चीनको पुनःउत्थानलाई कसैले रोक्न सक्दैन : राष्ट्रपति सी

अजय अलौकिक १८ भदौ २०८२ १७:२४
32
SHARES
चीनको पुनःउत्थानलाई कसैले रोक्न सक्दैन : राष्ट्रपति सी चिनियाँ राष्ट्रपति सी चिनफिङ चीनको राजधानी बेइजिङमा आयोजित परेड प्रदर्शनमा सम्बोधन गर्दै। तस्बिर : सिन्हवा/रासस

बेइजिङ– सेप्टेम्बर ३ तारिख बिहान चीनको राजधानी बेइजिङको थ्येनआनमन चोकमा चिनियाँ जनताको जापानी अतिक्रमणविरूद्धको युद्ध तथा विश्व फासीवादविरोधी युद्धमाथिको विजयको ८०औँ वार्षिकोत्सव समारोह भव्यतापूर्वक आयोजना गरिएको छ।

साथै, सो स्मृति समारोहलाई चिनियाँ कम्युनिस्ट पार्टी केन्द्रीय समितिका महासचिव, चीनका राष्ट्रपति र केन्द्रीय सैन्य आयोगका अध्यक्ष सी चिनफिङले महत्त्वपूर्ण सम्बोधन गरेका छन्।

सी चिनफिङले आफ्नो सम्बोधनमा चिनियाँ राष्ट्र एक महान राष्ट्र भएको र कुनै हिंसादेखि नडराउने तथा आत्मनिर्भर र बलियो रहेको सुनाए। ‘चिनियाँ राष्ट्र एक महान राष्ट्र हो जुन कुनै हिंसादेखि डराउँदैन र आत्मनिर्भर र बलियो छ। चिनियाँ जनता इतिहासको सही पक्षमा र मानव सभ्यताको प्रगतिको पक्षमा दृढतापूर्वक उभिएका छन्। तिनीहरू शान्तिपूर्ण विकासको मार्गमा हिँड्छन्। मानवजातिको साझा भविष्य भएको समुदाय निर्माण गर्न सबै देशका मानिसहरूसँग हात मिलाएर काम गर्छन्’, सीले भने।

‘आज हामी चिनियाँ जनताको जापानी अतिक्रमणविरूद्धको युद्ध तथा विश्व फासिवाद विरोधी युद्धमाथिको विजयको ८०औँ वार्षिकोत्सव मनाउन जुटेका छौँ, साथै इतिहासलाई सम्झन, शहीदहरूलाई श्रद्धाञ्जली अर्पण गर्न, शान्तिलाई प्रेम गर्न र भविष्यको सिर्जना गर्न जुटेका छौँ।’

सीका अनुसार चिनियाँ जनमुक्ति सेना सधैँ नै पार्टी र जनताले पूर्ण रूपमा विश्वास गर्नसक्ने बहादुर सेना हो। सम्पूर्ण सेनाले आफ्नो पवित्र कर्तव्यलाई भक्तिपूर्वक बहन गर्नुका साथै दृढताका साथ देशको सार्वभौमिकता, एकीकरण र भूखण्डको अक्षुण्णताको संरक्षण गर्नुपर्छ। सम्पूर्ण सेनाले चीन राष्ट्रको महान पुनःउत्थानलाई साकार तुल्याउनका लागि रणनीतिक समर्थन दिनुका साथै विश्व शान्ति र विकासका लागि अझ ठूलो योगदान गर्नुपर्नेछ।

सीले चिनियाँ राष्ट्रको महान् पुनःउत्थान रोकिने छैन भन्दै मानव शान्ति र विकासको महान कार्यले अवश्य नै जीत हासिल गर्ने पनि औँल्याए। सी चिनफिङले भने कि, इतिहासले विगतलाई बोकिरहेको छ र भविष्यलाई उज्यालो बनाउनेछ।

नयाँ युग र नयाँ विकासको यात्रामा, चीनभरिका विभिन्न जातिहरूका जनताहरूले चिनियाँ कम्युनिस्ट पार्टीको दृढ प्रेरणामा मार्क्सवाद-लेनिनवाद, माउ चतोङ विचारधारा, तन स्याओपिङ सिद्धान्त, ‘तीन प्रतिनिधित्व’ को महत्त्वपूर्ण विचार र विकासको वैज्ञानिक दृष्टिकोणलाई कायम राख्नुपर्छ, चिनियाँ विशेषतायुक्त समाजवादी विचारधारालाई पूर्ण रूपमा कार्यान्वयन गर्नुपर्छ, चिनियाँ विशेषतायुक्त समाजवादी बाटोमा दृढताका साथ हिँड्नुपर्छ। युद्धविरोधी महानभावनालाई उत्तराधिकार गरी अगाडि बढाउनुपर्छ र एकताबद्ध भएर चिनियाँ शैलीको आधुनिकीकरणद्वारा बलियो देशको निर्माण र राष्ट्रिय पुनःउत्थानको महान कार्यलाई व्यापक रूपमा प्रवर्द्धन गर्न प्रयास गर्नुपर्छ।

चालु वर्ष चिनियाँ जनताको जापानी अतिक्रमणविरूद्धको युद्ध तथा विश्व फासीवादविरोधी युद्धमाथिको विजयको ८०औँ वार्षिकोत्सव हो। सन् १९४५ सेप्टम्बर ३ तारिखकै दिन चीनले जापानलाई परास्त गरेको थियो। यसअघि जापानले सन् १९३१ देखि चीनमाथि अतिक्रमण तथा आक्रमण गर्दै आएको थियो भने सन् १९३७ को जुलाई ७ तारिखमा पहिलोपटक जापानी आक्रमणको विरोधमा चिनियाँ नागरिक तथा सेनाले जवाफी हमला गरेको थियो। यहीँबाट सुरु भएको चिनियाँ प्रतिकार लगातार आठ वर्षसम्म चलेको युद्धपछि सन् १९४५ मा जापानी बरबरतालाई परास्त गरेको थियो। यस अवधिमा जापानीहरूले चिनियाँहरू माथि निकै नै क्रूरताको प्रदर्शन गरेका थिए र यस लामो युद्धकालमा ३५ करोड चिनियाँको मृत्यु हुनुका साथै असंख्य अंगभंग भएका थिए।

यसैको स्मरणमा सेप्टेम्बर ३ तारिख बिहान बेइजिङको थ्येनआनमन चोकमा भव्यताका साथ सैनिक परेडको आयोजना गरिएको हो। यस परेडको आयोजना चिनियाँ सैन्यशक्ति प्रदर्शन, रक्षात्मक शक्तिको प्रदर्शन, विश्वशान्ति तथा एकताप्रति चीनको ढृढ इच्छा तथा अठोटको सन्देश दिनु हो।

चिनियाँ राष्ट्रपति सीले महत्त्वपूर्ण सम्बोधन गर्नुका साथै सैन्य परेडको अवलोकन निरीक्षण समेत गरेका थिए। छाङआन सडकमा गाडीमार्फत विभिन्न किसिमका सैनिक टुकडीलाई धन्यवाद ज्ञापन गरेका थिए। चिनियाँ राष्ट्रपतिको निमन्त्रणामा २६ विदेशी राष्ट्र तथा सरकार प्रमुखहरूले स्मृति समारोहमा भाग लिएका थिए।

चिनियाँ सरकारको निमन्त्रणामा, उच्चस्तरीय प्रतिनिधिहरू, अन्तर्राष्ट्रिय संस्थाका प्रमुखहरू र पूर्वराजनीतिक नेताहरू पनि सहभागी थिए।

स्मरण परेड प्रधानमन्त्री ली छ्याङको शुरु भएको घोषणासँगै बिहान ठीक नौ बजे बेइजिङको थ्येनआनमन चोकमा सुरु भएको थियो। चालु वर्ष चिनियाँ जनताको जापानी अतिक्रमणविरूद्धको युद्ध तथा विश्व फासिवाद विरोधी युद्धमाथिको विजयको ८०औँ वार्षिकोत्सव भएकोले समारोह स्थलमा ८० वटा तोप पड्काएर सलामी दिइएको थियो भने ८० हजार परेवा शान्तिको प्रतीकका रूपमा आकाशमा उडाएर समापन गरिएको थियो।

समारोह सुरु हुनुअघि चिनियाँ राष्ट्रपति सी चिनफिङ र श्रीमती फङ लियुआनले त्वानमनद्वार बाहिरको चोकमा समारोहमा सहभागी भएका विदेशी प्रतिनिधिमण्डलका नेताहरू र उनीहरूका पत्नीहरूलाई स्वागत गरेका थिए।

यस स्मृति समारोहमा नेपालको पनि सहभागिता रहेको छ। प्रधानमन्त्री केपी शर्मा ओली र प्रथम महिला राधिका शाक्यलाई चिनियाँ राष्ट्रपति सी चिनफिङ र चिनियाँ प्रथम महिला फङ लियुआनले स्वागत गरेकी थिइन्।

विशिष्ट पाहुनाको रूपमा रूसका राष्ट्रप्रमुख भ्लादिमिर पुटिन, उत्तर कोरियाका राष्ट्रप्रमुख किम जोङ ऊनसहित २६ जना राष्ट्रनायक र सरकार प्रमुखको उपस्थिति थियो।

यसबाहेक सो समारोहको विषयवस्तु ‘इतिहासलाई सम्झनुहोस्, सहिदहरूको कदर गर्नुहोस्, शान्तिको कदर गर्नुहोस्, भविष्यको सिर्जना गर्नुहोस्’ रहेको छ।

सातवटा जे-१० एयरोबैटिक्स विमानहरूले बेइजिङको आकाशमा १४ रङका धुवाँ छोड्दै जापानी अतिक्रमणविरुद्धको प्रतिरोधको युद्धको १४ वर्ष र १।४ अर्ब चिनियाँ जनताको राष्ट्रिय पुनःउत्थानका लागि प्रयासको प्रतीक जनाएको थियो।

साथै, चीनले पहिलो पटक भूमि, समुद्र र हवाईमा आफ्नो परमाणु शक्ति प्रदर्शन पनि गरेको छ। चीनले संयुक्त राष्ट्रसंघको सुरक्षा परिषदका पाँच स्थायी सदस्यहरू बीच सबैभन्दा बढी शान्ति रक्षकहरू तैनाथ गरेको छ। संयुक्त राष्ट्रको शान्ति स्थापना मिसनमा ३५ वर्षको सहभागितामा चिनियाँ नीलो हेल्मेटहरूले आफ्नो जीवनसँगै शान्तिको सुरक्षा गर्दै आएका छन्, ठूलो देशको रूपमा चीनको शान्तिप्रति प्रतिबद्धता देखाउँदै र मानवताको साझा भविष्य निर्माणमा महत्त्वपूर्ण योगदान पुर्‍याउँदै आएका छन्।

चीनले यस स्मरण परेडको आयोजना इतिहासलाई सम्झनु, शहिदको स्मरण गर्नु, शान्तिको कामना गर्नु र सुखद भविष्यको सिर्जना गर्नुतर्फ लक्षित रहेको छ। त्यस समयको आक्रमण र पीडा समस्त चिनियाँका लागि दुःखद सम्झना हुन्। सहिदहरूको बलिदान तथा प्रतिरोध एक अमूल्य आध्यात्मिक सम्पत्ति हो। यस सैन्य परेडले इतिहासको सम्झना र राष्ट्रिय भावना बढाउनेछ।

प्रकाशित: १८ भदौ २०८२ १७:२४

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 + 1 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast