
काठमाडौँ- नेपालमा आउने विदेशी पर्यटकको विद्युतीय प्रणालीमार्फत दर्ता र अनुगमन हुने भएको छ। अध्यागमन विभागले ‘विदेशी नागरिक दर्ता तथा अनुगमन प्रणाली’ लागू गरेको हो। विदेशीहरूको सुरक्षित बसाइ सुनिश्चित गर्ने, सूचना व्यवस्थापन सहज बनाउने, सम्भावित अपराध नियन्त्रण गर्ने र पर्यटन प्रवर्द्धनमा टेवा पुर्याउने उद्देश्य रहेको विभागका महानिर्देशक रामचन्द्र तिवारीले बताए।
नयाँ प्रणालीले भ्रमण भिसामा नेपाल आएका विदेशी नागरिकको व्यवस्थित अभिलेख कायम गर्न मद्दत गर्ने विश्वास विभागको छ। साथै आकस्मिक अवस्था वा विपद्को समयमा खोजी-उद्धार कार्यलाई सरल र प्रभावकारी बनाउने पनि अपेक्षा छ।
कसरी गर्ने दर्ता?
नयाँ प्रणालीअनुसार विभागले प्रत्येक सेवाप्रदायकलाई क्यूआर कोड उपलब्ध गराउनेछ। नेपाल भित्रिने विदेशी नागरिकले अध्यागमन विभागको मोबाइल एप डाउनलोड गरी पासपोर्ट र भिसा विवरणसहित अनलाइन दर्ता गर्नुपर्नेछ। त्यसपछि उनीहरूले होटल, ट्राभल एजेन्सी वा अन्य सेवाप्रदायकले उपलब्ध गराएको क्यूआर कोड स्क्यान गर्नुपर्नेछ।
मोबाइल एप प्रयोग नगर्ने पर्यटकको विवरण भने सम्बन्धित सेवाप्रदायकहरूले प्रणालीमा म्यानुअल रूपमा प्रविष्ट गर्नुपर्नेछ। विभागले आफ्नै वेबसाइटमार्फत दर्ता प्रक्रिया र प्रयोगकर्ताका लागि निर्देशिका पनि सार्वजनिक गरेको छ।
यस प्रणालीले विदेशी नागरिकलाई भिसा समाप्त हुने सात दिन र दुई दिनअघि एसएमएस र नोटिफिकेसन मार्फत जानकारी दिनेछ। साथै भिसा अवधि बढाउन वा फिर्ती प्रक्रियाबारे आवश्यक निर्देशन उपलब्ध गराइनेछ।
विभागले नयाँ प्रणालीलाई चरणबद्ध रूपमा लागू गर्ने तयारी गरेको छ। पहिलो चरणमा भदौ ३१ गतेदेखि काठमाडौँ उपत्यकाभित्रका पाँचतारे होटलमा अनिवार्य गरिनेछ। दोस्रो चरणमा भने कात्तिक ३१ गतेदेखि देशभरका सबै तारे होटल, एयरलाइन, टुरट्राभल कम्पनी तथा मनी एक्सचेन्ज सेवाप्रदायक संस्थामा यो प्रणाली लागू गरिनेछ।
यसका लागि विभागले नेपाल होटल संघलगायत सरोकारवालासँग छलफल गरेको छ। संघका पदाधिकारीका अनुसार प्रणालीबारे केही समयदेखि छलफल भए पनि अझै कार्यान्वयन सुरु भएको छैन। संघले यसबारे आधिकारिक धारणा चाँडै सार्वजनिक गर्ने जनाएको छ।
विभागले ७७ वटै जिल्लाका अनुगमन समितिहरूलाई समेत पत्राचार गरी प्रणालीको प्रभावकारी कार्यान्वयन सुनिश्चित गर्न निर्देशन दिएको छ। यसैगरी विदेशी नागरिकलाई सेवा दिने सबै सार्वजनिक निकाय र निजी कम्पनीलाई अपवाद बिना नयाँ प्रणालीमा सहभागी हुन आह्वान गरिएको छ।