राजविराजमा मोर्चाको जनजागरण अभियान, भूमि ऐनविरूद्ध लड्ने उद्घोष

हिमाल प्रेस १८ भदौ २०८२ १७:२५
10
SHARES
राजविराजमा मोर्चाको जनजागरण अभियान, भूमि ऐनविरूद्ध लड्ने उद्घोष

काठमाडौँ- संघीय लोकतान्त्रिक मोर्चाले मधेश प्रदेशको राजविराजमा जनजागरण अभियान सुरू गरेको छ। पूर्वघोषित कार्यक्रमअनुसार मोर्चाले बुधबार राजविराजमा जनजागरण अभियान सुरू गरेको हो।

कार्यक्रममा बोल्दै मोर्चाका नेता तथा लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का अध्यक्ष महन्थ ठाकुरले मधेशीको जन्म नै संघर्ष गर्नलाई भएकाले संघर्षबाट पछि नहट्ने बताए।उनले भूमि ऐनले मधेशीहरूलाई एकजुट भएर लड्न बाध्य बनाएको जिकिर गरे। भूमि ऐन मधेशीलाई मधेशमै अल्पसंख्यक बनाउने षडयन्त्र रहेको बताउँदै ठाकुरले मधेशीसामु लडेर अधिकार लिने विकल्पमात्र भएको उल्लेख गरे।

जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले तराई मधेशको उप्जाउ भूमिलाई शासकवर्गले पहिलो चरणमा बक्सिस, विर्ता, जागिरको रूपमा वितरण गरे, दोस्रो चरणमा हदबन्दीको नाममा खोसे, तेस्रो चरणमा पुनर्वास कम्पनीको नाममा विदेशीहरूलाई विनाश गरेर जमिन बाँडे, चौथो चरणमा कानुन बनाएर सुकुम्बासीको नाममा कार्यकर्तालाई जग्गा वितरण गरे र अहिले भूमि ऐन ल्याएर मधेशलाई मरुभूमि बनाउन खोजेको बताए।

उनले मधेशलाई आन्तरिक उपनिवेश बनाएर अझै शासन गरिएको बताए। आफ्नो शासन सत्ताका लागि सबै मिलेर संघर्ष गर्नुपर्ने बताउँदै उनले समान जनसंख्याको आधारमा निर्वाचन क्षेत्र निर्धारण गर्नुपने उल्लेख गरे।

राष्ट्रिय मुक्ति पार्टी नेपालका अध्यक्ष राजेन्द्र महतोले जनजागरण अभियानअघि मोर्चाको नेता जाग्नुपर्ने बताए। अहिलेको सत्ता गठबन्धनले लोकतन्त्र र संसदीय व्यवस्थाको उपहास गरेको उनको भनाइ छ।
भूमि ऐन पास हुँदा मोर्चाका घटक दलले संसदमा प्रस्तुत गरेको पोजिसनबारे प्रष्ट पार्नुपर्ने महतोले बताए। उनले सबै मधेशी पार्टी एक भएरमात्रै नपुुग्ने अवस्था रहेकोले आदिवासी जनजातिसहित सबै उत्पीडित जाति र समुदायहरू नमिलेसम्म अधिकार नपाउने उल्लेख गरे।

कार्यक्रममा बोल्दे जनता प्रगतिशील पार्टीका अध्यक्ष हृदयेश त्रिपाठीले राज्यसत्तालाई मधेश चाहिने तर मधेशी नचाहिने बताए। भूमि विधेयक भूमिविहीन र सुकुम्बासीका लागि भन्दा पनि भूमाफियाका लागि भएको उनले उल्लेख गरे।

तराई मधेश लोकतान्त्रिक पार्टी (तमलोपा) का अध्यक्ष वृषेशचन्द्र लालले अहिलेको गठबन्धन सरकारले कुशासन र भ्रष्टाचार बढाएको बताए। उनले आन्दोलनकारीमाथिको झुटा मुद्दा सरकारले फिर्ता लिनुपर्ने जिकिर गरे।

त्यस्तै नागरिक उन्मुक्ति पार्टीकी केन्द्रीय कोषाध्यक्ष टीका लक्ष्मी चौधरीले नश्लीय शासनबाट देशले मुक्ति खोजेको बताए।

मोर्चाले पहिलो चरणमा देशको आठ स्थानमा जनजागरण अभियान सञ्चालन गर्ने तय गरेको थियो। जसअनुसार अब भदौ २० गते जनकपुरधाममा कार्यक्रम हुनेछ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

8 + one =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast