
काठमाडौँ- आख्यानकार तारा खत्री रोकायाको पहिलो उपन्यास ‘शुक्लाम्बरा’ माथि राजधानीमा अन्तरक्रिया कार्यक्रम आयोजना गरिएको छ। ‘पार्श्वपथ’ द्वारा आयोजित कार्यक्रममा समीक्षक, साहित्यकार र पाठकहरूले कृतिको विविध आयामबारे समीक्षा प्रस्तुत गरेका थिए।
समीक्षक अनिता कोइरालाले ‘शुक्लाम्बरा’ यथार्थमा आधारित उपन्यास भएको बताइन्। उनका अनुसार संघर्षमार्फत जीवनलाई पार पर्नुपर्ने सन्देश कृतिले दिएको छ। लैंगिक विभेददेखि सांस्कृतिक द्वन्द्वसम्मका विषयलाई उपन्यासले उठान गरेको उनको भनाइ थियो।
समीक्षक भारती न्यौपानेले उपन्यासमा पितृसत्ताले छोपेको खोटाङको समाजको चित्रण रहेको बताइन्। ग्रामीण क्षेत्रमा हुर्किएका नारीहरूको कथा उपन्यासमा अभिव्यक्त भए पनि सांस्कृतिक द्वन्द्व अझै खोतलिएको भए कृति थप प्रभावकारी हुने उनको तर्क थियो।
वरिष्ठ निबन्धकार युवराज नयाँघरेले हुम्लाका दृश्य, पात्र र जीवनसंघर्ष उपन्यासमा पोखिएको भन्दै यसले न्याय, समानता र उज्यालोको खोजीलाई साहित्यिक रूपमा उजागर गर्ने अभिव्यक्ति दिए।
कृतिकार रोकायाले संघर्षका अनेक चरण पार गर्दै ‘शुक्लाम्बरा’ तयार गरेको बताइन्। राजनीतिक परिवर्तनका नक्कली अनुहारलाई चिर्ने र ‘आफूभित्र उज्यालो भए संसार परिवर्तन गर्न सकिन्छ’ भन्ने सन्देश दिन उपन्यास लेखिएको उनले स्पष्ट पारिन्। उनले भनिन्, ‘आफूभित्र उज्यालो भए संसार परिवर्तन गर्न सकिने मान्यतालाई उपन्यासको सन्देशका रूपमा प्रस्तुत गरिएको छ।’
कार्यक्रममा प्रा.डा. हिरण्यलाल ज्ञवाली, लक्ष्मण गाम्नागे, डा. अम्बिका अर्याल, डा. हेम भण्डारी, डीआर राई, गीता रेग्मी, शोभा अधिकारी, जया बुढाथोकी, राजेश खनाल, रेखा ज्ञवाली, नम्रता भण्डारीलगायत साहित्यिक स्रष्टाहरू सहभागी थिए। २०० पृष्ठको उपन्यासलाई प्रिन्टोहब ट्रेड लिंक प्रालिले बजारमा ल्याएको हो।