
काठमाडौँ- फिल्म ‘रिमै’ को उपत्यकामा प्रिमियर आयोजना गरिएको छ। न्युरोडस्थित रञ्जना सिनेप्लेक्समा आयोजना गरिएको प्रिमियरमा निर्देशक ज्ञानेन्द्र देउजा, दीपक आचार्य (काकु), अनिल योञ्जन, अभिनेता विल्सन विक्रम राई, रोहित रुम्बा लगायत कलाकार र रंग पत्रकारहरू उपस्थित थिए।
प्रिमियरमा गुरुङ समुदायको सांस्कृतिक झाँकी र सोरठी नाच प्रस्तुत गरिएको थियो।
फिल्म हेरिसकेपछि विल्सन विक्रम राईले ‘रिमै’ मन छुने कथामा बनेको बताए। उनले ‘रिमै’लाई गुरुङ समुदायमाथि बनेको उत्कृष्ट फिल्म भन्दै तारिफ गरे।
अभिनेता तथा निर्देशक माओत्से गुरुङले पनि रिमै निकै राम्रो बनेको प्रतिक्रिया दिए। ‘निर्देशकले हाम्रो समुदायमाथि एउटा निकै राम्रो फिल्म निर्माण गर्नु भएको छ। सबैले साथ दिनु जरुरी छ,’ उनले भने।
फिल्मकी मुख्य अभिनेत्री रिश्मा गुरुङले फिल्म हेरिरहँदा रोचक लागेका अनुभव सुनाइन्। ‘म लामो समयदेखि अमेरिकामा बस्दै आएकी छु। म जुन सहरमा बस्छु, त्यहाँ नेपाली समुदायको बसोबास निकै कम छ’, उनले भनिन्, ‘आज रिमै हेरिरहँदा त्यो सबै भुलेर नयाँ अनुभव बटुले। फिल्म निकै राम्रो बनेको छ। लामो समयपछि काजी र मैंयाको जोडी पुनः पर्दामा आएकाले दर्शकलाई आकर्षित गर्ने विश्वास छ,’ उनले भनिन्।
गोरखा सिरानचोक एण्ड लिगलिगकोट फिल्मस्को प्रस्तुति र रोटेपिङ इन्टरटेनमेन्टको सहकार्यमा निर्माण भएको हो। फिल्ममा दयाहाङ राई, अर्पण थापा, रिश्मा गुरुङ, गौमाया गुरुङ, कविता आले मगर, माओत्से गुरुङ, पुस्कर गुरुङ, विष्णु माेक्तान, वीरमाया गुरुङ, वीरवल घले, डिवी गुरुङ, टेक गुरुङ र बाल कलाकारमा असिम सुब्बा, प्रेस्टु गुरुङ र प्रश्ना राना मगर लगायतको अभिनय छ।
कवि तथा निर्देशक उपेन्द्र सुब्बाको पटकथा लेखन रहेको फिल्म शैलेन्द्र ध्वज कार्कीले छायांकन गरेका हुन्। वीरवल घले कार्यकारी निर्माता रहेको फिल्ममा टिका गुरुङ, जित यात्री गुरुङ र दुन बहादुर घले निर्माता हुन्। फिल्म भदौ २० अर्थात् भोलिदेखि प्रदर्शन हुँदैछ।