कमला पुल निर्माणमा ढिलासुस्ती नगर्न ध्यानाकर्षण

हिमाल प्रेस १८ भदौ २०८२ २१:१५
12
SHARES
कमला पुल निर्माणमा ढिलासुस्ती नगर्न ध्यानाकर्षण

सिरहा– सिरहा र धनुषा जोड्ने कमला नदीमाथिको हुलाकी सडकअन्तर्गतको बहुप्रतिक्षित पुल निर्माणमा लामो समयदेखि भइरहेको ढिलासुस्तीप्रति धनुषा, सिरहा र सप्तरी जिल्लाका स्थानीय तह प्रमुखले सरकारको ध्यानाकर्षण गराएका छन्।

कमला नगरपालिकाका प्रमुख विशेश्वर यादवको अध्यक्षतामा बुधबार सम्पन्न अन्तरक्रियामा ती जिल्लाका नगरप्रमुख, उपप्रमुख, गाउँपालिका अध्यक्ष तथा उपाध्यक्षको उपस्थितिमा पुल निर्माणमा भइरहेको अलपत्र अवस्थाबारे छलफल गरिएको हो।

कार्यक्रममा सहभागी स्थानीय तहका प्रतिनिधिले हालको डिजाइनमा कमला पुल निर्माण सम्भव नभएको निष्कर्ष निकाल्दै अब नयाँ डिजाइन, इस्टिमेट र विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार गरी पुनःनिर्माण प्रक्रिया सुरु गर्नुपर्नेमा जोड दिएका छन्।

पुलको मर्मतसम्भार तथा पुनःनिर्माणका लागि संघीय सरकार र प्रदेश सरकारसँग समन्वय गरी अल्पकालीन र दीर्घकालीन समाधान खोज्न पनि सहभागीले एकमत भएर निर्णय गरेको बरियापट्टी गाउँपालिकाका अध्यक्ष सन्तोष महतोले जानकारी दिए।

विसं २०६८ मा सुरु भएको पुल निर्माण अहिलेसम्म पनि अधुरै रहँदा स्थानीय जनताको दैनिकीमा ठूलो असर परेको छ। बाढी, लापरवाही र ठेकेदारको गैरजिम्मेवारीले निर्माण प्रक्रिया पटकपटक अवरुद्ध भएको हो।

पप्पु कन्स्ट्रक्सन र पछि लुम्बिनी विल्डर्सले जिम्मा लिँदा पनि समयमा काम पूरा गर्न नसकेको जनाउँदै अब जिम्मेवार र सक्षम निर्माण कम्पनीमार्फत काम अगाडि बढाइनुपर्ने आवाज पनि उठेको छ।

अन्तरक्रियामा जनकपुर उपमहानगर प्रमुख मनोजकुमार साह, बलान बिहुल गाउँपालिका अध्यक्ष खेमचन्द्र यादव, डाक्नेश्वरी नगरपालिकाका प्रमुख रामलखन मलाह, औरही गाउँपालिका अध्यक्ष शिवजी यादव, बरियापट्टी गाउँपालिका अध्यक्ष महतो, भवगवानपुर गाउँपालिका अध्यक्ष उग्रनारायण यादवलगायत प्रतिनिधिहरूले यसपटक पुल निर्माणमा कुनै ढिलासुस्ती सह्य नहुने स्पष्ट पारेका छन्।

प्रकाशित: १८ भदौ २०८२ २१:१५

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fourteen + 14 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast