भारत–अमेरिका कर विवाद

ट्रम्पको आरोप- भारतको व्यापारिक नीति एकतर्फी छ

हिमाल प्रेस १९ भदौ २०८२ १२:५९
8
SHARES
ट्रम्पको आरोप- भारतको व्यापारिक नीति एकतर्फी छ फाइल तस्बिर

काठमाडौँ- अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले भारतमाथि उच्च भन्सार शुल्क लगाएको आरोप लगाएका छन्। उनले ‘हार्ले-डेविडसन’ मोटरसाइकलको उदाहरण दिँदै भारतले अमेरिकाविरूद्ध एकतर्फी व्यापारिक नीति लागू गरेको दाबी गरेका हुन्।

‘भारतले अमेरिकी उत्पादनहरूमा संसारकै सबैभन्दा उच्च भन्सार महसुल लगाएको छ, जबकि अमेरिका भारतीय उत्पादनका लागि खुला छ,’ ट्रम्पले भने। यसअघि एक दिनअगाडि मात्रै उनले भारतले आफ्नो भन्सार महसुलको दर शून्यमा ल्याउने प्रस्ताव गरेको टिप्पणी गर्दै उनले यो कदम पहिले नै लिनुपर्ने जिकिर गरेका थिए।

भारतका वाणिज्यमन्त्री पीयूष गोयलले भारत र अमेरिकाबीच वार्ता चलिरहेको बताएका छन्। मंगलबार उनले पत्रकार सम्मेलन गरेर भारत र अमेरिकाबीच व्यापारिक सम्झौताका विषयमा वार्ता चलिरहेको र आगामी नोभेम्बरसम्म सहमति हुने विश्वास व्यक्त गरे।

ट्रम्प प्रशासनले भारतले रुसट तेल खरिद गरिरहेको देखाउँदै थप २५ प्रतिशत भन्सार महसुल लगाएको छ, जसका कारण कुल भन्सार महसुल ५० प्रतिशत पुगेको छ। ट्रम्पका व्यापारिक सल्लाहकार पिटर नवारोले भारतले रुसबाट तेल खरिद रोकिदिए अतिरिक्त शुल्क हटाइने दाबी गरेका छन्।

हार्ले-डेविडसनको उदाहरण

ओभल अफिसमा पत्रकारहरूसँग कुरा राष्ट्रपति ट्रम्पले भारत-अमेरिका सम्बन्धी एकतर्फी बताउँदै हार्ले-डेविडसन मोटरसाइकलको उदाहरण दिए। उनले भने, ‘हामी भारतसँग उत्कृष्ट सम्बन्ध राख्छौँ, तर बुझ्न जरुरी छ कि वर्षौँदेखि यो सम्बन्ध असन्तुलित थियो। म आइसकेपछि र हामीसँग ट्यारिफको शक्ति आएपछि मात्र यसमा परिवर्तन आएको हो।’

ट्रम्पका अनुसार भारतले अमेरिकासँग असमान व्यवहार गर्दै आएको थियो। ‘भारतले हामीसँग संसारकै सबैभन्दा उच्च ट्यारिफ असुली गरिरहेको थियो। यही कारण हामीले भारतसँग ठूलो कारोबार गर्न सकेनौँ, तर भारत भने हाम्रो बजारमा सजिलै प्रवेश गर्‍यो,’ उनले भने।

भारतले हार्ले-डेविडसन मोटरसाइकलमा २०० प्रतिशत ट्यारिफ लगाएको कारण बेच्नै कठिन भएको ट्रम्पले सुनाए। उनले भने, ‘भारतले हार्ले-डेविडसन मोटरसाइकलमा २०० प्रतिशत ट्यारिफ लगाएको कारण कम्पनीलाई मोटरसाइकल बेच्नै कठिन भएको थियो। अन्ततः उनीहरूले भारतमै प्लान्ट स्थापन गर्नुपर्‍यो, जसले गर्दा ट्यारिफ तिर्न नपर्ने भयो।’

ट्रम्पले अमेरिकामा पनि चीन, मेक्सिको र क्यानाडाबाट आएका धेरै कम्पनीहरूले कारखाना बनाउन थालिसकेको बताए।

यस्तो गुनासो उनले यसअघि पनि पटक-पटक गरिसकेका छन्। सन् २०१८ मा समेत उनले भारतले हार्ले-डेविडसन मोटरसाइकलमा ६०-७५ प्रतिशत भन्सार शुल्क लगाउनु गलत भएको बताएका थिए। पछिल्लो समय उनले भारतले २०० प्रतिशत ट्यारिफ लगाएको दाबी गरेका छन्। तर, वास्तविकता भने १०० प्रतिशत थियो, जुन पछि घटाएर ५० प्रतिशत बनाइएको थियो।

हार्ले-डेविडसनसँग पुरानो विवाद

हार्ले-डेविडसन मोटरसाइकल ट्रम्पको पहिलो कार्यकालदेखि नै विवादमा रहँदै आएको छ।

फोब्र्सका अनुसार सन् २०२५ को अप्रिलमा कम्पनीको बजार मूल्य २.७ अर्ब अमेरिकी डलरसम्म पुगेको थियो। यसको मोटरसाइकललाई ‘सुपरबाइक’ भनिन्छ र उच्च मूल्यका कारण प्रायः सम्पन्न र विशेष वर्गबीच लोकप्रिय छ।

सन् १९०३ मा अमेरिकी सहर मिलवाकी (विस्कोन्सिन) मा विलियम एस.हार्ले र आर्थर-वाल्टर डेविडसन दाजुभाइले एउटा सानो झुप्रोबाट यस कम्पनीको सुरूवात गरेका थिए। पहिलो ग्राहक हेनरी मेयर बनेका थिए, जसले संस्थापकहरूकै हातबाट मोटरसाइकल खरिद गरेका थिए।

विश्वयुद्धको बेला यो कम्पनीलाई ठूलो लाभ पुगेको थियो। सन् १९१७ मा बनेका एक तिहाइ मोटरसाइकलहरू सेनालाई दिइएको थियो भने १९१८ मा आधाभन्दा बढी मोटरसाइकल सेनाले प्रयोग गरेको इतिहास छ। सन् १९२० सम्म आइपुग्दा हार्ले-डेविडसन विश्वकै सबैभन्दा ठूलो मोटरसाइकल निर्माता बनिसकेको थियो। त्यसबेला ६७ देशमा दुई हजारभन्दा बढी बिक्रेताहरूले यो मोटरसाइकल बेचिरहेका थिए।

भारत-अमेरिका ट्यारिफ विवाद

२७ अगस्तदेखि अमेरिकी प्रशासनले भारतीय उत्पादनहरूमा ५० प्रतिशत ट्यारिफ लागू गरेपछि दवै देशबीच सम्बन्ध बिग्रिएको छ। भारतले यसलाई ‘अन्यापूर्ण र अव्यवहारिक’ भन्दै विरोध जनाएको छ। हालै अमेरिकाको एक अदालतले ट्रम्पले लगाएका धेरैजसो ट्यारिफलाई अवैध ठहर गरिसकेको छ। यद्यपि सर्वोच्च अदालतमा अपिल गर्न ट्रम्प प्रशासनलाई १४ अक्टोबरसम्म समय दिइएको छ।

अमेरिकाका पूर्वराष्ट्रिय सुरक्षा सल्लाहकार र पूर्वविदेशीमन्त्रीका साथै रिपब्लिकन नेतृ निक्की हेलीले पनि यो विषयमा चिन्ता व्यक्त गरेका छन्।

भारतभित्र पनि यस विषयमा प्रतिक्रिया आएको छ। कतिपय राजनीतिक दलका नेताहरूले अमेरिकाले ट्यारिफ लगाएको खण्डमा भारतले पनि जवाफी रूपमा १०० प्रतिशत ट्यारिफ लगाउनुपर्ने बताएका थिए।(बीबीसीको सहयोगमा)


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × three =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast