
सुर्खेत- बिहानको घामसँगै विरमा विकको आँगन उज्यालो हुन्छ। उनको जीवन भने लामो समयसम्म अन्धकारमै डुबेको थियो। सशस्त्र द्वन्द्वका बेला राज्यपक्षबाट बेपत्ता भएपछि दुई छोरीलाई पाल्न उनले कहिले गिट्टी फुटाइन्, कहिले बालुवा चालिन्। ‘भोगेको पीडा शब्दमा भन्न गाह्रो छ’, उनी सम्झिन्छिन्।
आज त्यही पीडाले उनलाई आत्मनिर्भर बन्ने मार्गमा डोर्याइरहेको छ। सयपत्रीको ओइलिएका फूललाई धूपमा रूपान्तरण गर्दै उनले जीवनलाई नयाँ रङ दिन थालेकी छन्। वीरेन्द्रनगर नगरपालिका र एकल महिला समूहको पाँचदिने तालिममा उनले धूप बनाउन सिकिन्। ‘सयपत्री फूल खेर जान्छ भन्ने मात्रै सोच्थेँ, तर धूप बनाउन सकिन्छ भन्ने थाहा थिएन,’ उनी भन्छिन्। अब उनी फूलसँगै आफ्ना सपनालाई पनि धूपमा परिणत गर्न खोजिरहेकी छन्।
पति बेपत्ता भएको पीडा, संघर्ष र समाजमा महिलाको हैसियतजस्ता सबै चुनौतीबीच पनि विरमाले हार मानिन्। संघर्षकै बाटो हुँदै उनी अहिले उद्यमशीलतामा पाइला चालिरहेकी छन्। ‘अब मेलापर्व, नाच, मठमन्दिर सबैमा हाम्रो धूप पुग्छ’, उनी गर्वका साथ भन्छिन्।
प्रशिक्षक शान्ता शर्माले धूप उत्पादनलाई महिलाको आत्मनिर्भरता र स्थानीय स्रोत उपयोगसँग जोडिएको बताइन्। ‘धुपी, जटामासी, चिमालोजस्ता जडीबुटी हाम्रो वरिपरि प्रशस्त छन्। ती प्रयोग गरेर धूप बनाउन सकिन्छ। यसले बजारमा प्रतिस्पर्धा गर्न सक्ने खालको उत्पादन दिन्छ’, उनी भन्छिन्।
नगरपालिकाका उपप्रमुख नीलकण्ठ खनालको विश्वास छ- यो सीपले महिलाको जीवन बदल्न सक्छ। उनले भने, ‘वीरेन्द्रनगरभित्र विभिन्न धार्मिक क्षेत्र छन्, मठमन्दिरमा विभिन्न समयमा मेला पर्व लाग्ने हुँदा त्यसलाई लक्षित गरी धूप बिक्री गर्न सकिन्छ, बाहिरबाट धूप नल्याई स्थानीय उत्पादनलाई नै प्राथमिकता दिनका लागि सहयोग गरिरहेका छौँ।’
सुगन्धित र बाहिरबाट आउने धूप भन्दा सस्तो पनि हुने भएको कारण यसको बजार राम्रो देखिएको छ। खेर जाने जडीबुटीबाट धूप निर्माण हुनु आफैँमा सकारात्मक पक्ष भएको बताउँदै धूप उत्पादन सुरु गर्ने महिला उद्यमीलाई नगरपालिकाले आर्थिक सहयोग गर्ने उपप्रमुखले जानकारी दिए।
एकल महिला समूहकी अध्यक्ष ममता नगालले भनिन्, ‘स्थानीयस्तरमै धूप उत्पादन गरी बिक्री वितरण गर्न सीपमूलक तालिम सिकाइएको हो।’ सयपत्री फूलखेतीलाई निरन्तरता दिँदै फूल र माला बिक्री गर्ने र खेर जाने फूललाई धूपका रूपमा प्रयोग गर्ने लक्ष्य लिइएको उनको भनाइ छ। उनका अनुसार घरायसी काममा व्यस्त रहँदै आएका महिलालाई आबद्ध गराई गत तिहारअगाडि फूलखेती सुरु गरिएको थियो। ‘धुप बनाउने सीप सिक्न महिला उत्साहित भएको पाएँ। यसलाई अब आय आर्जनसँग जोड्न सकिन्छ’, उनले भनिन्।
विरमाको संघर्ष उनको मात्र होइन, सयौँ महिलाले भोगेको पीडाको कथा हो। द्वन्द्वले भोगेका घाउ, समाजका अवरोध र आर्थिक कठिनाइ पार गर्दै उनीहरू उद्यमशीलताको बाटोमा उभिएका छन्। उनीजस्ता २५ जना महिलाले यस्तो व्यवसाय रोजेको अध्यक्ष नगालले जानकारी दिइन्।
विरमाले भनिन्, ‘हामीले सीप सिक्यौँ, अब त्यो सीपलाई जीवनसँग जोड्नेछौँ। संघर्षको धुवाँ मेट्दै धूपको सुगन्धसँगै नयाँ उज्यालो भविष्यको यात्रा गर्नेछौँ।’