
काठमाडौँ- आजदेखि इन्द्रजात्रा विधिवत् रूपमा प्रारम्भ हुँदैछ। गुठी संस्थानले बुधबार पत्रकार सम्मेलन गरी बिहीबार बिहान १०ः३१ बजे गुठी संस्थानबाट पूजाआजा होमसहित क्षमा पूजा गरी (ध्वजोत्थान) ध्वजा पताकाहरूले सजिएको लिंगोलाई डोरीको सहायताले तानेर उठाएपछि काठमाडौँ उपत्यकामा विधिवत रूपमा इन्द्र जात्राको प्रारम्भ हुने जानकारी दिएको हो।
संस्थानकाअनुसार भदौ २१ गतेदेखि २६ गतेसम्म कुमारी, गणेश र भैरव रथयात्रा हुनेछ। सो पश्चात २६ गते बेलुका १०ः३२ बजे इन्द्रध्वजपतन गरी जात्रालाई समापन गरिने गुठी संस्थानले जनाएको छ।
इन्द्रजात्रा मनाउनको लागि भदौ ९ गते वनयात्रा सुरू गरिएको थियो। सो दिन बेलुका वृक्षकर्तन गरेर इन्द्रजात्राको लिंगो बनाइएको थियो। उक्त लिंगोलाई डोरीको सहायताले तानेर भदौ १५ गते नगर प्रवेश गराइएको गुठी संस्थानले जानकारी दिएको छ।
इन्द्रजात्राको लिंगो (योसी) ल्याउने, उठाउने, रथखट बनाउने, तान्ने जस्ता जात्रा सञ्चालन कार्यमा नेवार समुदायाका विभिन्न जातिगत समुदायहरूको जिम्मेवारी हुनेछ भने इन्द्रजात्रामा सम्पादन गरिने कार्यको सम्पूर्ण व्यवस्थापन तथा नेतृत्व गुठी संस्थानले गर्दै आएको छ।
इन्द्रजात्राको सन्दर्भमा देवता र असुरबीचको युद्धमा देवगणले देवराज इन्द्रलाई विजयी गराउन ध्वजा बनाएर दिएको र ध्वजा इन्द्रले समातेर युद्धमा सहभागी भएको हुनाले त्यस ध्वजालाई ‘इन्द्रध्वजा’ भनिएको र देवासुर संग्राममा देवताहरूको विजय भएपछि इन्द्रध्वजाको महत्व बढेको र पूजा भएको प्रसंग पाइन्छ।