
काठमाडौँ- लोकदोहोरी गायिका इन्दिरा गोलेको निधन भएको छ। गायिका गोलेको क्यान्सर रोगका कारण निधन भएको उनको पारिवारिक स्रोतले बताएको छ।
पारिवारिक स्रोतकाअनुसार बुधबार बिहान ललितपुरको हात्तीवनस्थित अपार्टमेन्टमा उनको निधन भएको हो। उनी ५९ वर्षकी थिइन्।
इन्दिरा २ वर्षदेखि क्यान्सरबाट पीडित थिइन्। हरिसिद्धिस्थित क्यान्सर अस्पतालमा उपचारपछि उनी दुई सातादेखि कान्छी छोरीसहित अपार्टमेन्टमा बसेर आराम गरिरहेकी थिइन्।
बौद्ध संस्कारसहित उनको पार्थिव शरीर आज नै अन्त्येष्टि गर्ने तयारी रहेको तामाङ कलाकार संघले जनाएको छ।
काँठे भाकामा स्थापित उनकाे ‘घुम्तीनिर लेट भयो’, ‘चागुनारायण थान’, ‘आज मलाई उनीको पछ्यौरी’, ‘हुक्का चिलिमले’ लगायत दर्जनौँ गीत लोकप्रिय छ।
काँठेसँगै उनका तामाङ सेलो, लोकदोहोरी, आधुनिकसहित थुप्रै गीत उनले गाएकी थिइन्। उनी २०२३ साल कार्तिक ३ गते ललितपुरको कोन्ज्योसोम गाउँपालिकास्थित भारदेउमा जन्मिएकी हुन्। उनको दुई छोरी छन्।