प्रहरीको अनुरोध : भान्सामा भाँडाकुँडाको ठूलो आवाज ननिकालौँ, शौचालयमा फ्लस गर्दा ध्वनि कम गरौँ

हिमाल प्रेस १९ भदौ २०८२ ११:०७
38
SHARES
प्रहरीको अनुरोध : भान्सामा भाँडाकुँडाको ठूलो आवाज ननिकालौँ, शौचालयमा फ्लस गर्दा ध्वनि कम गरौँ

काठमाडौँ- नेपाल प्रहरीले घरभित्र अनावश्यक ध्यनि प्रदूषण नगर्न अनुरोध गरेको छ। काठमाडौँ उपत्यका प्रहरी कार्यालय रानीपोखरीले शान्त र अवरोधमुक्त छिमेकी अभियानका लागि विभिन्न उपाय अवलम्बन गर्न अनुरोध गरेको हो।

रात्रिकालिन समयमा लाउडस्पीकर, साउन्ड बक्स, डीजे, बाजा, जुस पसललगायतका सामग्रीहरूको ठूलो आवाज ननिकाल्न आग्रह गरिएको छ ।

बिहान ५ देखि ७ बजेसम्म अनावश्यक ठूलो आवाजमा कुराकानी गर्ने र मोटरसाइकल वा अन्य सवारी साधनको ठूलो हर्न बजाउने कार्य नगर्न प्रहरीले अनुरोध गरेको छ।

हरीको अनुरोधमा भनिएको छ, ‘फोन कल गर्दा आवाज कम गरौँ वा हेडफोन प्रयोग गरौँ, म्यासेजमै संवाद गरौँ।’ त्यस्तै प्रहरीको अर्को अनुरोध छ, ‘भान्सामा भाँडाकुँडाको ठूलो आवाज उत्पादन नगरौँ । राति गेट ढकढकाउने वा बेल बजाउने कार्य नगरौँ, आवश्यकताअनुसार फोनको प्रयोग गरेर ढोका खोल्न लगाऔँ।’

राति शौचालयमा फ्लस गर्दा ध्वनि कम गर्ने उपाय अपनाउन प्रहरीको अनुरोध छ । त्यस्तै बिहान सबेरै र राति प्रेसर कुकरमा सिटी नलगाउन पनि प्रहरीको अनुरोध छ । घरमा संगीत अभ्यास गर्दा ध्वनि नियन्त्रण उपकरण प्रयोग गर्न पनि प्रहरीको अनुरोध छ । सडकमा अनावश्यक हल्ला नगर्न पनि प्रहरीले अनुरोध गरेको छ।

प्रहरीले ध्वनि प्रदूषण गर्ने व्यक्ति वा संस्थालाई सम्बन्धित निकायले तीन लाख रुपैयाँसम्म जरिवाना गर्नसक्ने व्यवस्था स्मरण गराएको छ।

रातिको समयमा 

फोन कल गर्दा आवाज कम गरौँ वा हेडफोन प्रयोग गरौँ, म्यासेजमै संवाद गरौँ।
अबेरसम्म ठुलो स्वरले गफगाफ नगरौँ।
पार्टी वा जमघट गर्दा छिमेकीलाई असजिलो हुने गरी नगरौँ।
अबेरसम्म म्युजिक बजाएर नाचगान नगरौँ।
टेलिभिजन वा म्युजिक सिस्टम खोलेर सुत्ने कार्य नगरौँ
भान्सामा भाडाँकुडाँको ठूलो आवाज उत्पन्न नगरौँ।
गेट ढकढकाउने वा बेल बजाउने कार्य नगरौँ। आवश्यकताअनुसार फोनको प्रयोग गरेर ढोका खोल्न लगाऔँ।

बिहानको समय

नित्य कर्म गर्दा अनावश्यक खोक्ने खकार्ने नगरौँ।
गेट खोल्दा र अन्य क्रियाकलाप गर्दा आवाज कम गरौँ।
मोटरसाइकल वा अन्य सवारीसाधन बिहानै स्टार्ट गरेर ठूलो आवाज ननिकालौँ, ठूलो आवाज आएमा छिमेक भन्दा पर लगी चालु गरौँ।

शौचालय जाँदा

राति अबेर शौचालय फ्लस गर्दा ध्वनि कम गर्ने उपाय अपनाऔँ।
राति अबेर वा बिहान सवेरै प्रेसर कुकरमा सिठ्ठी लगाउने कार्य नगरौँ।
घरमा संगीत अभ्यास गर्दा ध्वनि नियन्त्रण उपकरण प्रयोग गरौँ।
सडकमा अनावश्यक हल्ला नगरौँ।

सामाजिक र धार्मिक क्रियाकलाप

धार्मिक वा संस्कृतिक कार्यक्रममा ध्वनी नियन्त्रण गरौँ।
मन्दिर, गुम्बा, , मस्जिदमा ध्वनि नियन्त्रण गर्दै पूजा/प्रार्थना गरौँ।
चुरोट वा फोहर जलाएर छिमेकमा धुवाँ र वातावरण प्रदूषण नगरौँ।
घरबाहिर फोहर नफालौँ, निश्चित फोहर फाल्ने स्थानमा मात्र फालौँ।
आफूले पालेको जनावरहरु (कुकुर, कुखुरा) आदिबाट छिमेकी र वातावरणलाई अशान्ति नगरौँ।
प्रेसर हर्न वा मोडिफाई गरी ठूलो आवाज निकालेर सवारीसाधन नचलाऔँ।

प्रकाशित: १९ भदौ २०८२ ११:०७

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two + 6 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast