![सी, पुटिन र किमको उपस्थितिमा बेइजिङमा विशाल सैन्य परेड [तस्बिरहरू]](https://himalpress.com/wp-content/uploads/2025/09/chinapared.jpg)
काठमाडौँ- चीनले विश्वका नेताहरूको उपस्थितिमा बुधबार विशाल सैन्य परेड प्रदर्शन गरेको छ। दोस्रो विश्वयुद्ध समाप्त भएको ८०औँ वार्षिकोत्सवको अवसरमा चीनले परेड प्रदर्शन गरेको हो। तियानआनमेन स्क्वायरमा आयोजित परेडमा सयौँ अत्याधुनिक हतियारको प्रदर्शन गरिएको चिनिया सञ्चार संस्था ग्लोबल टाइम्सले उल्लेख गरेको छ। परेडमा १० हजारभन्दा बढी सैनिकहरू सहभागी थिए। विश्वकै ठूलो स्थायी सेनालाई आधुनिक बनाउन सीको प्रयासअन्तर्गत चीनको बढ्दो सैन्य शक्तिलाई देखाएको छ।
परेडमा शक्तिशाली सैन्य उपकरण पूर्ण रूपमा प्रदर्शनमा राखिएको थियो- जसमा स्थल र नौसैनिक प्रयोगका लागि हवाईरक्षा लेजर, स्टेल्थ लडाकु विमान, आणविक क्षमतायुक्त बमवर्षक, विरोधी जहाज मिसाइल, नयाँ अन्तरमहाद्वीपीय ब्यालेस्टिक मिसाइल र पानीमुनि चल्ने ड्रोन समावेश थिए।

चीनको राज्य सञ्चालित टेलिभिजन सीसीटीभीका अनुसार ५० हजारभन्दा बढी दर्शक परेडका लागि बेइजिङमा भेला भएका थिए। भिडियोमा मानिसलाई खुसीसाथ राष्ट्रिय गान गाउँदै, साना चिनियाँ झण्डा फहराउँदै, ट्यांकहरू तियानआनमेन स्क्वायर हुँदै गुड्दा उत्साहपूर्वक स्वागत गरेको देखिन्थ्यो। चीनको कडाइका साथ सेन्सर गरिएको सामाजिक सञ्जालमा प्रयोगकर्ताहरूले देशप्रतिको गौरवपूर्ण भाव व्यक्त गरेका छन्।
दोस्रो विश्वयुद्धको अन्त्य सम्झनाका लागि योजित सैन्य परेडको अध्यक्षता राष्ट्रपति सी चिनफिङले गरेका थिए। रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र उत्तर कोरियाली नेता किम जोङ र सी पहिलो पटक सार्वजनिक रूपमा सँगै उभिएका हुन्। यसले अमेरिकामुखी विश्वव्यवस्थाप्रति चुनौती दिएको संकेत गरेको टिप्पणी अमेरिकी समाचार संस्था सीएनएनले छ। पश्चिमा मिडियाहरूले तीन अधिनायकबीचको एकतालाई स्पष्ट रूपमा देखाएको उल्लेख गरेका छन्।
परेडअघि सम्बोधन गर्दै सीले चिनियाँ राष्ट्रियता र शक्तिमा जोड दिए। विश्वले शान्ति वा युद्धमध्ये एउटालाई रोक्नुपर्ने बताउँदै उनले चीनलाई कसैको दबाबले धम्क्याउन नसक्ने बताए।
उनले भने, ‘चीन शक्तिशाली बनेको छ अब विश्वमा अग्रणी भूमिका लिन तयार छ।’ उनले शान्तिपूर्ण विकासको बाटोमा अडिग रहँदै मानवजातिका लागि साझा भविष्यको समुदाय निर्माण गर्न विश्वका सबै देशका जनतासँग हातेमालो गरेर अघि बढ्ने बताए।







