नेपाल अध्यक्ष रहँदा एकीकृत समाजवादीमा ‘सुशासन अभियान’ चलाउन सकस!

किरण पौडेल २० भदौ २०८२ ८:०८
22
SHARES
नेपाल अध्यक्ष रहँदा एकीकृत समाजवादीमा ‘सुशासन अभियान’ चलाउन सकस! नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल

काठमाडौँ- नेकपा एकीकृत समाजवादीभित्र गुटगत क्रियाकलाप तीब्र छ। केन्द्रीय नेतृत्वको छहारीमा दोस्रो स्तरका र जनवर्गीय संगठनका नेताहरूबीचको नोकझोक अब त सामान्य भइसक्यो। विगतबाटै चल्दै आएको यो प्रक्रिया पछिल्लो समय उत्कर्षमा पुगेको छ। पार्टीका जिम्मेवार नेताहरू नै गुट भेला गर्ने र समानान्तर कमिटी गठन गर्दै आइरहेका छन्।

एकीकृत समाजवादीभित्र अध्यक्ष माधवकुमार नेपाल, सम्मानित नेता झलनाथ खनाल र महासचिव घनश्याम भुसालको छुट्टाछुट्टै गुट छ। सतहमा नेपाल–खनाल गुट देखिए पनि सुसुप्त गतिमा भुसालको गुट पनि फराकिलो बन्दै गएको नेताहरू सुनाउँछन्। पछिल्ला दिनमा इतरपक्ष मानिने खनाल–भुसाल गुट पार्टीको आधिकारिक निर्णयभन्दा भिन्न तरिकाले चलिरहेको छ।

इतरपक्षका नेताहरू पार्टीको निर्णय लत्याउँदै समानान्तर गतिविधि चलाउन थालेपछि संस्थापन कित्ताबाट कारबाहीको क्रम पनि सुरू भएको छ। तर पनि नेताहरू समानान्तर गतिविधि सञ्चालन गर्न छाडेका छैनन्। यसैबीच इतरपक्षधर नेताहरू गएको आइतबार बानेश्वरमा भेलामा बसेका थिए। पार्टीका पूर्वसचिव जीवराम श्रेष्ठको अगुवाइमा पार्टीका पदाधिकारी समेत भेलामा उपस्थित भएका थिए।

बैठकमा पुगेका एक नेताका अनुसार भेलामा पार्टीका पूर्वउपमहासचिव विजय पौडेल, पूर्वसचिव रामकुमारी झाँक्री, हरि पराजुली, नरेश शाही, दामोदर अर्याल, अशेष घिमिरे उपस्थित थिए। भेलामा नेताहरूले माधव नेपाल नेतृत्वमा रहेकाले पार्टीको ‘जीवन’ प्रभावित भएको गुनासो गरेका थिए।

‘हामीले गाउँगाउँमा गएर भाषण गर्दा सुशासनको कुरा उठाउनुपर्छ। तर हाम्रै अध्यक्षमाथि भ्रष्टाचारको आरोप छ,’ भेलामा सहभागी एक पोलिट्ब्युरो सदस्य भन्छन्,‘यसरी त पार्टीको भविष्य नै अन्योलमा पर्‍यो।’

उनका अनुसार नेपालमाथि पतञ्जलि मुद्दा लागेपछि समस्या बढेको हो। पुरानो मुद्दालाई अख्यितयार दुरुपयोग अनुसन्धान आयोगले केही समयअघि अदालत पु¥याएको थियो। त्यसपछि नेपाल प्रतिनिधिसभा सदस्यबाट निलम्बित भएका थिए।

पार्टीमा अध्यक्ष पदबाट पनि नेपालले राजीनामा दिनुपर्ने माग उठ्यो। नेताहरूले पार्टी बैठक र सार्वजनिक समारोहबाट पनि नेपालको राजीनामा मागे। तर, नेपालले राजीनामा दिएनन्। भ्रष्टाचारको आरोपमा जाकिएपछि अध्यक्षमात्रै होइन संसदीय दलको नेताबाट समेत नेपाललाई राजीनामा दिन पार्टीभित्र आवाज उठेका थिए। नेपालले भने दुवैमध्ये कुनै पदबाट राजीनामा दिएनन्।

यद्यपि, अहिले उनी ३५ लाख रुपैयाँ धरौटीमा रिहा भए। अझै पनि भ्रष्टाचार मुद्दा किनारा लागेको छैन। उनीविरूद्धको मुद्दा विशेष अदालतमा विचाराधीन अवस्थामा छ।

बानेश्वरको भेलामा इतरपक्षका नेताहरूले नेपालकै कारण समस्या भएको निष्कर्ष निकालेका थिए। उनीहरूका अनुसार यसअघि नै पार्टीले आन्दोलन अघि बढाउने भन्दै महासचिव भुसालको नेतृत्वमा खाका अघि तयार पारिसकेको थियो। जसको नारा नै ‘सुशासन र रोजगारी समाजवादको तयारी’ थियो।

भेलामा सहभागी ती नेताका अनुसार नाराअनुसारको अभियान सञ्चालन गर्न टाउको माधव नेपाल भएकाले सकस परेको छ। ‘माधव नेपाल नै अध्यक्ष भइरहँदा कसरी सुशासनको एजेन्डा उठाउन सकिन्छ? अब निर्णायक रूपमा विशेष महाधिवेशनमा जानुपर्छ भन्ने हाम्रो ठहर छ,’ ती नेताले भने।

समाजवादीले भदौ २५ गते स्थायी कमिटी बैठक आह्वान गरेको छ। भदौ २६ मा पोलिटब्युरो र भदौ २७–२८ मा केन्द्रीय कमिटी बैठक बोलाइएको छ।

पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा बस्ने बैठकमा पार्टी मातहतका प्रदेश, जिल्ला र सम्बन्धित कमिटीको अधिवेशन, पार्टीको आन्तरिक विवाद समाधान, आगामी रणनीतिका विषयमा छलफल हुने पार्टी केन्द्रीय प्रचार विभाग उपप्रमुख दामोदर अर्यालले जानकारी दिए।

उनले बैठकमा समसामयिक राजनीतिक घटनाक्रम, समाजवादी कार्यक्रम, सांगठनिक कार्यक्रम, पार्टीले देशभर सञ्चालन गरेको राजनीतिक अभियानअन्तर्गत सुशासन, रोजगारी, समृद्धिलगायत सामाजिक रुपान्तरणका लागि समाजवादी अभियानले देशभर पारेको प्रभावकारिताबारे समीक्षा गरिने जानकारी दिए।

भेलामा सहभागी एक नेताका अनुसार त्यही मौकामा अध्यक्ष नेपालको राजीनामा माग्ने नेताहरूले तयारी गरेका छन्।

‘माधव नेपाल माओवादीमा गए पनि हामी जाँदैनौँ’

इतर पक्षमा भेला भएका नेताहरूले माधव नेपाल माओवादीसँग एकता गर्न लागेको ब्रिफ्रिङ गरेका थिए। माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ स्वार्थका कारण एकताको प्रस्ताव राखेको उनीहरूको ब्रिफ्रिङ थियो। यदि नेपालले माओवादीसँग एकता गर्न चाहे त्यसको विरोधमा उत्रिने र एकता गरे आफूहरू नजाने बताएका थिए।

यसअघि नै नेपाल माओवादीसँग एकता गर्न तयार गरेको इतरपक्षका नेताहरूको ठहर थियो। यसअघिको सचिवालय बैठकमै नेपालपक्षीय नेताहरूको अडानका कारण एकता स्थगित भएको थियो। तर, पछिल्लो समय पनि नेपाल एकता गर्न लागेको कुरा खुलेको थियो।

समाजवादीका एक नेताका अनुसार नेपाल माओवादीसँग अघि बढेकै कारण इतरपक्षले समानान्तर गतिविधि थालेको हो।

‘अध्यक्ष नेपाल त उता –माओवादी जाने निश्चित जस्तै छ। हामी नजानका लागि अर्को कमिटी बनाएका हौँ,’ इतर पक्षका एक नेता भन्छन्,‘अब निरन्तर अघि बढ्छौँ।’

खनाल–भुसालपक्षका नेता तथा युवा–विद्यार्थीहरूले समानान्तर गतिविधि बढाएका छन्। समाजवादीका पोलिटब्युरो सदस्य नरेश शाहीले बानेश्वरमा भेला गरेको पुष्टि गरे।
‘हो, हामी बैठक बसेका थियौँ,’ भेला बसेको पुष्टि गर्दै उनले भने।

शाहीले भेलामा वामआन्दोलन र पछिल्लो राजनीतिक परिस्थितिका विषयमा छलफल गरिएको जानकारी दिए। ‘वामआन्दोलन र समग्र विषयवस्तुमा छलफल गरियो, अन्य कुरा भएन,’ उनले भने।

पतञ्जलि जग्गा प्रकरणमा अख्तियारले भ्रष्टाचार मुद्दा दर्ता गरेपछि एकीकृत समाजवादीका अध्यक्ष नेपालमाथि पार्टीभित्रै संकट बढेको छ। यसअघि सामान्य ढंगले अगाडि बढिरहे पनि अध्यक्षमाथि नै भ्रष्टाचार मुद्दा दर्ता भएपछि एकीकृत समाजवादीभित्र गुटबन्दी मौलाएको हो।

सम्मानित नेता खनालले त सार्वजनिक रूपमै अध्यक्ष नेपालले राजीनामा दिनुपर्ने बताएका थिए। महासचिव भुसाल खुला ढंगले अध्यक्षको विरोध नगरे पनि उनीसमेत सम्मानित नेता खनालकै ‘लाइन’ मा रहेको समाजवादीका नेताहरू बताउँछन्।

अध्यक्ष नेपालले यतिबेला दोहोरो दबाबको सामना गर्नु परिरहेको छ। भ्रष्टाचार मुद्दाको किनारा लाग्न बाँकी छ नै, पार्टीभित्र बढिरहेको समानान्तर गतिविधि रोक्ने चुनौति पनि उनीमाथि आइपरेको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fifteen + 2 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast