
काठमाडौँ- शिक्षकहरूले विद्यालय शिक्षा विधेयक सच्याउनुपर्ने माग गरेका छन्। विधेयकप्रति असन्तुष्टि जनाउँदै शिक्षकहरूले आज धुम्बाराहीस्थित राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को कार्यालयमा धर्नासमेत दिएका छन्। विधेयकमा आफ्ना माग समावेश नभएको भन्दै नेपाल शिक्षक महासंघको नेतृत्वमा शिक्षकहरूले संघर्षका कार्यक्रम गर्दै आएको छ।
विधेयकमा उल्लेख धेरै विषय सकारात्मक रहे पनि शिक्षक कर्मचारीका मुख्य सरोकार र यसअघि भएको सहमतिमा रहेका धेरै विषय अझै पनि सम्बोधन हुन नसकेको आन्दोलन गर्नुपरको महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले बताए।
महासंघले अस्थायी प्रकृतिका शिक्षक, विद्यालय कर्मचारी, बालकक्षाका शिक्षक, स्थायी शिक्षकको बढुवा, तलब र ग्रेड वृद्धि, स्थायी आन्तरिक प्रतिस्पर्धा, निवृत्तिभरण व्यवस्था, अस्थायी सेवा अवधिको गणना, माथिल्लो तहमा स्थायी हुँदा पाउने तलबलगायत विषयमा आफ्ना माग राख्दै आएका छन्।
यस्तै, द्वन्द्वपीडित र संस्थागत विद्यालयका शिक्षक, प्रधानाध्यापकको व्यवस्था, शिक्षण काउन्सिल, विभागीय कारबाहीको विषयसमेत महासंघले उठाउँदै आएको छ। महासंघले यसअघि रास्वपा, माओवादी केन्द्र, नेकपा एमाले र नेपाली कांग्रेसको कार्यालयमा धर्ना दिइसकेको छ।