
काठमाडौँ- संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले नेपाल पञ्चांग निर्णायक विकास समितिमा नयाँ पदाधिकारी नियुक्त गरेको छ। संस्कृतिमन्त्री बद्रीप्रसाद पाण्डेले बुधबार मन्त्रीस्तरीय निर्णय गरी समितिको अध्यक्षमा प्रा शम्भुप्रसाद ढकाललाई जिम्मेवारी दिएका हुन्।
समितिका सदस्यमा धर्मशास्त्रविद् प्राडा.देवमणि भट्टराई, ज्योतिषी रतिदेवी श्रेष्ठ र ज्योतिष विषयका उपप्राध्यापक आर्यावर्त पात्रो (पञ्चांग) का पञ्चांगकार नारायणप्रसाद निरौलालाई नियुक्त गरेका समितिले जनाएको छ ।
समितिको सदस्यमा ज्योतिष लक्ष्मणप्रसाद पन्थीको पदावधि भने बाँकी नै रहेको छ । समितिका नवनियुक्त अध्यक्ष र सदस्यलाई आजै समितिको कार्यालय नारायणहिटी दरबार संग्रहालयमा स्वागत गर्ने कार्यक्रम रहेको वरिष्ठ प्रशासन सहायक खिलहरि घिमिरेले जानकारी दिए।
अध्यक्ष र सदस्यहरुलाई पाँच वर्षे कार्यकालका लागि नियुक्त गरिएको हो। समितिमा यसअघि प्राश्रीकृष्ण अधिकारी नेतृत्वको समूह रहेको थियो। अधिकारी नेतृत्वको समितिको कार्यकाल गत असार २३ गते सकिएको हो । समितिको कार्यकारी निर्देशक भने नियुक्त गर्न बाँकी रहेको छ।
कार्यकारी निर्देशक भने खुला प्रतिष्पर्धाबाट नियुक्तिको प्रक्रिया चलिरहेको छ। त्यसमा तीन जनाले आवेदन दिएको पनि समितिले जनाएको छ।
मन्त्रिपरिषद्ले २०७७ पुस २० गते स्वीकृत गरेको समितिको गठन आदेश अनुसार चाड, पर्व, मुहूर्त, साइत, धर्म, संस्कृति लगायतका बारेमा निर्णय गर्ने र प्रत्येक वर्ष प्रकाशन हुने नयाँ पात्रो (पञ्चांग) तथा भित्तेपात्रो (क्यालेण्डर)लाई स्वीकृति दिने मुख्य काम समितिलाई दिइएको छ ।