रूपन्देही-३ : उम्मेदवार छान्ने विधिमा राप्रपामा विवाद

किरण पौडेल १८ भदौ २०८२ १७:२६
18
SHARES
रूपन्देही-३ : उम्मेदवार छान्ने विधिमा राप्रपामा विवाद

काठमाडौँ- रूपन्देही-३ मा आगामी कात्तिक १७ मा उपनिर्वाचनका लागि उम्मेदवार चयन गर्ने विषयमा राष्ट्रिय प्रजातन्त्र पार्टीमा विवाद उत्पन्न भएको छ। राप्रपाले निर्वाचनमा उम्मेदवार छनोटका लागि ‘प्रारम्भिक चुनाव’ गर्ने निर्णय लिएपछि विवाद देखिएको हो।

आकांक्षी धेरै देखिएपछि राप्रपाले लोकप्रिय उम्मेदवार छान्न चुनावको रणनीति लिएको हो। राप्रपाले मंगलबार संसदीय समितिको बैठकमार्फत प्राइमेरी इलेक्सन गर्ने निर्णय गरे पनि केही आकांक्षीले उम्मेदवारी घोषणा गरेका छन्। यस्तै केही नेताले गुनासो गरेका छन्।

लुम्बिनी प्रदेशका पार्टी अध्यक्ष प्रदीपकुमार उदयले उम्मेदवार चयन विधिमा निर्णय गर्दा आफूलाई बैठकमा नबोलाइएको गुनासो गरेका छन्। उनले पार्टीको विधानमा ‘प्रदेश कार्यसमितिका अध्यक्ष सम्बन्धित प्रदेशभित्रका उम्मेदवार छनोट गर्दा समितिका पदेन सदस्य रहनेछन्’ भन्ने  व्यवस्था रहेको बताए। बैठकमा उनलाई बोलाइएको थिएन।

राप्रपाका केन्द्रीय सदस्य जनकराज पाठकले प्राइमरी इलेक्सन विधि ‘धेरै खर्चिलो’, ‘दलभित्र विभाजन बढ्ने’, ‘कम मतदाताको सहभागिता हुने’, ‘सञ्चारमाध्यम र जनप्रियता केन्द्रित हुने’ भन्दै असन्तुष्टि व्यक्त गरेका छन्। पाठकले भनेका छन्, ‘प्राइमरी इलेक्सन लोकतान्त्रिक अभ्यासको एक महत्त्वपूर्ण अंग हो, तर यसका केही गम्भीर प्राविधिक र व्यावहारिक चुनौती हुन्छन्।’

पाठकले यस्तो गम्भीर विषयलाई व्यापक छलफल विना हचुवाभरमा, अध्ययन नगरी प्रयोग गर्दा त्यसबाट उल्टो परिणाम आउने बताए। रूपन्देही-३ का राप्रपा सचिव शंकर सुतार कार्कीले प्राइमेरी चुनावका नाममा ‘विभाजन हुने अवस्था देखिएको भन्दै क्षेत्रीय कार्य समितिले घोर भर्त्सना गरेको उल्लेख गरेका छन्।

राप्रपा केन्द्रको निर्णयविरुद्ध रूपन्देही जिल्लामा समेत असन्तुष्टि बढेको छ। राप्रपा रूपन्देही ३ का ‘ख’ का अध्यक्ष प्रेमबहादुर कुँवरले आफूहरूले ‘प्राइमरी इलेक्सन’ बहिष्कार गर्ने बताएका छन्। उनले विज्ञप्तिमार्फत ‘संगठन र कार्यसमितिबाट मतदान गर्नुपर्ने भएकाले उम्मेदवारको नाम पठाउन भनिएकोमा आफूहरू सहभागी नहुने र बहिष्कार गर्ने’ जनाएका हुन्।

राप्रपा रूपन्देही जिल्ला कमिटी सदस्य ज्ञानेश श्रेष्ठले पनिपार्टीले  ‘प्राइमरी इलेक्सन’का नाममा जित सुनिश्चित भएको अवस्थामा कार्यकर्ता फुटाउने काम गरेको आरोप लगाएका छन्। उनी औमसतिया गाउँपालिका वडा नम्बर २ मा हुने निर्वाचन प्रक्रियामा सामेल नहुने भएका छन्।

दीपकका छोरा प्रज्वलले गरे उम्मेदवारी घोषणा

राप्रपाले ‘प्राइमरी इलेक्सन’को निर्णयपछि प्रज्वल बोहराले उम्मेदवारी घोषणा गरेका छन्। प्रज्वल दीपकका बोहराका छोरा हुन्। दीपककै निधनपछि रूपन्देही ३ मा उपनिर्वाचन हुन लागेको हो।  सामाजिक सञ्जालमार्फत आफूले ‘बुवाले अपुरो छाडेको सपना र जनताप्रतिको समर्पणलाई निरन्तरता दिन’ उम्मेदवारी दिने निर्णय लिएको उल्लेख गरेका छन्।

निकट स्रोतका अनुसार प्रज्वलले स्वतन्त्र तरिकाले भए पनि उम्मेदवारी दिने तयारी गरेका छन्। ‘उनी प्राइमरी इलेक्सनप्रति असन्तुष्ट रहेजस्तो देखियो, अनि उम्मेदवारी घोषणा गरे’, राप्रपाका एक नेताले भने।

यसअघि  दीपकको परिवारका तीन आकांक्षीले संयुक्त विज्ञप्ति निकाल्दै ‘आफूहरूमध्येबाट एकजनालाई उम्मेदवार बनाउँदा स्वीकार्ने’ बताएका थिए। दीपक बोहोरा परिवारबाट छोराहरू गौरव, प्रज्वल र नातिनी स्वाति थापा उम्मेदवार आकांक्षी थिए।

राप्रपाका महामन्त्री एवं सचिवालय प्रमुख राजेन्द्र गुरुङले उम्मेदवार तय गर्ने उत्तम विकल्प सोचेर निर्णय गरेकाले सबैले मान्नुपर्ने बताए। ‘प्रजातान्त्रिक पार्टीमा निर्णय मान्नुपर्छ। हामी मनाउने प्रयास पनि गर्छौँ’, गुरुङले हिमालप्रेससँग भने, ‘असन्तुष्टिको सम्बोधन हुन्छ।’

यी हुन् राप्रपाले प्राइमरी इलेक्सनका मतदाता

आन्तरिक प्रारम्भिक निर्वाचनका मतदातामा रुपन्देही-३ को प्रतिनिधिसभा क्षेत्रीय कार्यसमितिका पदाधिकारी तथा सदस्यहरू, रुपन्देही-३ अन्तर्गतका प्रदेशसभा (क) र (ख) कार्यसमितिका पदाधिकारी तथा सदस्यहरू, रुपन्देही-३ अन्तर्गतका सबै उपमहानगर, नगर, गाउँपालिका र वडा कार्यसमितिका पदाधिकारी तथा सदस्यहरू, रूपन्देही-३ बाट प्रतिनिधित्व गर्ने प्रदेश कार्यसमितिका पदाधिकारी तथा सदस्यहरू, रुपन्देही-३ बाट प्रतिनिधित्व गर्ने जिल्ला कार्यसमितिका पदाधिकारी तथा सदस्यहरू, रुपन्देही जिल्ला क्षेत्र नं-३ बाट प्रतिनिधित्व गर्ने केन्द्रीय सदस्य तथा पदाधिकारीहरू, २०८२ भदौ १७ गतेसम्म कायम रहेका रुपन्देही-३ भित्रका केन्द्रदेखि जिल्ला तहसम्मका भ्रातृ संगठनका पदाधिकारी तथा सदस्यहरू, २०८२ भदौ १७ सम्ममा सक्रिय सदस्य भइसकेका रुपन्देही-३ अन्तर्गतका सक्रिय सदस्यहरू रहनेछन्।

२०८१ चैत १९ मा बोहराको निधनपछि रिक्त रहेको स्थानमा कात्तिक १७ गते मतदान हुने कार्यतालिका छ।

रूपन्देही ३ : दीपक बोहराकै परिवारमा टिकटको किचलो

रास्वपाले रूपन्देही–३ मा डा.लेखजंग थापालाई उम्मेदवार बनाउने

प्रकाशित: १८ भदौ २०८२ १७:२६

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 + 14 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast