती, माछे, बालिका सिरु, गोरे, ब्रह्मर्षि, राजा र रानी बनेका कलाकारले चरित्रमार्फत आफूलाई स्थापित गराएका छन्।
असोज ५ सम्म मञ्चन हुने नाटकमा सायुज्य भण्डारी, चाँदनी श्रेष्ठ, सुस्मिता श्रेष्ठ, सहिष्मा खड्का, सुजन घिमिरे, अमृत सुनारलगायत ३३ जना प्रशिक्षार्थीको अभिनय छ।
तस्बिर : मण्डला थिएटर