
काठमाडौँ- सरकारले सूचीकरण नभएका सामाजिक सञ्जाल गए राति (१२ बजे) बाट बन्द गर्ने निर्णय लिएको थियो। सरकारले यसअघि ७ दिनको म्याद दिएर सूचीकरण एवं दर्ता हुन आउन सामाजिक सञ्जाललाई अनुरोध गरेको थियो भने नआए बन्द गर्ने चेतावनी दिएको थियो। तर हिजो राति म्याद सक्किँदा समेत सामाजिक सञ्जाल बन्द भएनन्। अहिले पनि चलिरहेका छन्।
नेपालमा चलिरहेका सामाजिक सञ्जाल (फेसबुक, ह्वाट्सव, इस्टाग्राम)हरू दर्ता भएका छैनन्। अवैधरूपमा चलेको भन्दै सरकारका प्रवक्ता एवं सञ्चारमन्त्री पृथ्वीसुब्बा गुरुङले बन्द गर्ने चेतावनी दिएका थिए। तर म्याद गुज्रिएको १२ घण्टा हुँदा समेत ती सामाजिक सञ्जाल चलिरहेका छन्।
सरकारले सामाजिक सञ्जाल सञ्चालक कम्पनीबाट राति १२ बजेसम्म कुर्ने र नआए बन्द गर्ने चेतावनी दिएको भए पनि अहिलेसम्म सञ्जाल निर्वाध रुपमा चलिराखेका छन्।
सञ्चार मन्त्रालय स्रोतका अनुसार एकैचोटि बन्द नगरी ‘पार्सियल सटडाउन’ को उपायमा सरकार अगाडि बढ्नेछ। सरकारले सामाजिक सञ्जालबाट कुराकानी गर्न नमिल्ने, भिडियो कल गर्न नदिने र विस्तारै बन्द गर्दै जाने नीति अवलम्बन गर्नेछ।
सूचीकरण हुन नआएका सामाजिक सञ्जाल प्लाटफर्मबारे आज निर्णय हुने भएको छ । सामाजिक सञ्जाल बन्द गर्नेनगर्नेबारे निर्णय लिन आज बिहान १० बजे सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा बैठक बस्दैछ। सो बैठकले लिने निर्णयका आधारमा कार्यान्वयनमा जाने मन्त्रालयले जनाएको छ।