
जकार्ता (रासस\एएफपी)- गत हप्ता इन्डोनेसियामा भएको हिंसात्मक विरोध प्रदर्शनका क्रममा कम्तीमा १० जनाको मृत्यु भएको छ। यो तथ्य राष्ट्रिय मानव अधिकार आयोग (कोम्नास ह्याम)ले बुधबार पुष्टि गरेको हो। अशान्तिका कारण मृत्यु भएको रिपोर्ट गर्ने अन्य अधिकार समूहहरू पनि छन्।
विरोध प्रदर्शन आर्थिक असमानता र सांसदहरूका लागि भव्य सुविधाप्रति असन्तुष्टिबाट उत्पन्न भएको थियो। अर्धसैनिक एकाइले एक युवा चालकको हत्या गरेको फुटेज सार्वजनिक भएपछि प्रदर्शनकारीहरूले प्रहरीविरुद्ध आक्रोश व्यक्त गर्न थाले।
कोम्नास ह्यामका प्रमुख अनिस हिदायाहका अनुसार मृतकमध्ये केही अधिकारीको अत्यधिक बल प्रयोगका सिकार भएका हुनसक्ने संकेत छन्। मृतकहरू ग्रेटर जकार्ता, दक्षिण सुलावेसीको मकस्सर, मध्य जाभा र पपुवा क्षेत्रमा रहेका छन्।
अनिसका अनुसार ९ सयभन्दा बढी व्यक्ति घाइते भएका छन्। हजारौँलाई हिरासतमा लिइएको छ, जसमा अधिकांशलाई पछि रिहा गरिएको छ।
इन्डोनेसियाका गैरसरकारी संस्था कानूनी सहायता फाउन्डेसन (वाइएलबीएचआई) र एम्नेस्टी इन्टरनेसनलले पनि १० जनाको मृत्यु र सयौँ घाइते भएको पुष्टि गरेका छन्। बेपत्ता र हिंसाका पीडितहरूको लागि आयोग (कन्ट्रास) ले सोमबारसम्म कम्तीमा २० जना बेपत्ता भएको जानकारी दिएको छ।