
काठमाडौँ– प्रतिनिधिसभाको बैठकले ‘नेपाल नागरिकता (दोस्रो संशोधन) विधेयक, २०८१ माथि राष्ट्रियसभाबाट भएको संशोधनमाथि विचार गरियोस्’ भन्ने प्रस्तावलाई बहुमतले स्वीकृत गरेको छ। गृहमन्त्री रमेश लेखकले यो प्रस्ताव पेस गरेका थिए।
विधेयक, २०८१ माघ १५ गते प्रतिनिधिसभामा दर्ता भएको थियो। यस्तै, २०८१ फागुन ५ गते सामान्य छलफल भएको थियो। यसैगरी, समितिमा दफावार छलफलका लागि २०८१ चैत १८ गते पठाइएको थियो। समितिको प्रतिवेदनसहित प्रतिनिधिसभामा गत असार ५ गते पेस भएको थियो।
यस्तै, गत असार १४ गते प्रतिनिधिसभाबाट पारित भएको थियो। राष्ट्रियसभाले यही भदौ ६ गते पारित गरी सन्देशसहित प्रतिनिधिसभामा फिर्ता पठाएको थियो।
सांसदहरूले उठाएको जिज्ञासाको जवाफमा गृहमन्त्री लेखकले वर्तमान सरकारले नागरिकलाई सहज एवं सरल रूपमा सेवा प्रवाहका लागि विभिन्न विधेयक प्रस्तुत गरेको र संघीय संसद्ले प्राथमिकता दिएर अगाडि बढाएकामा धन्यवाद दिए।
संवैधानिक हकसँग सम्बन्धित विधेयकलाई प्राथमिकतामा साथ छलफल गरेर समृद्ध बनाउन पहल गरेकामा उहाँले प्रशन्नता व्यक्त गरे। यो विधेयकले आमाका नामबाट नागरिकता प्रदान गर्ने व्यवस्था गरेको र संविधानमा नै भएको व्यवस्थालाई कार्यान्वयनमा सहज भएको गृहमन्त्रीले स्पष्ट पारे।
यो विधेयकले ऐतिहासिक प्रस्थान गरेको तर्क गर्दै उनले बाबुको पहिचान नभएको अवस्थामा आमाको नामबाट नागरिकता दिन सकिने व्यवस्था हालसम्मकै महत्त्वपूर्ण व्यवस्था भएको उल्लेख गरे।
आमाको नामबाट नागरिकता लिन सकिने, आमाको मात्रै नाम राखेर नागरिकता लिन सकिने, विदेशमा रहँदा जन्मेको सन्तानलाई नागरिकता दिन सकिने व्यवस्था विधेयकमा गरिएको र सन्तानको हकलाई समेत स्थापित गरेको गृहमन्त्रीको भनाइ छ।
नागरिकता प्राप्तिका लागि प्रक्रियागत सरलीकृत समेत गरिएको उनले सदनलाई जानकारी गराए।
कुनै पनि नागरिक नागरिकता प्राप्त गर्ने हकबाट वञ्चित नहोस् भन्नेतर्फ विधेयकले विशेष ध्यान दिएको, जन्मका आधारमा नागरिकता प्राप्त गरेकाहरूको सन्ततिलाई नागरिकता प्रदान गर्ने व्यवस्था गरिएको उनको भनाइ छ।
विधेयकमा रहेको स्वघोषणाको व्यवस्था दुरूपयोग नहुनेमा आश्वस्त तुल्याउँदै गृहमन्त्री लेखकले विधेयक शीघ्र कार्यान्वयनमा जाने विश्वास दिलाए। गैरनेपालीले नागरिकता नपाउन् भन्नेमा सरकार सचेत रहेको गृहमन्त्रीले जानकारी दिए।
उनले गैरआवासीय नेपाली नागरिकका सन्दर्भमा संविधान प्रदत्त व्यवस्थाअनुसार नागरिकता प्रदान गर्ने र आर्थिक तथा सांस्कृतिक अधिकार प्रदान गर्नका लागि छुट्टै कानुन सदनमा शीघ्र प्रस्तुत गरिने बताए।
त्यसअघि, सांसद वासुदेव घिमिरेले आमाको नाममा नागरिकता दिने अधिकार यस विधेयकले दिएको उल्लेख गर्दै लैङ्गिक समानताका आधारमा पनि महत्त्वपूर्ण रहेको र नेपाली नागरिकलाई सहज रूपमा नाकगरिकता प्राप्त गर्नसक्ने व्यवस्था गरेको बताए।
सांसद श्यामकुमार घिमिरेले यस विधेयकले धेरै बालबालिका, किशोरले नागरिकताका लागि खेप्नुपरेको समस्यालाई समाधान गर्ने गरी व्यवस्था गरिएकाले यो महत्त्वपूर्ण रहेको बताए। नेपालको संविधानको भावना र आशयलाई सम्बोधन गर्नेगरी विधेयक आएकाले नागरिकता प्राप्तिको अधिकारबाट वञ्चित भएका नागरिकलाई सम्बोधन गरेको उल्लेख गरे।
सांसद अमरेशकुमार सिंहले आमाको नामबाट नागरिकता पाउने व्यवस्था विधेयकमा गरिएकामा सरकारलाई धन्वयाद दिए। तराईको डोम, मुसहर समुदाय, दलित तथा कमजोर समुदायले लामो समयदेखि नागरिकता पाउन नसकेको अवस्थालाई पनि सम्बोधन गर्नुपर्ने धारणा राखे।
सांसद मैना कार्कीले एकल महिलाका सन्तानले सहज रूपमा नागरिकता पाउने व्यवस्थाले धेरै नागरिकताविहीनले न्याय पाउने बताइन्। सांसद प्रतिमा गौतमले लामो समयदेखि नागरिकता पाउन नसकेका नागरिकलाई सहज रूपमा नागरिकता प्रदान गर्नसक्ने व्यवस्था विधेयकमा गरिएकाले सरकारलाई धन्यवाद दिइन्।
सांसद रञ्जुकुमारी झाले नागरिकताका प्राप्त गर्ने सन्दर्भमा विधेयकमा धेरै विषय सकारात्मक भए पनि केही विषयमा भने कमजोरी रहेको धारणा राखिन्।
विधेयकमा उल्लेख भएको सन्तानले बाबुको पत्तो नभएको भन्ने विषयमा स्वघोषणा गर्ने प्रावधान नराखेको भए पनि हुने थियो उनको तर्क छ।
सांसद पूर्णबहादुर घर्तीले नागरिकता वितरणमा रहेको अस्पष्टता हटाउने र नागरिकताविहीन नेपालीलाई सहज रूपमा पहिचान प्रदान गर्ने व्यवस्था विधेयकमा रहेको उल्लेख गर्दै सीमावर्ती क्षेत्रमा गलत प्रयोग हुनसक्ने अवस्थाकोसमेत ख्याल गर्नुपर्ने धारणा राखे।
सहजै रूपमा नागरिकता प्राप्त गर्ने प्रावधान राखिँदा राष्ट्रियतामा खलल आउनसक्नेतर्फ ध्यान दिनुपर्ने सांसद घर्तीको भनाइ छ।
सांसद हितराज पाण्डेले यो विधेयकले महिलाको सम्मान गरेको र आमाको नामबाट नागरिकता पाउने व्यवस्था गरिएको र कानुनमा प्रष्टता नभएकाले समस्या आउने गरेकालाई समेत सहज हुने धारणा राखे।
यस्ता छन् नेपाल नागरिकता ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयकका प्रमुख व्यवस्थाहरु
१. आमालाई प्रसुती गृहमा भर्ना गरेपश्चात कोही कसैलाई थाहा जानकारी नदिइ भागी गएको र हालसम्म सम्पर्कमा नआएको, बाबुको नाम उल्लेख गरे पनि निजलाई देख्न र चिन्न नपाएको, बाबु हो भनी अरुले देखाएको मानिस भएपनि निज हाल जिवित वा मृत केही थाहाँ नभएको, बाबुको भौतिक उपस्थिति, निजबाट पाउनुपर्ने वात्सल्य प्रेम र हेरविचार वा जिम्मेवारी कहिल्यै नउठाएको, त्यस्ता बालबालिकाले निज बालिग भएपछि बाबु भएको आधार पुष्टि गर्न नसकेको तर त्यस्ता बाबुहरुको नाम जन्मदर्ता, शैक्षिक योग्यता प्रमाणपत्रमा उल्लेख हुदाँ ती नेपाली नागरिक आमाका सन्तानहरुले हालसम्म नेपाली नागरिकता प्राप्त गर्न सकेका छैनन । त्यस्ता व्यक्तिहरुको बाबुको पहिचान नभएको मानी नेपाली आमाको नागरिकताको आधारमा नेपाली नागरिकता प्राप्त सक्नेछ।
२. नेपालको अन्तरिम संविधानबमोजिम बाबु वा आमा मध्ये कुनै एकले जन्मका आधारमा नागरिकता प्राप्त गरेको र अर्कोको नागरिकता प्राप्त गर्नु अगावै मृत्यु भएको वा सम्पर्कविहिन रहेको व्यक्तिको सन्तानले अङ्गीकृत नागरिकता प्राप्त गर्न सक्नेछ।
३. नेपालको नागरिक आमाबाट विदेशमा जन्म भई नेपालमा बसोबास गरेको, विदेशको नागरिकता वा राहदानी नलिएको र बाबुको पहिचान नभएको व्यक्तिले अङ्गिकृत नेपाली नागरिकता प्राप्त गर्न सक्नेछ।
४. सोह्र वर्ष उमेर पूरा नभएको र बाबु वा आमा मध्ये कम्तीमा एकजना नेपाली नागरिक रहेको नाबालकलाई वैदेशिक यात्रामा सहजीकरण गर्न नाबालक परिचयपत्र प्राप्त गर्न सक्ने व्यवस्था गरिएको छ। विधेयक पारित भएमा देहायका नागरिकहरुले नागरिकता प्राप्त गर्न सहजिकरण हुनेछ।
अदालतहरुबाट विभिन्न समयमा जारी भएका परमादेशहरुको कार्यान्वयन हुनका साथै सम्मानित अदालतबाट दिइएका आदेशहरुको कार्यान्वयनमा एकरुपता कायम हुनेछ।
संविधानको भावनाबमोजिम कुनै पनि नेपाली नागरिक नागरिकता प्राप्त गर्ने हकबाट वञ्चित हुनेछैन।
नेपाली नागरिक आमाबाट जन्म भएका सन्तानहरुले आमाको नामबाट नागरिकता प्राप्त गर्ने गरी संवैधानिक व्यवस्थाको पूर्ण रुपमा कार्यान्वयन हुनेछ।
आमा वा बाबुले जन्मका आधारमा नागरिकता प्राप्त गरेका नागरिकका सन्तानहरुले अङ्गीकृत नागरिकता प्राप्त गर्न सक्नेछ।
विद्यमान समयमा बदलिँदो सामाजिक परिवेशअनुसार पहिचानविहीन भएर बस्नु परेको वैदेशिक रोजगारमा गएका नेपाली महिलाहरुका सन्तानहरु नागरिकता विहिन भइरहेको अवस्थामा अङ्गिकृत नागरिकता प्राप्त गर्न सक्नेछ।
नेपाली बाबु वा आमाका सन्तानलाई वैदेशीक यात्राको सहजिकरणका लागि नाबालक परिचयपत्र प्रदान गर्न सकिनेछ।